नेपालमा भित्रियो फोक्सो बिगार्ने नयाँ रोग, यसरी सकिन्छ बच्न
ओएस नेपाल, काठमाडौं, मंसिर २२- नेपाललमा दुवै फोक्सो काम नलाग्ने बनाउने पानीबाट सर्ने लिगिनायर्स नामक नयाँ रोग देखा परेको छ। उक्त रोग काठमाडौं कालीमाटीका दुईजना पुरुषमा देखिएको स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी महाशाखाका प्रमुख डा.बाबुराम मरासिनीले बताए।
रोग पुष्टि हुन नसकेपछि ललितपुरस्थित संयक डाइग्नोसिस सेन्टरमा जाँच गर्दा उनीहरूलाई लिगिनायर्स रोग लागेको प्रमाणित भएको थियो। रोग पुष्टि भएलगत्तै अस्पतालका चिकित्सकले महाशाखालाई खबर गरेका थिए।
केही महिनायता पोर्चुगलमा लिगिनायर्सको प्रकोप फैलिँदा ११ जनाको ज्यान गइसकेको छ। त्यहाँ यसबाट पीडित करिब चार सयजना अस्पताल भर्ना भएका छन्। यो दुवै फोक्सो काम नलाग्ने अवस्था उत्पन्न हुने रोग हो।
रोगको रोकथाममा विशेष ध्यान दिन सबै अस्पताल र होटेललाई आग्रह गर्दै महाशाखाले विज्ञप्तिमार्फत यस्ता बिरामीलाई छुट्टै आईसीयू र वार्डमा भर्ना गर्न पनि अस्पतालहरूलाई अनुरोध गरेको छ।
मरासिनीका अनुसार पानीबाट मानिसमा सर्ने गरेको यो रोग धूमपान गर्ने र रोगप्रतिरोधात्मक क्षमता कम भएका मानिसमा देखापर्ने गरेको छ। यो रोग लागेपछि सुरुमा रुघा लाग्ने र बिस्तारै ज्वरो आउने, खोकी लाग्ने, सास फेर्न गाह्रो ह्रुने, पखाला लाग्ने, अचेत हुनेजस्ता लक्षण देखिन्छन्। उनले यो रोग नेपालमा पनि देखिनुको कारण पत्ता लगाउन बिरामीलाई निगरानीमा राखेर थप अनुसन्धान भइरहेको बताए।
के गर्नुपर्छ रोगबाट बच्न ?
‘रोग समयमै पत्ता लगाइयो र बिरामीलाई सघन उपचार गरियो भने मात्र ऊ बाँच्ने सम्भावना हुन्छु, मरासिनीले भने, ‘रोग ढिलो पत्ता लाग्नु भनेको मृत्युदर उच्च हुनु हो।’ रोगका किटाणुयुक्त पानीका ससाना बुँद श्वासप्रश्वासमार्फत फोक्सोमा पुगेपछि दुईदेखि १० दिनभित्र रोगका लक्षण देखिन्छन्।
एअर कन्डिसनर, पानीका फोहोरा, स्पा तथा नुहाउँदा प्रयोग हुने साओर, पोखरी र अन्य पानीका स्रोतबाट रोगका किटाणु मानिसमा सर्न सक्छ। ‘यसअघि नदेखिएको यस्तो रोग नेपालमा देखिएला भन्ने हामीलाई लागेको थिएन’, मरासिनीले भने, ‘तर अब चुप लागेर बस्ने स्थिति रहेन, रोगबाट बच्न धेरै सतर्कता अपनाउनु आवश्यक छ, हैन भने ठूलो क्षति निम्तिन सक्छ।’
यो रोग लागेका बिरामीबाट अन्य स्वस्थ व्यक्तिमा सर्ने सम्भावना भने कम रहेको मरासिनीले बताए। लिगिनायर्स भएका बिरामीमा दुवै फोक्सोमा कडा निमोनिया देखिएको, रगतमा नुनको मात्रा घटेको लगायतका समस्या पाइएको छ।
चिकित्सकका अनुसार पानीको फोकाबाट सर्ने यो रोगबाट बच्न एअर कन्डिसनरको फिल्टर समय(समयमा सफा गरी किटाणुमुक्त राख्नुपर्छ भने पानीका स्रोत सफा र स्वच्छ राख्नुपर्छ। धूमपानबाट बच्नुका साथै नियमित शारीरिक अभ्यास गर्नुपर्छ।
रोगका लक्षण एकपछि अर्को गर्दै देखिने भएकाले शंका लाग्नासाथ अस्पताल गएर विशेषज्ञ चिकित्सकलाई देखाउनुपर्छ।

