बाबुरामले भने-भारतले बनाएको सडक अन्तर्राष्ट्रिय नियमविपरीत


फोटो :सुरेन्द्र काफ्ले शान्तिप्रक्रिया भंग हुने चेतावनी नेपालगन्ज : एमाओवादीका नेता बाबुराम भट्टराईले भारतले सीमामा बनाएको सडक अन्तर्राष्ट्रिय नियमविपरीत भएको बताएका छन्। क्रान्तिकारी पत्रकार संघले शनिबार नेपालगन्जमा गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले आफू बाँके-बर्दियामा पुग्दा भारतले सीमामा सडक बनाएर नेपाललाई डुबाउन लागेको पार्टीका नेता र कार्यकर्ताले बताएको स्मरण गराए। उनले सीमामा सडक बनाउनु राष्ट्रियताविरोधी कार्य भएकाले एमाओवादीले त्यसको कडा विरोध गर्ने पनि बताए। भारतले सीमामा बनाएको सडकका विषयमा आफू पनि गम्भीर भएको उनको भनाइ थियो। भट्टराईले कांग्रेस-एमालेलगायत सत्ताधारी दलले संविधानसभा अपहरण गरी हत्या गरिसकेको पनि बताए। उनले विभिन्न समयमा भएका सहमति, सम्झौता, मधेसी, थारू, दलित र जनजातिका आन्दोलनबाट प्राप्त उपलब्धिविरुद्ध कांग्रेस-एमालेको निर्देशनमा संविधानसभा अध्यक्षले संविधानसभाको हत्या गरेको आरोप लगाए। सहमति तथा संवाद समितिका संयोजक रहेका भट्टराईले बहुमतका आधारमा संविधान जारी गर्न खोजिए समानान्तर सरकार गठन गर्ने चेतावनी दिए। उनले भने, 'सत्ताधारी दलले ३० दलीय मोर्चालाई बाहिर राखेर संविधान जारी गरे हामी पनि अर्को संविधान जारी गर्छौं।' माघ ११ पछि सत्ताधारी दलसँग कुनै वार्ता नभएको दाबी गर्दै उनले जातीय पहिचानसहितको संघीयता र संघीयतासहितको संविधान एमाओवादीको बटम लाइन भएको बताए। जातीयताको गलत अर्थ लगाइएको भन्दै उनले जातीयता र राष्ट्रियता फरक भएको बताए। उनले थारू, नेवार, मगर, गुरुङ, राईलगायत समुदाय जाति नभई राष्ट्रियता भएको बताए। 'हाम्रो पार्टीले जातीयताका आधारमा नभई राष्ट्रियताका आधारमा संघीय प्रदेश हुनुपर्ने भनेको हो', उनले भने। मगर राष्ट्रिय मुक्ति मोर्चा नेपाल बाँकेका तेस्रो जिल्ला अधिवेशन नेपालगन्जमा उद्घाटन गर्दै उनले एकल जातीय पहिचानसहितको संघीयताका पक्षमा एमाओवादी नरहेको स्पष्ट पारे। 'हामीले एकल जातीय पहिचानसहितको स्वायत्त प्रदेशको कुरा गरेका होइनौं', उनले भने, 'एेतिहासिक पृष्ठभूमिका आधारमा जातीय पहिचानसहितको संघीय प्रदेश हुनुपर्ने हाम्रो अडान हो।' संविधानसभा निर्वाचनमा एमाओवादीले एक वर्षभित्र संविधान दिने प्रतिबद्धता जनाएको भन्ने गलत प्रचार गरिएको बताउँदै उनले भने, 'हामीले जातीय पहिचानसहितको संघीयता र संघीयतासहितको संविधान एक वर्षभित्र दिन्छौं भनेका हौं। हाम्रो पार्टीलाई कमजोर बनाउन कांग्रेस-एमालेले गलत प्रचार गरिरहेका छन्।' 'सत्ताधारीले अधिकार खोसे' नेपालगन्जमा आयोजित अर्को कार्यक्रममा भट्टराईले भने, 'प्रजातन्त्रका लागि आवाज उठाउँदा मगर समुदायका लखन थापालाई राणा शासकले गोर्खामा लगेर फाँसी दिए। अहिले पनि मगर समुदायको अधिकार खोस्ने काम सत्ताधारी दलले गरिरहेका छन्।' मगर मुक्ति मोर्चा बाँकेको तेस्रो अधिवेशन उद्घाटन कार्यक्रममा उनले मगरात प्रदेशमा मगरले मात्र नभई अन्य समुदायले पनि समान अधिकार पाउने बताए। उनले भने, 'हामीले जातको नाममा राज्यको नामकरण हुनुपर्छ भनेका मात्र हौं। सम्पूर्ण अधिकार एउटा जातिलाई दिनुपर्छ भनेका छैनौं।' पहिचानसहितको संविधान बन्न नदिने षड्यन्त्र भइरहेको उल्लेख गर्दै उनले जातीय पहिचानसहितको प्रदेश बन्न नदिए आफूहरूलाई मान्य नहुने स्पष्ट पारे। संविधानसभा अपहरण गरेर २०४७ सालकै संविधान बनाउने खेलमा कांग्रेस-एमालेले कसरत गरिरहेको उनको भनाइ थियो। 'पुरानो संविधानका केही धारा फेरबदल र पुरानो गाता फेरेर नयाँ संविधान दिन सत्ताधारी दल तल्लीन छन्', पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले भने, 'परिवर्तनका पक्षमा उभिएका जनताले पुरानै संविधान स्वीकार्ने कुरै छैन।' कोहलपुरमा भएको अन्तरक्रियामा भट्टराईले बहुमतीय प्रक्रिया पूर्ण रूपमा नरोकिएसम्म वार्ता नजाने बताए। उनले फागुन १६ गते पछि पनि सत्तापक्ष गम्भीर भएर सहमतिमा नआए शान्ति भंग हुनसक्ने चेतावनीसमेत दिए।




प्रतिक्रिया दिनुहोस्...