५ कार्यकर्ता ४८ घण्टाभित्र छाड्न प्रधानमन्त्रीलाई कलकी अवतारको अल्टिमेटम




काठमाडौ, पुस ४ - लण्डनबाट सञ्चालित भूमिगत धार्मिक संस्था कलकी अवतार फाउण्डेशनले नेपाल प्रहरीले हिरासतमा राखेको आफ्ना ५ कार्यकर्तालाई तत्काल रिहा गर्न प्रधानमन्त्री सुशील कोइरालालाई ४८ घण्टे अल्टिमेटन दिएको छ ।
algohar-2 फाउन्डेशन प्रमुख युनुस अलगोहरले भिडियो सन्देश जारी गर्दै आफ्ना कार्यकर्ता बिना कारण पक्राउ गरिएको भन्दै काठमाडौंस्थित यूनएचएचसीआरमा बुझाउन अल्टिमेटम दिएका छन् ।
' मेरा मान्छेलाई हानी गर्ने शक्ति संसारमा कसैसँग छैन्',यूटयुबमा अपलोड गरिएको ३३ मिनेट लामो भिडियोमा उनले भनेका छन्,'हाम्रा मान्छे नेपालमा आतंकवाद फैलाउन होइन्, सेवा गर्न गएका हुन् ।'
उनले नेपालका नागरिक खानेपानीसमेत खान नपाएको अवस्थामा रहेको भन्दै आफ्ना कार्यकर्ताले विभिन्न रोग समेत निदान गरिएको दाबी गरे । 'म मेरा मान्छेलाई नेपालबाट फिर्ता बोलाउछु त्यसपछि नेपाली जनता हामीले दिने सेवाबाट बञ्चित हुनेछन्',  उनले भनेका छन्,'आतंकवादी बन्दुक र बम लिएर हिड्छन्, शान्तिको पर्चा होइन् ।'
प्रहरीले संकास्पद गतिविधि गरेको आरोपमा मंसिर १९ गते काठमाडौंको पशुपति र कपन आश्रमबाट कलकी अवतार फाउण्डेशनका २० जनालाई नियन्त्रणमा लिएको थियो ।
पक्राउपरेका मध्ये दुई नेपालीसहित १३ भारतीय नागरिक रिहा भए पनि ५ जना पाकिस्तानी नागरिक भने हिरासतमा छन् ।
प्रहरीले अदालतबाट म्याद थपेर उनीहरुमाथि अनुसन्धान गरिरहेको छ ।
'नेपालमा हिमाल चढ्ने मान्छे बाहेक अरु कोही जादैनन् तर हाम्रा मान्छे त्यहाँका नागरिकको सेवामा गएका हुन्', अलगोहरले भनेका छन,'भारतमा आतंकवाद फैलाउन चाहनेहरु पनि नेपाल जान्छन् र काम सकाएर र्फकन्छन् ।'
'शान्ति फैलाउन मान्छे आतंकवादी हुन् भनेर नेपाल प्रहरीले कसरी सोच्न सक्यो', उनले भनेका छन्,'यो संयुक्त राष्ट्रसंघको घोषणाविरुद्ध छ ।'
उनले नेपालका प्रधानमन्त्रीलाई सम्बोधन गर्दै भनेका छन्,'आफ्नो देशमा के भइरहेको छ भनेर जान्न चाहनुहुन्छ भने प्रजातन्त्रको अर्थ थाहा छ भने हाम्रा मान्छेसँग भएका सन्देश पढ र तिनलाई सलाम गर  किनकी उनीहरु तिम्रा जनताको सेवाका लागि गएका हुन् ।'
उनले नेपालका सञ्चारमाध्यमले आफ्ना कार्यकर्तालाई आतंकवादीको रुपमा चित्रित गरेकोमा रोष व्यक्त गरेका छन् ।



,

प्रतिक्रिया दिनुहोस्...