पार्टी अध्यक्ष परिवर्तन हुनुपर्छ: बाबुराम


गोरखा: एमाओवादीका वरिष्ठ नेता बाबुराम भट्टराईले पार्टी अध्यक्ष पुष्पकमल दाहालले पद छाड्नुपर्ने बेला आएको बताएका छन्। 
 
अध्यक्ष दाहालको नाम उच्चारण नगरेका उनले एउटै व्यक्ति आजीवन नेतृत्वमा बसिरहन नहुने भन्दै उनले नेतृत्व परिवर्तन हुनुपर्ने बताए।ज्येष्ठ नागरिक समाजको साधारणसभा उद्‌घाटन गर्न गोरखा आएका उनले अन्नपूर्णसँगको कुराकानीमा पार्टी सत्तामा बस्नेले सँधै पार्टीलाई एक्लौटी प्रभाव जमाइराख्ने भएकाले नेतृत्व हस्तान्तरण हुनुपर्नेमा जोड दिए। तर उनले नेतृत्व भने दाबी गरेनन्। 
 
'जो लामो समय नेतृत्वमा रहिरहन्छ, उसले पार्टीमा एक्लौटी प्रभाव जमाउँछ र सँधै संगठन प्रमुख रहिरहन्छ', उनले भने, ‘दुई चरणभन्दा बढी समय पार्टी नेतृत्वमा बस्नु हुँदैन।
 
आफैं आजीवन अध्यक्ष बन्ने र आसेपासे, आफ्नै परिवारलाई लिएरअघि बढ््ने परिपाटीको पनि अन्त्य गर्नुपर्छ। नेतृत्व परिवर्तन भइरह्यो भने पार्टीले नयाँ गति लिन्छ। 
 
पार्टी लोकतान्त्रिक, विधिसम्मत हुन्छ।' त्यसैले पार्टीको संगठन, ढाँचा नै परिवर्तन गर्नुपर्छ भन्ने आवाज उठाएको उनले बताए।
 
‘हामीले संगठनको ढाँचा नै परिवर्तन गर्नुपर्छ भनेका छौं,' उनले भने, ‘एउटै व्यक्ति दुई पटकभन्दा धेरै अध्यक्ष बन्न नपाउने, पार्टी अध्यक्ष बन्न पार्टीमा त्याग गरेको, जेलनेल सहेको मात्र नभई दृष्टिकोण भएको, गतिदिन सक्ने, विश्व परिवेश बुझेको हुनुपर्छ।'
 
यसअघि पार्टी आन्दोलनको क्रममा रहे पनि अहिले नवनिर्माणको चरणमा रहेकाले अत्यन्त गतिशील, नयाँ गति र दृष्टिकोण दिनसक्नेलाई नेतृत्व दिनुपर्ने उनको जोड छ।
 
पार्टीमा त्याग, तपस्या, हन्डर, ठक्कर, जेलनेल खाएकोलाई नेतृत्व दिने भन्ने पुरानो मान्यताको अन्त्य गर्नुपर्ने भट्टराईको भनाइ छ। 
 
'अब त्याग र बलिदान मात्र होइन, स्वच्छ, पारदर्शी ढंगले पार्टी चलाउन सक्ने, भिजनरी, विद्यमान समस्यालाई हल गर्न सक्ने, नवनिर्माणको कार्यभार पूरा गर्न सक्ने क्षमताको नेतृत्व हुनुपर्छ,' उनले भने।
 
'उनीहरूले आन्दोलनको बेला पनि एक्लाएक्लै गरे। भूकम्पको उद्धार तथा राहत, पुनर्निर्माणको कार्यक्रम पनि एक्लाएक्लै गरे। अनि भेला पनि एक्लाएक्लै गरे। अनि बाँकीले त स्वतः आफ्नै ढंगले गर्नुपर्‍यो।'
 
काठमाडौंमा आफूले नभई अध्यक्ष समूहले एक्लौटी रुपमा गुटको भेला गरेको उनले बताए। अध्यक्ष गुटको भेलामा सहभागी हुन नपाएकाहरूलाई आफूले सम्हालेको उनको दाबी छ। 
 
'यही असारको सात गते आफूलाई अध्यक्षका नजिक हौं भन्नेहरूले अत्यन्त उद्दण्ड तरिकाले एक्लै भेला गरे। 
 
हामी अरुसँंग मिसिदैनौं भन्ने हर्कत उनीहरूले गरे,' भट्टराईले भने, ‘उनीहरूले आन्दोलनको बेला पनि एक्लाएक्लै गरे। भूकम्पको उद्धार तथा राहत, पुनर्निर्माणको कार्यक्रम पनि एक्लाएक्लै गरे।
 
अनि भेला पनि एक्लाएक्लै गरे। अनि बाँकीले त स्वतः आफ्नै ढंगले गर्नुपर्‍यो।' उनले समानान्तर समिति अहिले पनि जिल्ला जिल्लामा सक्रिय रहेको बताए। भट्टराईले माओवादीको नेतृत्वमा नयाँ शक्तिको खाँचो रहेको पनि बताए। 
 
राजतन्त्रको अन्त्य, गणतन्त्र स्थापना, संघीय राज्य, संविधानसभाबाट संविधान निर्माणका एजेन्डा पूरा भएकाले बदलिँदो समयमा नयाँ एजेन्डासहितको आन्दोलन हाँक्न सक्ने शक्तिको नेतृत्व आफ्नो पार्टीले गर्नुपर्ने उनको भनाइ छ। 
 
'अहिलेको युग आर्थिक क्रान्ति र संवृद्धिसहितको नयाँ नेपाल निर्माणको युग हो। 
 
त्यसैले प्रत्येकले नयाँ बिचार, नयाँ सोच, नयाँ राजनीतिक कार्यदिशा, नयाँ संगठनको माग गर्छ,' उनले भने, ‘यो नयाँ युगको आवश्यकता पूर्ति गर्ने नयाँ राजनीतिक शक्तिको अहिले खाँचो छ।'
 
 उनले संविधान घोषणा गरेपछि बामपन्थी ध्रुवीकरणको प्रक्रिया सुरु गर्ने पनि दाबी गरे।






प्रतिक्रिया दिनुहोस्...