बाइक किन्दै हो? विचार पुर्‍याउनुस्


काठमाडौं- मनकामना मोटरसाइकल वर्कसप, अनामनगरमा दिनेश राईले आफ्नो पल्सर धुलाउँदै थिए। 'भर्खर किनेको बाइक सफाचट राख्नु पर्योा नि,' बाइकको छेउमै उभिएका दिनेश भन्दै थिए, 'बेलाबेलामा सर्भिसिङ गर्योब भने बाइक धेरै टिक्छ।'

उनलाई बाइकमा हिँड्न रमाइलो लाग्छ। 'बाइक राइडिङ' उनको सोख पनि हो। उनी लामो यात्रा गर्न मन पराउँछन्। 'माइलेज कति दिन्छ?' छेवैमा बसेका राकेश गोलेले सोधे। 'माइलेज राम्रो छ,' दिनेशले थपे, 'माइलेजमा स्प्लेन्डरलाई कसैले भेट्दैन।' दिनेश हाँस्दै थपे, 'स्प्लेन्डरलाई तेल सुघाउँन मात्र पर्छ रे, आफैं हुँइकिन्छ।' ७०–८० सम्म माइलेज दिने दिनेशले बताए। २०–२५ माइलेज दिने यामाहा ब्रान्डको बाइक किनेका गोले भने पछुतो मान्दै थिए। 'साथीको लहैलह र आकर्षक विज्ञापन देखेर यामाहाको इन्टाइसर बाइक किने,' उनले भने 'के गरौं, बेच्यौं भने मूल्य पर्दैन, नबेचौं माइलेजका कारण दैनिक खर्च धान्नै नसकिने भो।' दिनेशले आफ्नो काकाको कुरा सुनाए। उनको काकासँग अहिले ११ लटको स्प्लेन्डर बाइक छ । काकाले बाइक बेच्न खोजेछन्। ६० हजारसम्म हाल्छु भन्दै ग्राहक आए तर काकाले दिएनन्। उनलाई थाहा थियो, यत्तिको मजबुत बाइक अर्को पाइँदैन र, रिसेल मूल्य राम्रो छ। यी दुई पात्र जस्तै बाइक चलाउनेको विषय एउटै हुन्छ, बाइकको मूल्य, माइलेज, मोडल, आरामदायी, रि–सेलिङ मूल्य, सहज पार्टपुर्जा र बिक्रीपछिको सर्भिस। नयाँ युवाहरू बाइकको माइलेजसँगै स्टाइलिस पनि हेर्छन्। आकर्षक लुक्स, चलाउनमा आरामदायी बाइकले युवालाई तान्ने गरेको छ। नेपालीको मध्यम वर्गको यातायातको साधन बनेको मोटरसाइकलको आयात हरेक दिन बढ्दो छ। आयातसँगै बाइक छानिछानी किन्ने चलन पनि बढ्दो छ। नेपालमा 'इकोनोमिक' बाइक धेरै चल्ने गरेको बाइक सेलर बताउँछन्। नयाँ बाइक किन्नेका लागि दिनेशको सुझाव छ, 'हिरो, होन्डा, बजाज, सुजुकी जस्ता बाइक राम्रो छन्।' कारण, अरुभन्दा यी मोटरसाइकल सस्तो, माइलेज धेरै, आरामदायी यात्रा आदि। नेपालीको आफ्नो आयस्रोत पनि भ्याउने खालका छन्। उनले थप सुझाव पनि दिए, 'यामाहा ब्रान्डका चाहिँ नकिन्नू। याहामामा यस्ता केही सुविधा छैन भने पनि हुन्छ। पिकअप भने केही राम्रो छ।' नेपालमा सबैभन्दा धेरै बिक्री हुने बाइक पनि हिरो, होन्डा, बजाज र सुजुकी नै हुन्। नेपालमा अधिकांश बाइक होन्डा, हिरो, बजाज लगायतका छन्। बबरमहलको सुनिल वासिङ सेन्टरका मिस्त्रीले भने, 'यी बाइक सस्तो छन्, माइलेज धेरै दिन्छन्, रिसेलिङ मूल्य धेरै छ।' सेकेन्डहेन्ड बाइक पनि तुरुन्तै बिक्री हुन्छन्। त्यो पनि राम्रो मूल्यमा। तर राम्रो नभएकाले यामाहाको बिक्री भने धेरै कम छ। बजारमा नयाँ नयाँ बाइक भित्रिरहेका छन्। अहिले केजिएम ड्युक