बर्दिया, फाल्गुन ४ । भारतमा बलात्कारपछि हत्या गरिएकी बर्दिया राजापुर नगरपालिका वडा नम्बर–१० की २८ वर्षीया मीना सुनारको परिवारले न्यायका लागि नेपाल सरकारसँग गुहार मागेका छन् ।
भारतको हरियाणा राज्यस्थित रोहतकमा दिदी–भिनाजुका साथमा मानसिक उपचार गराउन गएकी सुनारको परिवारले न्यायको माग गरेका हुन् । अपहरणपछि बलात्कार गरी विभत्स हत्यागरिएकोे दुई साता बितिसक्दा पनि न्याय पाउन नसकेको मीना सुनारकी आमा स्वरुपाले बताइएकी छन् ।
लामो समयदेखि हरियाणामा बस्दै आएका दिदी–भिनाजुकहाँ उपचारका लागि गएकी मीना माघ १८ गते हराएकी थिइन् । ४ दिनपछि बस्दै आएको ठाउँदेखि १८ किलोमिटर टाढाको जंगलमा क्षतविक्षत अवस्थामा मीनाको शव भेटिएको थियो ।
टाउकोमा रडले हिर्काइएको र मृत शरीरसँगै पत्थर, ब्लेड र कन्डम भेटिएको परिवारले जनाएका छन् ।
घटनाको विरोधमा भारतीय सन्चारमाध्यम र स्थानीयले अपराधीलाई फाँसी दिन माग गर्दै आइरहेका छन् । घटनामा संलग्न भएको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ भने एकजनाले आत्महत्या गरेका छन् ।
मीनाको बलात्कारपछि हत्याः मर्माहत परिवार, भने–‘न्याय चाहियो’ (भिडियोसहित)