बेलायतमा नेपाली एक्लैले किने २८ करोडको नर्सिङ होम
बेलायतमा व्यवसाय गर्दै आएका एकजना नेपालीले ३३ वेड क्षमताको करिब २८ करोड रुपैयाँमा नर्सिङ होम किनेका छन । सफल युवा व्यवसायी वि. पी. खनालले लन्डनबाट करिब एकसय ५० माइल टाढा वेल्स्मा उक्त नर्सिङ होम खरिद गरेका हुन।
खनालको यो दोस्रो नर्सिङ होम हो । उनले तीन वर्षअघि वेल्स्मै करिब १३ करोड रुपैयाँमा पहिलो नर्सिङ होम किनेका थिए ।
उक्त नर्सिङ होम सम्भवतः बेलायत बस्ने नेपालीबाट गरिएको सबैभन्दा बढि लगानीको ठानिएको छ । सोमबारबाट खनालले नयां नर्सिङ होमको स्वामित्व लिएका हुन् ।
खनालले दोश्रो नर्सिङ होम खरिदले अन्य नेपालीलाई समेत यस क्षेत्रमा लगानी गर्न उत्प्रेरित गर्ने अपेक्षा राखेका छन् । ‘हामी अहिलेसम्म सिमित व्यवसायमा मात्र रमाइरहेका छौु’, खनाल भन्छन्, ‘तर, नर्सिङ होम जस्तो सेवामूलक पेशा अंगाल्न सके त्यसमा मैले प्रशस्त सम्भावना देखेको छु ।’
साउथ वेल्स्मा अवस्थित उक्त नर्सिङ होम धनाढ्यहरुको वस्ती नजिक छ । उक्त नर्सिङ होममा विरामीले साताको करिव एकदेखि दुई लाख रुपैयाँसम्म तिर्नुपर्ने खनालले जनाए । स्थानीय सरकारी बजेट तथा व्यक्तिगत रुपमाविरामीले पैसा तिर्छन् ।
बेलायतका सफल व्यवसायी खनालको कलेज, अनलाइन रिटेल लगायत अन्य क्षेत्रमा समेत लगानी छ । उनले बेलायतवासी नेपालीहरुसंग मिलेर नर्सिङ होम, होटल तथा अन्य व्यवसाय समेत विस्तार गर्ने आफ्नो भावी योजना रहेको सुनाए ।
- See more at: http://www.osnepal.net/nursing-home/#sthash.VVOImkg3.dpuf