नेपालकै अग्लो झोलुङ्गे पुलको उद्घाटन
फोटो :सुवास कँडेल (पुल उद्घाटनपछि उपप्रम प्रकाशमान सिंहसहित पुलबाट हिँड्दै)
दुई घण्टाको बाटो पाँच मिनेटमा छोट्टियो
बागलुङ : उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले नेपालकै अग्लो झोलुङ्गे पुलको शनिबार उद्घाटन गरेका छन् ।
बागलुङको बलेवास्थित कैया र पर्वतको सदरमुकाम कुश्माबजार जोड्ने एक सय ५६ मिटर अग्लो वडागाउँ–कैया झोलुङ्गे पुलको एक कार्यक्रमबीच उपप्रम सिंहले उद्घाटन गरेका हुन् ।
तीन सय ४७ मिटर लामो र एक सय ५६ मिटर उचाई रहेको उक्त पुल बनाउन एक करोड ५५ लाख रुपँैया खर्च भएको डोलिडारका निर्देशक जीवनकुमार श्रेष्ठले जानकारी दिए ।
पुल उद्घाटन गर्दै उप प्रधानमन्त्री प्रकाशमान सिंह । फोटो : माया अधिकारी
नेपालकै अग्लो उक्त पुलबाट एकैपटक ७ सय ५० जना यात्रुले ओहोरदोहोर गर्न मिल्ने स्थानिय पूर्वाधार तथा कृषि सडक विभागका महानिर्देशक जीवनकुमार श्रेष्ठले जानकारी दिए ।
उक्त पुल गत कात्तिकदेखि नै सञ्चालनमा आएपनि औपचारिक रुपमा शनिार उद्घाटन गरिएको हो । नेपालमा रहेका पाँच हजार आठ सय झोलुङ्गे पुलमध्ये छ सय झोलुङ्गे पुल बागलुङमा रहेका छन् ।
पुल बनेपछि दक्षिण बागलुङका १७ गाविसका बासिन्दा प्रत्यक्ष रुपमा लाभान्वित बनेका छन् । यो पुलले दुई घण्टाको बाटो ५ मिनेटमै छोटिएको स्थानियवासीको भनाइ छ ।