आकाशमा अचम्मको इन्द्रेणी
फोटो :दमौलीका एक युवक आकाशमा देखिएको अनौठो दृश्य हेर्दै।सौजन्य: विकास अधिकारी
दमौली: तनहुँ सदरमुकाम दमौलीमा बुधबार दिउँसो चर्को घाम थियो। यहाँको तापक्रम ३३ डिग्री सेल्सियस थियो।
जोकोही पनि हत्तपत्त सडकमा निस्कन हिचकिचाउने बेला थियो।
मध्याह्नतिर एकाएक प्रायः सबै बजारबासीका आँखा आकाशतिर तेर्सिन थाले। विद्यालय, पसल, सडक तथा खुला स्थान जताततै मानिसले आकाशतिर आँखा लगाउँदै गरेको दृश्य यत्रतत्र देखिएको थियो।
आकाशमा कहिल्यै नदेखिएको दृश्य देखेपछि सनग्लास लगाएरै भए पनि दुर्लभ दृश्य नियाल्ने मौका छाडेनन् दमौलीबासीले।
सूर्यको ठीक मुन्तिर बाक्लो इन्द्रेणी आकारको घेरा देखेपछि व्यास ११ का भरत गुरुङले फेसबुकमा पोस्ट गरिहाले, ‘हैन के भाको यस्तो ?
अहिलेसम्म भएको थिएन । एकपटक आकाशतिर हेरिहाल्नुस् त।' उनको स्टाटसमा कमेन्टको ओइरो लागिहाल्यो।
ठीक त्यसैबेला सत्यवती उच्च माविकी शिक्षिका सराह ढकालले आफ्नो क्यामेरामा कैद गरेको दृश्य फेसबुकमा पोस्ट गरिन्।
पानी पर्दा इन्द्रेणीमात्र देखेका दमौलीबासीका लागि त्यो दुर्लभ दृश्य थियो।
दिउँसो एक बज्दा दमौलीबासी अधिकांशका फेसबुक वाल सुनौला दृश्यले भरिइहाले। सबै आफ्नो अनुभव सेयर गर्दै अड्कलबाजी गरिरहेका भेटिन्थे।
राष्ट्रपतिद्वारा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भएको सुन्न बसेका बुढापाका पनि त्यो छाडेर आकाशमा देखिएको दृश्यका कारणबारे अड्कलबाजी गरिरहेका भेटिए।
'अब पृथ्वीमा प्रलय आउन लाग्यो', व्यास १० को एक चिया पसलमा भेटिएका वृद्धले ठोकुवा गरे, ‘यो त्यसैको लक्षण हो।'
पराशर कलेजमा संवाददाता पुग्दा त्यहाँका प्रिन्सिपल अमृत भण्डारी र विज्ञान शिक्षक दिवस खनाल पनि त्यसैबारे चर्चा गर्दै थिए।
खनालले भने, ‘ओजन तहनजिकै जम्मा भएको फोहोरका कारण यस्तो भएको हो।'
उनले प्रकाशमा सातवटा रङ मिलेर बन्ने दृष्टान्त दिँदै पानी परेका बेला प्रकाशलाई अवरोध गर्दा सात रङमा फैलिएजस्तै ओजोन तहमा फोहोर जम्मा हुँदा त्यसले पनि प्रकाशलाई अवरोध गरेर इन्द्रेणी रङ देखिएको प्रस्टीकरण दिए।
शिक्षक खनालले सूर्यकै मुन्तिर देखिएको घेराको कारणबारे भने अनुसन्धान हुनुपर्ने बताए।
तनहुँ, लमजुङ र कास्कीका धेरैजसो भागबाट देखिएको सूर्यमुन्तिरको इन्द्रेणी रङको घेरा यसअघि कहिल्यै नदेखिएको दुर्लभ दृश्य थियो।
यसको कारणबारे विभिन्न अड्कलबाजी भैरहँदा विज्ञहरूले अनुसन्धान गरेर वास्तविकता सार्वजनिक गर्नुपर्ने व्यास नगरपालिका निर्बुका विकास अधिकारीले बताए।
