देशको मन्त्री कुन, सांसद हुन अझ भनौं प्रधानमन्त्री हुन कति शैक्षिक योग्यता चाहिएला ? अवश्य पनि उसले राजनीति गरेको हुनुपर्छ, राजनीतिक दलको सदस्य पनि हुनुपर्छ अनि जनताको मतबाट विजयी पनि हुनुपर्छ । त्यो नभए नेताको नजिक हुनुपर्छ । शैक्षिक योग्यता त जति भए पनि हुन्छ । तर, नेपालमा मन्त्री, सांसद हुने योग्यता निश्चित नभए पनि सार्वजनिक सवारी चालक हुन भने न्यूनतम एसएसली पास गरेको हुनुपर्छ । यो नियम सरकारले भरखरै ल्याएको हो । देशमा सवारी दुर्घटना बढ्नुमा चालकको लापरवाही भएको भन्दै सार्वजनिक यातायातका सवारी साधन चलाउन न्यूनतम शैक्षिक योग्यता एसएलसी पास गरेको हुनुपर्ने प्रावधानसहित सरकारले सार्वजनिक सवारी चालक अनुमतिपत्रबारे ल्याएको नयाँ नियमावली ल्याएपछि चालकहरुले सडकबाटै नारा लगाए देश चलाउन औंठा छाप भए पनि हुने, गाडी चलाउन भने एसएलसी पास गर्नपर्ने ? यो नियमको बिरुद्धमा चालकहरु सडकमा उत्रिएपछि सरकारले तत्काल कार्यान्वयन नगर्ने भएको छ । नियम कार्यान्यनमा नल्याए मजदुर संगठनहरुको यातायात बन्दको घोषणा गरेपछि सरकारले नियम तत्काल रोक्ने निर्णइ गरेसंगै यातायात बन्द पनि फिर्ता लिने भएका छन् । सरकार र मजदुर संगठनहरुबीच विवाद उत्पन्न गराएको उक्त नियमावलीमा एसएलसी उत्तीर्ण गरेको र २५ वर्ष उमेर पुगेको हुनुपर्ने प्रावधान छ । यसअघि अनुपतिपत्रका लागि २१ वर्षको उमेर पुगेको र सामान्य लेखपढ हुनुपर्ने व्यवस्था रहेको थियो । बुधबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिवसँगको छलफल पछि तीनवटै मजदुर संगठनहरुले संयुक्त विज्ञप्ती जारी गरी समस्याको समाधान वार्ता र छलफलकै माध्यमबाट गर्ने बताएका हुन् । देशभर सडक दुर्घटनाहरु बढदै गएपछि मन्त्रिपरिषदले चालक अनुमतिपत्र नियमावलीलाई संशोधन गर्ने निर्णय हालै गरेको थियो । अनुमतिपत्र लिने व्यक्तिको उमेर, शैक्षिक योग्यता र अनुमतिपत्र खारेजीको व्यवस्थाबारे प्रस्तावित परिवर्तनहरु व्यवहारिक नभएको भन्दै मजदुर संगठनहरुले विरोध जनाएका थिए । त्यसैको विरोधमा देशका विभिन्न ठाउँमा केही दिनदेखि यातायात बन्द गरिएका थिए । नेपाल यातायात मजदुर संघका अध्यक्ष अजय कुमार राईले यातायात सचिवले सहमति र छलफल गरेर मात्र कार्यान्वयनमा ल्याउँछु भनेपछि सम्पुर्ण यातायात संचालन गर्ने निर्णय गरेर सबैलाई निर्देशन दिइसकेको बताउनुभएको छ । त्यसो त यातायात मजदूरहरु पनि नियमावलीमा संशोधन आवश्यक भए पनि सरकारले कार्यान्वयन गराउनु पर्ने निकायहरुसँग छलफल नगरेको उनीहरुको गुनासो छ । विज्ञहरु सवारी चालक अनुमतिपत्र वितरणमा कडाई गर्दैमा र निश्चित शैक्षिक योग्यताको प्रावधान राख्दैमा दुर्घटना कम नहुने बताउँछन् । दुर्घटना कम गर्न सवारी साधनको यान्त्रिक जाँचमा कडाई, यात्रुको क्षमता, सडकको अवस्थामा सुधार पनि उत्तिकै आवश्यक छ । त्यस्तै यातायात व्यवसायीहरुले पनि जसरी हुन्छ पैसा कमाउने सोच त्याग्नुपर्ने आवश्यकता छ । विशषतः चाँडबाडका बेला बढी दुर्घटना हुने र मृत्युको संख्या पनि त्यतिबेलै बढ्ने गरेको छ । यी बेला ग्यारेजमा थन्किएका गाडीहरु पनि चलाउने गरेको पाइएको छ । सवारी सुरक्षाका लागि बसेका प्रहरीका साथै छड्के जाँच र राजमार्ग गस्ती पनि महत्वपूर्ण पक्ष मानिन्छ दुर्घटना कम गराउन ।
नेता औठा छाप पनि हुने चालक बन्न एसएलसी ?!?
