दोलखा भीमसेनको पसिना


महाभारत ग्रन्थको महत्त्वपूर्ण पात्र हुन्, भीमसेन। पाण्डुद्वारा सन्तान नहुने भएपछि नियोग प्रथाद्वारा कुन्तीलाई सन्तान जन्माउन कुलका वरिष्ठ सदस्यहरूले अनुमति दिए। 
 
प्राचीन आर्यहरू नियोग प्रथालाई सम्मानपूर्वक हेर्थे। एउटी महिलाले परिवारको आवश्यकताअनुसार तीन पल्टसम्म फरकफरक पुरुषद्वारा नियोग प्रथा अपनाएर सन्तान जन्माउन सक्थिन्। 
कुन्तीले पाण्डुको अनुमति लिएर युधिष्ठिर (धर्मराजका पुत्र) भीमसेन (वायुका पुत्र) र अर्जुन (इन्द्रका पुत्र) लाई जन्माइन्। आफ्नी सौता माद्रीलाई पनि आफूले जानेको मन्त्र प्रयोग गर्न दिइन्। 
 
अश्विनीकुमारद्वारा गर्भिणी भएकी माद्रीले जुम्ल्याहा सन्तान नकुल र सहदेव जन्माइन्। यसरी राजा पाण्डुका पाँचजना सन्तान पाण्डवका नामले प्रसिद्ध भए। कुन्तीले विवाहपूर्व नै सूर्यद्वारा कर्णलाई जन्माएकी थिइन्। 
 
भीमसेनको जैविक बाबु वायु देवता भएकाले उनी हावा सरह नै छिटो र फुर्तिलो थिए। ठूलो कदका भीमसेनको वलिष्ठ शरीर र प्रचुर भोजन ग्रहणको वारेमा विभिन्न किंवदन्तीहरू प्रचलनमा छन्।
 
उनको जन्ममा घटेका अलौकिक घटनाहरूको वर्णन महाभारतमा पाइन्छ। जन्मिएको दसौं दिनमैं भीमसेन आमा कुन्तीको कोखबाट खसे। महाभारतमा वर्णन भएअनुसार कुन्ती छोरो भीमलाई काखमा लिएर सुताउँदै थिइन्। 
 
बाघको गर्जनले आत्तिएर उठ्दा बच्चो काखबाट चिप्लेर ढुंगामा खस्यो, अत्तालिँदै कुन्तीले बच्चो भीमलाई उठाइन्। भीमको बज्रजस्तो शरीरको चोट चट्टानलाई पर्दा चट्टान टुक्राटुक्रा भयो। र आमा कुन्ती आफ्नो छोराको वलिष्ठ शरीर छामेर एकपल्ट फेरि प्रफुल्ल भइन्। 
 
भीमको भोजनप्रति विशेष लगाव थियो। भोजको आमन्त्रण भएको ठाउँमा जान उनी सधैं आतुर हुन्थे। गुरु द्रोणाचार्यबाट अस्त्र र शस्त्रको शिक्षा प्राप्त गरेका भीमले धनुर्वेद र गदा युद्धबारे विशेष निर्देशनहरू राजर्षिबाट पनि प्राप्त गरेकाले युद्धकलामा निपुण थिए।
 

भीमसेनको पहलमानको जत्रो शरीर देखेर उनको प्रतिद्वन्द्वीहरू डरले थरथर हुन्थे। दुर्योधन र भीमसेनको जन्म एकैदिन भएको थियो, त्यसैले जे गर्दा पनि दुवैलाई दाँज्ने गरिन्थ्यो। दुर्योधन इर्ष्‍यालु स्वभावका थिए। सानैदेखि उनी पाण्डु पुत्रहरूको रिस गर्थे। पहलमानजस्ता भीमसेनको शरीर र बल देखेर उनलाई जलन हुन्थ्यो। 
 
दुर्योधनले आफ्ना मन मिल्ने भाइहरूसँग सल्लाह गरेर भीमलाई विष हालेको खाना खुवाएर नदीमा फालिदिने योजना बनाए। एकपल्ट दुर्योधनले गंगा तटको प्रमाण कोटी तीर्थमा मनोरञ्जनको विभिन्न खेल र खानपानको व्यवस्था गरे। 
 
पाण्डवहरूलाई त्यहाँ सम्मिलित हुने निम्तो दुर्योधनले दिए। सिपालु भान्छेहरूले टोकेर, चुसेर, तारेर, पिएर, खाने खानाहरू तयार पारेका थिए। उदकक्रीडन नामको त्यस ठाउँमा दुर्योधनले पौडी खेल्न, मन बहलाउने रङ रलिया गर्ने सबै चीजको बन्दोबस्त गरेका थिए। दुर्योधनले भीमलाई एक्लै लगेर विष हालेको खिर खान दिए। 
 
