घैंटे मारिँदा कस-कसलाई टेन्सन? यस्तो छ घैंटेको राजनीतिक सम्बन्ध नालिबेली....एकपटक पढ्नुहोस


काठमाडौं ।
नेपाल प्रहरीको ‘मोष्ट वान्टेड’ सूचिमा रहेका गुन्डा नाइके कुमार लामा ‘घैँटे’ प्रहरी कारबाहीमा मारिएका छन् । खोजतलासको क्रममा रहेको प्रहरीको टोलीलाई घैँटे नेतृत्वको टोलीले विहीबार स्थानीय सामाखुसीमा आक्रमण गरेपछि प्रहरीको जवाफी कारबाहीमा उनी मारिएका प्रहरी प्रवक्ता कमलसिंह बमले बताए ।
काठमाडौंको सामाखुसीस्थित आफ्नै घर नजिक कपुरधारामा प्रहरी र घैंटेको समूहबीच गोली हानाहान हुँदा घाइते भएका उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुर्‍याए लगत्तै मृत घोषणा गरिएको हो । घैंटे अवैध चन्दा असुली, हतियार देखाएर धम्क्याउने तथा गुण्डागर्दीमा संलग्न भएको लगायतका दजनौ मुद्दाको आधारमा प्रहरीले मोस्ट वान्टेडमाको सूचिमा राखेको थियो । एमाले निकटका गुण्डा नाइके दिनेश अधिकारी चरी मारिएको १ वर्ष पछि अर्का गुण्डा नाइके घैंटेलाई प्रहरीले उस्तै स्टाइलको इन्काउन्टरमा अन्त्य गरिदिएको छ ।
Kumar Ghaite killed
‘मोष्ट वान्टेड’ सूचिमा रहेका घैंटे घरमै रहेको सूचनाका आधारमा प्रहरी उनलाई पक्राउ गर्न गएको थियो । तर, प्रहरी देख्ने बित्तिकै घैंटेको समूहले फायर खोलेपछि प्रतिरक्षाका लागि गोली चलाउदा उनीसहित अन्य दुई ब्यक्ति घाइते भएका थिए ।
Kumar Ghaite killed 3
Kumar Ghaite killed 4“प्रहरीमाथि जाई लागेपछि दोहोरो भिडन्तमा घाइते भएका घैँटेको उपचारका क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा मृत्यु भएको हो” – नाइके समूहका सुरेन्द्र महर्जन र राज महर्जन घाइते भएको जानकारी दिँदै प्रहरी नायब महानिरीक्षक बमले भने । दुईजना प्रहरी सहायक निरीक्षक र एकजना प्रहरी जवान पनि घाइते भएको जानकारी दिँदै उनले ती तिनैजनाको वीर अस्पतालमा उपचार भइरहेको बताए ।
गृहमन्त्रीको आदेशमा घैटेको हत्याः केसी दाजुभाइ
गुण्डा नाइके कुमार घैटेको मृत्यु गृहमन्त्री वामदेव गौतमको ठाडो निर्देशनमा भएको कांग्रेसले आरोप लगाएको छ । कांग्रेसको संरक्षणमा घैटेले गुण्डागर्दी चलाएको आरोप लाग्दै आएको बेला कांग्रेसले घैटेको प्रहरी इन्काउन्टरको नाममा सुनियोजित हत्या भएको बताएको हो । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले गुण्डा नाइके कुमार घैट मारिएकोप्रति आक्रोस पाखेका छन् । राजनीति गतिविधिमा सहयोग गर्दै आएका घैटको मृत्यु प्रहरी इन्काउन्टरमा नभएर सुनियोजित भएको उनले दावी गरेका छन् । घैटेको मृत्युपछि कांग्रेसका नेता तथा कार्यकर्ता ठूलो संख्यामा महाराजगन्जस्थिति शिक्षण अस्पतामा पुगेका छन् । मान्छे मार्न नपाइने भन्दै केसीले प्रहरीले कानुन हातमा लिएर जे पनि गर्ने छुट नभएको बताए ।
Kumar Ghaite killed 1
arjun narsingh kc
कांग्रेस नेताः अर्जुननरसिंह केसी
कांग्रेसका अर्को नेता एवं सभाषद जगदिशनरसिंह केसीले गहृमन्त्रीको ठाडो आदेशमा इन्काउन्टर गरेर कुमार घैटेलाई मारिएको आरोप लगाए । इन्काउन्टर र हत्या एकै प्रकृतिको कसुर भएकाले हत्यारालाई जे सजाय हुन्छ हत्या गर्नेलाई पनि त्यही साजय हुनुपर्ने उनले माग गरे । उनले भने- प्रहरीले भनेको कुरा ५०० प्रतिशत गलत छ । उनको घरमै गएर गोली हानिएको छ । गोली लागेर ढलिसकेको मान्छेले गोली हानेको उनले बताए । कुमार श्रेष्ठलाई मारिएको छ । उनले यस अघि नै आफूमाथि इन्काउण्टर हुन सक्ने भनेर निवेदन दिएका थिए । यो हत्या हो गोली हान्ने हत्यारा हो ।