काठमाडौंमा चलेको बाइक हो। सहरको लागि उपयुक्त यो बाइक आकर्षक मोडलमा पाइन्छ। राम्रो फ्रेमिङ छ। यो बाइकलाई मजबुत र दरो भएको यसका चालक बताउँछन्। यसले डकार र्या लीमा समेत प्रतिस्पर्धा गरेको थियो। नेपालको भूगोलको हिसाबले अन्य बाइक पनि उपयुक्त छन्। भिआर अफरोडको लागि राम्रो मानिन्छ। मोनो सस्पेन्स राम्रो भएको यो बाइक उकालो, ओरालो खाल्डाखुल्टीमा दौडाउन उपयुक्त छ। सिबिजेडलाई पनि राम्रो बाइकमा लिन्छन् युवा। यो आकर्षक मोडल, चलाउन आरामदायी, राम्रो पिकअप भएको र यसका पार्टपुर्जा सस्तोमा पाइने एक चालकले बताए। लामो सफरको लागि टेरेनको बुलेट बाइकको नाम लिन्छन् युवाहरू। लामो बाटोमा स्पिड चलाउन यो बाइक उपयुक्त छ। यामाहा पनि नेपालमा चल्दै आएको बाइक हो। तर नेपालमा अरुभन्दा कम बिक्री हुने गरेको बाइक सेलर बताउँछन्। यसको प्रमुख कारण हो यामाहामा अरु बाइक जस्तो रिसेल मूल्य छैन। '२० प्रतिशत पनि छैन रिसेल मूल्य,' दिनेशले भने, 'महँगो पनि उस्तै छ। ग्राहक पनि कम आउँछन्। माइलेज पनि धेरै कम।' सुनिल वासिङ सेन्टरका मिस्त्रीले पनि यामाहा कम चलेको बताउँछन्। उनले यसको रिसेल म्यालु नभएको, युवाको कम रोजाइमा परेको बताए। 'केही वर्ष अगाडि यामाहाको इन्टाइसर बाइक ल्याउँदा कम्पनीले गरेको धेरै हल्लाका कारण बिक्री भए,' गोलेले भने 'ज–जसले किने अहिले सबै पछुताइरहेका छन्।' पुतलीसडकस्थित स्पिड इन्टरनेसनलका सञ्चालक मिलन ज्ञवाली पनि यस्तैमध्येका एक हुन्। उनले अहिले इन्टाइसर बाइक छाडेर गाडी किनेका छन्। यामाहाका बाइक मात्र होइन यसका स्कुटरमा पनि धेरै समस्या भएको उपभोक्ताको गुनासो छ। यामाहाको फेजर रेज स्कुटर यस्तै समस्याको जड हो। ग्लोबल आइएमई बैंकमा कार्यरत अनिता राजभण्डारीले फेजर रेज स्कुटरको एयरफिल्टर प्रत्येक महिना फेर्नुपर्ने बताइन्। 'महिनाको ५–७ सय रुपैयाँ त फिल्टर फेर्नै लाग्छ,' उनले भनिन्, 'माइलेज पनि कम दिने हुनाले स्कुटर धान्नै गाह्रो छ।' यो ब्रान्डका अन्य स्कुटर पनि होन्डा, हिरो होन्डा, बजाजका जस्ता सुविधायुक्त छैनन्। मोरङ अटोले बिक्रीपछिका सेवा पनि राम्रो नदिने उनले बताइन्। सर्भिसिङ गर्दा मजदुरले गर्ने लापरबाहीले स्कुटर कोरिने गरेको उनको आरोप छ। यातायात व्यवस्थापन विभागको तथ्यांकअनुसार नेपालमा बाइक आयात हरेक वर्ष तीव्र गतिमा बढ्दो छ। चालु आर्थिक वर्षको पहिलो चार महिनाको तथ्यांकअनुसार सो अवधिमा ७५ हजार १ सय २३ वटा मोटरसाइकल भित्रिएका छन्। यो सम्पूर्ण गाडी आयातको ८५ प्रतिशत हो। विभागको चार महिनाको तथ्यांकअनुसार ८७ हजार ७ सय ५४ वटा गाडी आयात भएका छन्। जसमा ७५ हजार १ सय २३ वटा मोटर साइकलमात्र छन्। गत आर्थिक वर्षमा १ लाख ६३ हजार ९ सय ४५ बाइक भित्रिएका थिए।




प्रतिक्रिया दिनुहोस्...