जलक्रीडापछि भीम लठ्ठ परे। कसैले नदेखेका बेलामा दुर्योधनले भीमलाई लहराले बाँधेर नदीमा फालिदिए। भीम नागलोकमा पुगे। सबै नागहरूले भीमलाई डस्न थाले। विषले विषलाई नष्ट गर्छ भने झैं सर्पहरूको जंगम विषले भीमले खाएको स्थावर विषलाई नष्ट गरिदियो।
 
भीम त फेरि तगडा भएर उठेर रिसाउँदै सर्प समात्दै भुइँमा पछार्दै गर्न थाले। भीमको चर्तिकलाको खबर नागराज बासुकीकहाँ पुग्यो। त्यही बसिरहेका अर्का नाग आर्यकले पनि भीमलाई देखे। पृथा (कुन्ती ) का बाबु सुरसेनको हजुरबुबा नाग आर्यकले भीमलाई चिने। आफ्ना दौहित्र अर्थात् खनातिलाई उनले अँगालो मारे। 
 
सञ्चो बिसञ्चो वन, दरबार र कुन्ती सबैको खबर सोधेर भीमलाई नागराज बासुकीले विशेष कुण्डको रस पिउन दिए। नागलोकमा भएका ती कुण्डको रस पिउँदा हजार हात्तीको बल प्राप्त हुन्थ्यो। 
 
पाण्डुनन्दन भीमले आठवटा कुण्डको रस पिए र त्यही सुते। सात दिन सात रातसम्म निदाएर आठौं दिनको दिन भीमसेन उठे र आफ्नो घर गए। चिन्तामा डुबेकी कुन्ती प्रसन्न भइन्। 
 
महाभारतमा भीमसेनको अथाह बलको उल्लेख ठाउँठाउँमा छ। पञ्च पाण्डवमध्येका भीमसेनको पूजा व्यापारीवर्गमा प्रचलनमा छ। वलिष्ट, शक्तिशाली भीम व्यापारीका इष्टदेवता कसरी भए? मननयोग्य कुरा छ।
 
काठमाडौं उपत्यकाका विभिन्न भीमसेनस्थानका वास्तु शैली र मूर्तिहरू नेपालका अन्य स्थानका भन्दा भिन्न छन्। भीमसेनले कीचकलाई मार्न लागेको रूप दर्शाउने ठूलो मूर्ति भीमसेन स्थानहरूमा स्थापित छन्। 
 
काठमाडौंको भीमसेनस्थानको मन्दिर, पाटन मंगलबजारको भीमसेनस्थान, भक्तपुर दत्तात्रय मन्दिर अगाडिका भीमसेनस्थान सबैमा ठूलो आकारको भीमसेनले गोडाले कीचकलाई कुल्चेको र एक हातमाथि उचालेर हान्न लागेको दृश्य देखाइएको छ। 
 
द्रौपदी र अन्य चार दाजुभाइ युधिष्ठिर, अर्जुन, नकुल र सहदेवका ससाना ढुंगे मूर्तिहरू स्थापित गरिएका छन्। दोलखाको भीमसेनको मन्दिर र प्रतिमा भने एकदमै फरक शैलीको छ।
 
कुनै आकृति नकुँदिएको सादा कालो पत्थरलाई भीमसेनको स्वरूपमा आह्वान पूजा गरिन्छ। माथिल्लो भाग शिरजस्तै सानो र तल्लो भाग शरीर जस्तो देखिने निख्खर कालो पत्थरमा भीमसेनको पूर्ण शक्ति भएको विश्वास गरिन्छ। 
 
नेपालमा घट्ने शुभ अशुभ घटना, राष्ट्र प्रमुखलाई आईपर्ने संकट सबैको संकेत दोलखा भीमेश्वरको शीला स्वरूपमा प्रकट हुने विश्वास नेपाली जनमानसमा छ। 
भीमेश्वरको शिलामा पसिना आउँदा के के घटना घटे भनेर तयार पारिएको सूचीपुस्तक, पत्रपत्रिकामा प्रकाशित भइरहेका छन। जस्को विवरण यस प्रकार छ: 
 
