भर्खर तरुनी हुँदैछु


 कोमल वली (लोक गायिका तथा समाचार वाचिका)
कत्तिको व्यस्त हुनुहुन्छ ?
व्यस्तै छु । गीत रेकर्डिङ तथा स्टेज प्रोग्राममा भ्याइनभ्याई छ ।
तपाईं त सरकारी कर्मचारी, गीतसंगीत तथा स्टेज प्रोग्राममा समय कसरी मिलाउनुहुन्छ ?
अहिलेसम्म चल्दै आएको छ ।
अफिसलाई समय दिनुभएन भन्ने आरोप छ नि !
त्यस्तो छैन । आरोप लाग्नु एउटा कुरा हो तर मेरो कारणले अरूलाई डिस्टर्भ भएजस्तो लाग्दैन ।
अहिलेसम्म कतिवटा गीत गाउनुभयो ?
मेरो सांगीतिक यात्रा ०४४ सालबाट सुरु भएको हो । बहिनी प्रज्ञा शरद (वली) र मद्वारा रेडियो नेपालमा स्वरबद्ध ‘शिरैमा शिरफूल’ लोकगीत नै मेरो सांगीतिक यात्राको पहिलो खुट्किलो हो । २७ वर्षको अवधिमा लोकगीत, भजन, चलचित्रलगायत ५९७ गीत रेकर्ड भइसकेका छन् ।
स्टेज प्रोग्राममा कतिवटा मुलुक घुम्नु भयो ?
३५–३६ वटा देश घुमिसकेँ । कुनै–कुनै देश त ५–६ पटक पनि गएकी छु ।
विदेशतिरै पलायन हुने रहर आएन ?
मलाई स्वदेशमै मालामाल छ । किन विदेश पलायन हुनु ?
मासिक कमाइ कति छ ?
यति नै त नभनौं, तर गीत-संगीतबाट पूर्ण सन्तुष्ट छु ।
खर्च नि !
दालचामल किन्नुपर्दैन, उतै पुख्र्यौली घर दाङबाट आउँछ । अरू खर्च महिनाको ४०–५० हजारको हाराहारीमा हुन्छ ।
खाना कस्तो मन पर्छ ?
खाना मीठो÷नमिठो भन्ने छैन । पेट भर्न पाए पुग्छ । अँ, साँच्ची ! खिरचाहिँ पटक्कै मन पर्दैन
जाडो-गर्मी कुन सिजन मन पर्छ ?
गर्मी नै रमाइलो लाग्छ ।
किन ?
म पहिरनमा शौखिन छु । गर्मीमा हल्का र फेसनेबल कपडा लगाएर आनन्दले हिँड्न पाइन्छ । जाडोमा त्यो सुविधा हुँदैन ।
दशकयता तपाईंका गीत पनि ‘उत्ताउला’ भए भन्ने आरोप छ नि !
गीतलाई उत्ताउला नभनौं, समयअनुसार आधुनिकता थपिएको हो ।
नयाँ एल्बम निकाल्दै हुनुहुन्छ रे !
हो । मेरो ‘तरुनी’ एल्बम छिट्टै बजारमा आउँदै छ । एउटा ‘पर्फेक्ट युवती’का लागि चाहिने विषय एल्बममा समावेश गीतले दर्शाउँछ ।
पुस्तक कत्तिको पढ्नु हुन्छ ?
पढ्छु । समयले साथ दिएसम्म पुस्तक पढ्न छुटाउँदिन ।
कस्तो पुस्तक मन पर्छ ।
यस्तै भन्ने छैन, तर पनि उपन्यास र आत्मवृत्तान्त मन पर्छ । मैले कर्ण शाक्यको ‘खोज’ र ‘मोज’ दोहो¥याएर पढेकी छु ।
पछिल्लोपटक कुन पढ्नुभयो ?
पूर्वप्रधानसेनापति रुकमाङ्गद कटवालको आत्मवृत्तान्त पढें । साँच्चै रमाइलो लाग्यो ।
राजनीति ?
राजनीतिमा जाने त मेरो ‘हवी’ नै हो । कहिले हुन्छ, हेरौं ।
मन पर्ने नेता ?
धेरै नेता मन पर्छन् । नामचाहिँ नतोकौं ।
विवाह कहिले गर्नुहुन्छ ?
(हाहाहाहा...) भर्खर त तरुनी हुँदैछु, सोचौंला नि !





प्रतिक्रिया दिनुहोस्...