किशोरीलाई यौनसम्पर्क राख्न बाध्य पार्ने युवक पक्राउ


 विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

२६ माघ, काठमाडौं । १४ वर्षीया किशोरीलाई डर धम्की देखाइ वेश्यावृत्तिमा संलग्न गराएको अभियोगमा धनगढी नगरपालिका ३ कैलालीका सुरेश सार्की मग्रातीलाई प्रहरीले पक्रेर पुर्पक्षका लागि थुनामा राखेको छ ।
वार डान्सरको रुपमा काम गर्दै आएका मग्रातीले एक किशोरीलाई आर्थिक प्रलोभनमा पारेर काठमाडौंका बिभिन्न रेष्टुरेन्टहरुमा वेटरको काममा लगाउने र डर धम्की दिँदै ग्राहकहरुसँग शारिरीक सम्पर्क राख्न बाध्य पार्ने गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ठमेल गल्कोपाखामा बस्दै आएका २४ वर्षीय मग्रातीले ति किशोरीलाई धनगढीस्थित डान्सबारमा बेचबिखन गर्न समेत लगेका थिए ।

काठमाडौंको दरबारमार्गबाट पक्राउ परेका मग्रातीलाई जिल्ला अदालतको निर्णयले पुर्पक्षको लागि थुनामा राखिएको प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्जले जनाएको छ । उनीविरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दामा कारवाही अघि बढाइएको छ ।

यौन दुर्व्यवहारको आरोपमा शिक्षक पक्राउ
यसैबीच बालिका विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा भैरवी उच्चमावि नुवाकोटका शिक्षक राजनारायण यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जनकपुर उपमहानगरपालिका १६ घर भएका यादवले बिदाको दिन कोठामा बोलाएर बालिकालाई दुर्व्यवहार गरेको अभिभावकको आरोप छ ।

बालिकाले आफ्ना अभिभावकलाई भनेपछि सार्वजनिक भएको तथ्यको आधारमा यादवलाई अनुसन्धानको लागि नियन्त्रणमा लिइएको नुवाकोटका प्रहरी प्रमुख अरुण पौडेलले जानकारी दिए ।





प्रतिक्रिया दिनुहोस्...