विषालु च्याउ खाँदा एकै गाउँका २१ बिरामी
फोटो :च्याउ खाएर विरामी परेका कैलालीको फल्टुडेका बासिन्दा, सेती अञ्चल अस्पतालमा उपचार गराउदै ।
धनगढी: कैलालीको सहजपुर गाविस ४ फल्टुडेका एकै गाउँका २१ जना विषालु च्याउ खाँदा विरामी परेका छन । गाउँ भरी च्याउ बाँडेर खाएपछि विरामी परेका २१ जनालाई ईलाका प्रहरी कार्यालय फल्टुडेले उद्धार गरी सेती अञ्चल पुर्याएको छ ।
शनिबार, सहजपुर गाविस कै चिउरीघारी सामुदायिक बनमा गोठाला गएका बेला, रुपकली दर्लामी र ललमति थापाले झण्डै तीन/चार किलो जंगली च्याउ पाएपछि टिपेर घर ल्याएका थिए । गाउँमा, राम्रो बस्तु बाँडेर खाने परम्परा अनुसार उनीहरुले आसपासका सबै परिवारमा च्याउ बाँडेका थिए ।
च्याउ खाएपछि सहजपुर गाविस ४ की डिलादेबी थापा, उनका ११ वर्षका छोरा विक्रम, ९वर्षका अमृत र ५ वर्षका हेमन्त विरामी परेका छन । यस्तै डिलादेबी दर्लामीमगर, उनका १० वर्षका छोरा पवन, ५ वर्षकी छोरी जानकी, निर्मला थापा र उनका ९ वर्षकी छोरी कृष्णा थापा, शान्ती थापा र उनकी १६ वर्षकी छोरी माया, ११ वर्षका छोरा निरज र ५ वर्षकी छोरी रञ्जीता विरामी परेका छन् ।
यस्तै ४५ वर्षकी देबरुपा थापा र उनका ११ वर्षका छोरा निज थापा, २८ वर्षकी हेमा थापा र उनकी ७ वर्षकी भदीनी चन्द्रा थापा पनि विरामी परेका छन । यस्तै ४० वर्षकी मनरुपा थापा, जानकी थापा, च्याउ ल्याएर बाँडने ४० वर्षकी रुपकली थापा र उनका १८ वर्षका छोरा ओमबहादुर दर्लामी पनि विरामी भएका छन् ।
‘८ बजेतिर खाना खायौं होला, खाना खाएर सुतेको त सबै जना कराउन थाले, बस्तीभरी रुने कराउनेको चिच्याहट भयो, कोही बान्ता गर्ने त कोही पेट दुख्यो भन्ने, मेरो पनि पेट दुखेर हैरान भए’ च्याउ ल्याएकी रुपकली दर्लामीले भनिन् । उनले गाउँका पुरुषहरु पनि कामका लागि बाहिर रहेकाले प्रहरीका जाने मान्छे कोही नभएपनि राती नै प्रहरीलाई खबर गरेको बताईन ।
विषालु च्याउको असर देखिने वित्तै सबैजना आधा घण्टा हिडेर ईलाका प्रहरी कार्यालय फल्टुडेमा पुगेपछि प्रहरीले सबैलाई आईतबार विहान तीन बजेतिर सेती अञ्चल अस्पताल पुर्याएको छ । च्याउ खाने सबै जनाको अवस्था खतरामुक्त रहेको सेती अञ्चल अस्पतालले जनाएको छ ।
