वैज्ञानिकले पत्ता लगाए मुखले सुन्ने प्रविधि
आवाज सुन्ने ज्ञानेन्द्रीय कान हो । जिब्रोको काम स्वाद थाहा पाउनु हो । तर आधुनिक विज्ञानले हाम्रा ज्ञानेन्दि्रयहरुको यो पारम्परिक कार्यलाई बदलिदिएको छ । वैज्ञानिकहरुले हालै यस्तो उपकरण बनाएका छन् जसो प्रयोगले कानबाट होइन जिब्रोबाट सुन्न सकिन्छ ।
अमेरिकाको कोलोराडोका वैज्ञानिकहरुले कानको प्रयोग नै नगरीकन कुनै ध्वनी सुन्न सकिने उपकरणको आविष्कार गरेका हुन् ।
यो प्रविधिमा ध्वनीको कम्पन पत्ता लगाएर ग्रहण गर्ने एक उपकरण अर्थात् एयरपिस हुन्छ जसले जिब्रोमा कसिएको इलेक्ट्रोडयुक्त उपकरणमा विद्युतिय झट्का प्रवाहित गर्दछ ।
कोलोराडो स्टेट युनिभर्सिटीका शोधकर्ता जोन विलियम्सले श्रवण शक्ति गुमेका हरुलाई पुनः श्रवण शक्ति फर्काउनका लागि कानको कक्लिया भन्ने भाग प्रत्यारोपण गर्ने शल्यक्रिया निकै महंगो तथा जटिल समेत हुने भएकाले त्यसको तुलनामा जिब्रोले सुन्ने यो प्रविधि अत्यन्तै सजिलो र सस्तो सावित हुने बताए ।
वातावरणबाट आवाज ग्रहण गर्ने एयरपिसबाट ब्लु टुथको माध्यमले ध्वनी तरंगहरु विद्युतिय तरंगको रुपमा मुखमा लगाइएको इलेक्ट्रोड उपकरण सम्म पुग्ने र तत् पश्चात श्रवण स्नायु हुँदै जिब्रोबाट ती तरंगहरु मस्तिष्कसम्म प्रवाहित हुन्छन् ।
शोधकर्ताहरुका अनुसार जिब्रोमा हजारौँ स्नायु हुने र जिब्रोमा प्राप्त उक्त ध्वनीजन्य संवेदनाको झट्कालाई स्नायुहरुले मस्तिष्कसम्म पूराएपछि मस्तिष्कले उक्त संवेदनालाई विश्लेषण गरेर मानिसलाई कानले नै आवाज सुनेजस्तै गरी आवाजको रुपमा सूचना प्रदान गर्ने बताए ।