कान्तिपुर कलेजकी छात्राको हत्या भएपछि प्रदर्शन
ओएस नेपाल, काठमाडौँ, २१ मंसिर । नयाँ बानेश्वरस्थित कान्तिपुर कलेजमा अध्ययनरत एक छात्राको दिनदहाडै छुरी हानी हत्या भएको छ । घटनाको २४ घण्टा बितिसक्दा पनि प्रहरीले हत्यारालाई समाउन नसकेको भन्दै अनेरास्ववियुलगायतका विद्यार्थी संगठनले आइतबार सिंहदरबारनजिकै मृतक छात्राको तस्बिर बोकेर प्रदर्शन गरेका छन् । शनिबार दिउँसो मैतीदेवीको सेतोपुलभन्दा केही तल अनामनगरतर्फ हिँडिरहेको अवस्थामा एक युवकले रितु महासेठमाथि एक्कासी ५ र ६ पटक छुरी रोपेका थिए । रितुलाई तत्कालै ट्याक्सीमा हालेर सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज पु¥याइएको थियो । त्यहाँ उपचार हुन नसकेपछि उनलाई महाराजगञ्जस्थित शिक्षण कलेजमा पु¥याइएको थियो । रितुको शनिबार अपरान्ह साढे ४ बजे शिक्षण अस्पतालमा निधन भएको हो । जनकपुरबाट काठमाडौंमा उच्च शिक्षा अध्ययन गर्न आएकी रितु मैतीदेवीस्थित ‘फेमिली गल्र्स होस्टल’मा बस्थिन् । उनी बानेश्वरको कान्तिपुर कलेजमा बीबीएस प्रथम वर्ष अध्ययनरत थिइन् । शनिबार दिउसो साथीको विवाहका लागि होस्टलबाट निस्केकी रितुमाथि दिनदहाडै छुरी प्रहार गरेर अपराधी उम्कन सफल भएको छ । राजधानीजस्तो देशको प्रशासनिक केन्द्रमा दिनदहाडै महिलामाथि छुरी प्रहार हुँदा पनि प्रहरीले अपराधीलाई समात्न नसकेको भन्दै विभिन्न विद्यार्थी संगठनले हत्यारालाई तत्काल कारबाहीको माग गरेका छन् । यसैबीच एमालेसमथिर्त अनेरास्ववियुकी महासचिव नविना लामाले सरकारले तत्काल हत्यारालाई पक्राउ नगरे आन्दोलनमा उत्रने बताएकी छन् । महिला विद्यार्थीमाथि हिंसा हुँदा पनि प्रहरी मुकदर्शक बनेको उनले बताइन् । यसबारे अखिलले गृहमन्त्री बामदेव गौतमलाई भेटेर ध्यानाकर्षण गराउने उनले बताएकी छिन् ।

.jpg)