दोलखावासीले तामाकोसीको ७ हजार दरले सेयर पाउने
दोलखा , माघ २६ - माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा प्रत्येक दोलखा जिल्लावासीले ७ हजार रुपैयाँको सेयरका लागि आवेदन गर्न पाउने भएका छन् । सेयर विधि टुंगो लागेपछि धितोपत्र बोर्डले यसै साताभित्र विवरणपत्र माग गर्ने तयारी गरेको छ । फागुन पहिलो साताभित्र सेयर जारी गरिसक्ने कार्यतालिका बनाइएको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाका प्रवक्ता गणेश न्यौपानेले बताएका छन् । जिल्लास्थित राजनीतिक दलसहितको संयन्त्रले दोलखा जिल्लाबासीका लागि तामाकोसीले छुट्याएको १० प्रतिशत अर्थात एक अर्ब ५ करोड ९० लाख रुपैयाँको सेयरलाई बराबरी गर्न त्यस्तो नीति बनाएको हो । पछिल्लो गणनाअनुसार दोलखामा सेयर लिन कानुनी हैसियत पुगेका २ लाख ८० हजार ८ सय ४८ जना देखिएको छ । आइतबार बसेको जिल्लास्थित राजनीतिक दलसहित सर्वपक्षीय बैठकले सेयरलाई सबै दोलखालीको पहुँचमा पुर्याउन गाविस तहमा संकलन केन्द्र राख्नुपर्ने निर्णय पनि गरेको छ । दोलखाबासीको हकमा नागरिकता, जन्मदर्ता र २०६४ साल माघ मसान्तसम्म बसाइसराइ भइआएको प्रमाणपत्रका आधारमा दामासाहीले सेयर दिन त्यस्तो नीति बनाइएको हो । प्रत्येक व्यक्तिले ७ हजार रुपैयाँ तोकिएको केन्द्रमा दाखिला गरी आवेदन गर्दा अधिकतम ७० कित्तासम्म सेयर पाउने टुंगो लागेको छ । जनसंख्याअनुसार सबैले सेयर दाबी गरेमा न्यूनतम ३५ कित्तासम्म सेयरको सुनिश्चिता पनि गरिएको छ । बैठकले सबै नागरिकलाई सेयर हाल्ने वातावरण बनाउन वित्तीय कम्पनीहरूलाई ऋण लगानी गर्न आह्वानसमेत गर्ने छ । माथिल्लो तामाकोसीले सर्वप्रथम १ करोड ५ लाख ९० हजार कित्ता सेयर दोलखाबासीका लागि जारी गर्नेछ । त्यसपछि बोर्डले सञ्चयकोषका सञ्चयकर्ताका लागि १७ दशमलव २८ प्रतिशत अर्थात १ अर्ब ८२ करोड ९९ लाख ५२ हजार रकम बराबरको सेयर निष्कासन गर्नेछ । यस्तै माथिल्लो तामाकोसी हाइड्रोपावर कम्पनी र विद्युत् प्राधिकरणका कर्मचारीका लागि ३ दशमलव ८४ प्रतिशत अर्थात ४० करोड १४ लाख रकम बराबरको सेयर निष्कासन गर्ने तयारी पनि बोर्डले सुरु गरिसकेको छ । आयोजनाका लगानीकर्तामध्ये राष्ट्रिय बिमा सस्थान, कर्मचारी सञ्चयकोष, नेपाल टेलिकमका कर्मचारीका लागि पनि २४ करोड १४ लाख ५२ हजार रकम बराबरको सेयर निष्कासन गर्ने तयारी भइसकेको छ । माथिल्लो तामाकोसी आयोजनाले सर्वसाधरणलाई वितरण गर्ने १५ प्रतिशत अर्थात १ अर्ब ५८ करोड ८५ लाख रकम बराबरको सर्वसाधरणको सेयर भने अन्तिम चरणमा निष्कासन गरिने आयोजनाका प्रवक्ता न्यौपानेले जानकारी दिए । जसअनुसार ३ करोड ५३ लाख ७० हजार ६ सय कित्ता सेयर जारी हुन्छ ।