सोतीबजारमा बूढीगण्डकीको भेल पस्यो, ३३ घर विस्थापित
अविरल वर्षापछि बूढीगण्डकी नदीमा आएको भेलले गोरखाको थुमी गाविस–६ स्थित सोती बजार बगाएको छ ।
उर्लेको बूढीगण्डकीको भेलले गएराति १२ बजे बजार बगाएको हो । “भेलले पहिले पुछारबजार बगायो”, सोती बजारकी होटल व्यवसायी सपना पन्तले भने, “गाउँले बजार छाडेर जङ्गलमा बसेका छन् ।” सोती बजारमा ३३ वटा घर थिए । तीमध्ये पाँचवटाभन्दा धेरै बाढीले बगाएको हो ।
उर्लेको बूढीगण्डकीको भेलले गएराति १२ बजे बजार बगाएको हो । “भेलले पहिले पुछारबजार बगायो”, सोती बजारकी होटल व्यवसायी सपना पन्तले भने, “गाउँले बजार छाडेर जङ्गलमा बसेका छन् ।” सोती बजारमा ३३ वटा घर थिए । तीमध्ये पाँचवटाभन्दा धेरै बाढीले बगाएको हो ।
गाउँलेहरु केओरपानी र भलाकस्वाँरा जङ्गलमा सुरक्षित बसेको पन्तको भनाइ छ । भूकम्पले चिराचिरा परेको जमिनमा बूढीगण्डकीको भेल पसेपछि बजारका केही घर बगेका हुन् । भेलले कच्ची घरमा क्षति पुर्याएको छ ।
बूढीगण्डकीको बाढीले बजार क्षेत्र कटान गरिरहेकाले बाँकी घर पनि बग्ने खतरा रहेको पन्तले बताउनुभयो । नेपाली सेना र प्रहरीको टोलीले स्थानीयवासीलाई सुरक्षित ठाउँमा राखेको छ ।
आज बिहान सोती पुगेको सेना, प्रहरीको टोलीले बाढीबाट जोगिएका घरभित्र रहेका सामग्री निकालेको थियो । बूढीगण्डकी उर्लेर सोती बजारमा बाढी पसेको जानकारी पाएपछि मान्वुदेखि सेना, प्रहरीको टोली पुगेको थियो ।
बजार क्षेत्रमा पसेको पानीको बहाव अझै घटेको छैन । आकाशबाट पानी पर्ने क्रम रोकिएकाले केही घन्टामा नदीमा पानीको बहाव घट्ने पन्तले जानकारी दिनुभएको छ । “गाउँलेहरु त्रासमा छन्”, उनले भने, “भूकम्पले बचेको घर बाढीले लग्यो ।” सेना, प्रहरीको १० जनाको टोली सोतीबजार क्षेत्रमा खटिएको भैरवी दल गणका गणपति प्रमुख सेनानी प्रेमबहादुर थापाले बताए ।
साथै, सोतीबजार क्षेत्रमा इलाका प्रहरी कार्यालय आरुघाटबाट ११ जना प्रहरीको टोली पठाइएको छ । प्रहरी चौकी आर्खेतबाट पनि प्रहरी खटाइएको इलाका प्रहरी कार्यालय आरुघाटका प्रहरी निरीक्षक रवीन्द्र खनालले बताए ।
स्थानीय सोती खोलामा पनि भेल बढेको खनालको भनाइ छ । स्थानीयवासीलाई बाढीबाट जोगाएर सुरक्षित ठाउँमा राखिएको प्रमुख जिल्ला अधिकारी उद्धवप्रसाद तिमल्सेनाले बताए । रासस
