गुडिरहेको कार उफ्रँदै खोलामा खस्दा...
फोटो :सूर्यप्रसाद पाण्डे
काठमाडौं : सोल्टी होटेलमा भएको विवाह पार्टीमा सहभागी पाहुना बोकेको कार घर फर्कने क्रममा शनिबार राति स्वयम्भू सानो भर्याङ नजिकै दुर्घटनामा पर्यो ।
राति तीब्र गतिमा आइरहेको बा १० प ६७९५ नम्बरको खैरो रङको कार यातायात व्यवस्था विभागको कर कार्यालय नजिकै दुर्घटनामा परेको थियो।
तीब्र गतिमा हुइँकिएको कार एक्कासी ब्रेक लगाउँदा अनियन्त्रित भर्इ २० मिटर टाढाको खोलामा पुगेर बजारियो। प्रहरीका अनुसार आइतबार विहान कार खोलामा पल्टिरहेको अवस्थामा भेटिएको थियो ।
तर दुर्घटनामा परेको कारका धनी भने सम्पर्कमा नआएको प्रहरीले जानकारी दिएको छ। दुर्घटनास्थल भन्दा केही मिटनर अगाडी सिसा तथा कारका टुक्रासमेत भेटिएको छ।
एक महिलाले आफूहरु सोल्टी होटलको विवाह पार्टीमा सहभागी भएर सो कारमा आफू पनि चढेर फर्केको बताएकी छिन् । उनले प्रहरीलार्इ बताए अनुसार कारमा ७ जना सवार थिए।
उक्त कार विवाह पार्टीका आयोजकले पाहुना घर पुर्याउन प्रयोग गरेका थिए। कारमा चढेका मध्ये अधिकांश घाइते भएका छन् । तर चालक र उनका साथी भने दुर्घटनापछि भागेको प्रहरीले जनाएको छ ।
कारका अन्य घाइतेको टाउकोमा चोट लागेको प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा परेको कारका सिटमा रगतका टाटाहरु देखिएका छन्।दुर्घटनामा परेको नराम्री कुच्चिएको छ ।
दुर्घटनाको रोचक कुरा भनेको स्वयम्भूबाट वालाजुतर्फ आइरहेको कार दुर्घटनापछि पनि स्वयम्भुतर्फ नै फर्किएको छ। सडकबाट उच्छिटिएको कार खोला बजारिएर सडकतर्फ उक्लन खोजेको देखिन्छ। दुर्घटनामा परेपछि उछिट्टिएको कारको पछाडिको भाग खोलामा पुगेर ठोक्किएको छ ।