jagadiswar narsingh kc
कांग्रेस सभाषदः जगदिश्वरनरसिंह केसी
उनले प्रहरीले जे मन लाग्यो त्यही गर्ने अधिकार नपाएको दावी गरे । घैंटको सरासर हत्या भएको भन्दै उनले यसका हत्यारालाई कारवाही गर्न माग गरे । उनले भने यो इन्काउन्टर होइन, सिभिल प्रहरीले मास्क लगाएर सिधै छातीमा गोली हानेको हो । इन्काउन्टर भए उसलाई गोली हान्न जाने ५/६ जना को हुन्? जवाफ चाहियो ।
गुण्डा मार्ने प्रहरी काइदाः पालैपालो इन्काउण्टर
जतिसुकै गुण्डागर्दी र अपराधका लागि कुख्यात भएपनि त्यस्ता ब्यक्ति मारिँदा समेत प्रहरीको आलोचना गरिनु र गैरन्यायिक हत्याको मुद्धा उठ्नु नेपालमा सामान्य जस्तै बनेको छ । घैंटे मारिँदा पनि विहीबार महाराजगञ्जस्थित शिक्षण अस्पतालमा यस्तै दृष्य देखियो । उनका समर्थक र कांग्रेसी नेता कार्यकर्ताले समेत प्रहरीको आलोचना गर्दै गृहमन्त्रीमाथि समेत प्रश्न उठाए ।
chari antesthi
धेरै समय भएको छैन प्रहरीले नेकपा एमालेका जिल्ला नेता समेत रहेका दिनेश अधिकारी ‘चरी’लाई प्रहरीले इन्काउन्टरमा मारेपछि एमालेभित्र हंगामा भयो । आफ्नै गृहमन्त्री भएको समयमा पार्टी आवद्ध गुण्डा नाइके मारिएपछि एमालेभित्र नै गृहमन्त्रीको राजिनामा समेत मागियो । चरी मारिएको विरोधमा धादिङका सांसद राजेन्द्र पाण्डेले संसदमै तमासा देखाएका थिए । अव त्यस्तै संकेत नुवाकोटका कांग्रेसी राजनीतिज्ञद्व केसी दाजुभाइले देखाएका छन् । प्रहरीले पछिल्लो समय राजनीतिक संरक्षणमा रहेका भएपनि गुण्डाहरुलाई पालै पालो तह लगाउने रणनीति अपनाएको देखिन्छ । एमाले संरक्षणमा रहेका भनिएका चरी मारिएको करिव १ वर्ष पछि कांग्रेस संरक्षणका भनिएका घैंटेले पनि इन्काउन्टरको उस्तै नियती भोग्नुले अव राजनीतिक संरक्षणले मात्र गुण्डाहरु जोगिन सक्दैनन् भन्ने संकेत गरेको छ ।
यस्तो थियो घैंटको विगतः कस कसलाई भयो तनाव?
कुमार घैटे सम्पति सुद्धीकरण विभागले गलतबाटोबाट अकुत सम्पति कमाएको भनेर छानविनमा रहेका गुण्डा नायिके थिए । उनीमाथि विभिन्न हत्या देखि अपहरण र गुण्डागर्दीका मुद्धामा संलग्न भएको आरोप थियो ।
Kumar Ghaite Gang 1
प्रहरीले चरीको इन्काउन्टर गरेपछि केही हच्किएका भएपनि गुण्डा सर्कलमा घामड, लिंडे र निडरको रुपमा चिनिने गुण्डाका नाईके कुमार श्रेष्ठ ‘घैंटे’ भने आफ्ना सहयोगी परिचालन गरी असुली धन्दामा सक्रिय थिए । आफूलाई गोली हान्न सक्ने डनद्धय रमेश बाहुन जेल चलान र दिनेश अधिकारी ‘चरी’को प्रहरी कारबाहीमा मृत्यु भएपछि उनी अहिले निर्धक्क भएर गुण्डागर्दी र क्षेत्रविस्तारमा सक्रिय थिए । अघिल्लो वर्ष प्रहरी इन्काउन्टरमा मारिएका चरीलाई समेत घैंटेले नै जन्माएको हुन् । चरीसंग सम्बन्ध बिग्रिएपछि घैंटेले चरी बिरुद्ध बाफलका गुण्डा समिरमान बस्नेतलाई उभ्याएका थिए ।
Kumar Ghaite Gang
धादिङमा चरीले एकाधिकार गर्न थालेपछि चरीसंग बिच्किएका राधे भण्डारीलाई धार बनाएर घैंटेले चरीबिरुद्ध गत बर्ष गोली हान्न लगाएका थिए । आफूमाथी गोली प्रहार गर्ने राधेलाई बदला लिने उदेश्यले ६ महिना अगाडि गोली चलाएका चरीलाई दुई साता अघि मात्र प्रहरीले मुडभेटमा मारेको बताएको छ । चरीको मृत्युसंगै चरीको क्षेत्रमा राज गर्ने उनको मनसाय थियो । उनले सामाखुसि, बाफल, बालाजु क्षेत्रका प्राय कलेजहरुमा घैंटेले यी आराधिक समूह परिचान गरेर डीआईको नाममा विभिन्न कलेजहरुबाट रकम असुल्दै आएका थिए ।
kumar ghaite q
कस कसलाई तनाव ?
नेपाली राजनीतिमा गुण्डा र राजनीतिज्ञहरुको सम्बन्ध अनौठो छ । गुण्डा भनेर प्रहरी इन्काउन्टरमा परेका चरीलाई एमालेले झण्डा ओडाएर विदाइ गरेको थियो । अव घैंटे मर्दा सबैभन्दा बढी तनाव नुवाकोटमा राजनीति गर्ने नेपाली कांग्रेसका अर्जुननर सिंह केसी र उनका दाजु जगदिशश्वरनरसिंह केसीलाई भएको देखिएको छ । केसी दाजु भाइले घैंटेलाई घरमै गएर मारिएको आरोप लगाएका छन् । सभाषद समेत रहेका जगदिश्वरनरसिंह केसीले प्रहरीले गृहमन्त्रीको ठाडो आदेशमा हत्या गरेको आरोप लगाए । उनले यो घटनाको छानविन गर्न माग गर्दै प्रहरीले इन्काउण्टरको नाममा मन लागेको मान्छे मार्न नपाउने माग गरे । उनले प्रहरीले भनेको कुरा ५०० प्रतिशत गलत भएको समेत बताए ।
केही समय अघि चर्चित गुण्डा नाइके कुमार घैंटेको एक कार्यक्रममा प्रमुख अतिथिको रुपमा शिक्षामन्त्री चित्रलेखा यादव सहभागी भएपछि उनीहरुबीचको सम्बन्धका बारे अनेकथरी चर्चा चलेका थिए । गुण्डागर्दीबाट अकुत सम्पत्ति बटुलेका घैंटेले पैसा वितरण गर्नकै लागि आयोजना गरेको कार्यक्रममा शिक्षामन्त्री यादव सहभागी भएकी थिइन् । गत १७ गते सामाखुसीमा घैंटेले आयोजना गरेको पैसा बाँढ्ने कार्यक्रममा मन्त्री नै संलग्न भएपछि स्थानीयहरु अचम्ममा परेका थिए ।
chitralekha-yadav
चित्रलेखा यादव
घैंटेका प्रमुख संरक्षक भनेर आलोचित कांग्रेस नेता जगदिश्वर नरसिंह केसी तथा सभासद् भिमसेनदास प्रधान समेत उक्त कार्यक्रममा सहभागी भएका थिए । समय समयमा घैंटेले कांग्रेस युवा नेता गगन थापाको नाममा धम्क्याउँदै पैसा उठाउँदै हिडेको समेत चर्चा चलेको थियो ।
डिभिजन–४ र दक्षिण अमेरिकी देश बर्मुडामा आयोजना भएको डिभिजन–३ को छनोट खेल पार गरेको नेपाली क्रिकेट टिमलाई सम्मानमा नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रममा सम्मान र पुरस्कार वितरणलाई भव्य बनाउन पार्टीका खेलकुद प्रमुख धनराज गुरुङले गुण्डा नाइके कुमार घैंटेको सहारा लिएपछि त्यसको ब्यापक आलोचना भएको थियो । कांग्रेस पार्टी कार्यालय सानेपामा क्रिकेट खेलाडी सम्मान कार्यक्रममा उनलाई पनि बोल्ने अवसर दिइएको थियो । घैंटेले बोल्दा तालीले कार्यक्रम हल गुन्जायमान बन्यो भने पार्टी सभापति सुशील कोइरालाले बोल्दा र सम्मान गर्दा खेलाडी मात्र थिए र ताली सम्म नबजेको भनेर समाचार नै बनेको थियो ।





प्रतिक्रिया दिनुहोस्...