१) १९९० साल महाभूकम्प 
२) १९९७ साल सहिदलाई मृत्युदण्ड 
३) २००७ साल प्रजातन्त्रका लागि क्रान्ति 
४) २०११ साल राजा त्रिभुवनको मृत्यु 
५) २०१५ साल राजनीतिक उतारचढाव 
६ वि.स. २०१८ सालमा भीषण बाढीपहिरो 
७) २०२८ सालमा राजा महेन्द्रको मृत्यु 
८) २०३६ सालमा जनमतसंग्रह 
९) २०४५ सालमा भूकम्प र दोलखामा पहिराको ठूला घटना 
१०)२०४६ सालमा पञ्चायतको अन्त्य र बहुदल प्राप्त 
११) २०५८ सालमा जेठमा राज परिवारको हत्या 
१२) २०६४ सालमा राजसंस्थाको अन्त्य र गणतन्त्र प्राप्ति। 
काठमाडौंबाट एक सय ३३ किलोमिटर टाढा रहेको दोलखा जिल्लाको चरीकोट सांस्कृतिक र प्राकृतिक दुवै सम्पदाको लागि प्रसिद्ध छ चरीकोट। थुप्रै हिमशृंखला मध्य गौरीशंकर हिमालको साह्रै सुन्दर दृष्य चरीकोटबाट अवलोकन गर्न सकिन्छ। 
 
२०५८ सालमा दोलखा भीमसेन मन्दिरपरिसरबाट सातवटा विविध मूर्तिहरू चोरिएका घटनाहरूले त्यहाँको सुरक्षामा ठूलो प्रश्न चिह्न लागेको छ। नाग समातिरहेको क्षेत्रपाल, गणेश, कुमार दुईवटा सिंह नागराजको मूर्ति आजसम्म फेला परेको छैन। मठ मन्दिरको संरक्षण र सुरक्षाको जिम्मा स्थानीय बासिन्दाको पहलमा राष्ट्रियस्तरबाटै हुनु पर्छ। 
 
नेपालका भीमसेन मन्दिरको वास्तुशैली, अन्य छाने, तले (प्यागोडा) शैलीको मन्दिरभन्दा केही भिन्न छ। समकोण आकारमा निर्मित छाने शैलीका भीमसेन मन्दिरको भुइँतला खुल्ला रूपमा खाली छोडिएको हुन्छ र पहिलो तलाको बीच भागमा फराकिलो गर्भ गृहमा मूर्ति स्थापना गरिएको हुन्छ। 
 
महाभारतमा वर्णन गरिएअनुसार नै पात्रहरूमध्ये पाण्डव र द्रौपदीको साना ठूला र मझौला आकृतिका मूर्तिहरू भीमसेन मन्दिरमा स्थापना गरिएका हुन्छन्। विशाल शरीर भएको भीमसेनले विराट राज्यका सेनापति कीचकलाई वध गर्न लागेको दृश्यअंकित मूर्ति भीमसेनस्थानमा स्थापना गरिएको हुन्छ। 
 
काठमाडौं, पाटन र भक्तपुरमा मल्लकालमा स्थापित भीमसेन मन्दिरहरूमा कीचकवधकै घटनालाई दर्शाइएको मूर्ति स्थापित छ। काठमाडौंको भीमसेन मन्दिर प्रताप मल्लको समय इस्वी संवत १६३५, पाटनको भीमसेन मन्दिर श्री निवास मल्लको समयमा इस्वी संवत् १६८१, र भक्तपुरको भीमसेन मन्दिर सत्रौं शताब्दीमा बनाइएका हुन्। 
 
दोलखा भीमेश्वर मन्दिरका निर्माण भने इस्वी संवत् १५२० मा भइसकेको थियो। दोलखाको मन्दिरको वास्तुशैली र गर्भगृहको मूर्ति काठमाडौंको भीमसेन मन्दिरभन्दा फरक छ। यज्ञमण्डप शैलीमा निर्मित मन्दिरमा शीला स्वरूपको भैरव स्थापित छ। 
 
दोलखा भीमेश्वरको कृपाले व्यापारमा सफलता प्राप्त हुने विश्वासले काठमाडौं उपत्यकाका व्यापारीहरूले त्यहाँको मन्दिरमा लगातार दर्शनपूजनको कार्य गरिरहन्छन्। आफैं उत्पति भएको साक्षात भैरवसमक्ष भाकल गर्ने र पूरा भएपछि पूजा गर्ने प्रचलन निकै छ।
 
प्राचीन समयदेखि नेपालको तिब्बतसँग व्यापारिक सम्बन्ध थियो। कठिन बाटो र सुरक्षाको दृष्टिले गर्दा ज्यान हत्केलामा राखेर जानुपथ्‍यो। 
 
सुन चाँदीजस्ता बहुमूल्य धातु र अन्य वस्तुहरू ओसारपसार गर्दा बलवान् रक्षकहरूको मद्दत लिइन्थ्यो। गुन्डाहरूसँग भिड्न बलको पनि आवश्यकता पर्ने भएकोले वलिष्ठ शरीर भएका भीमसेनको आह्वान र पूजन गरेको देखिन्छ। 
 
महाभारतका प्रमुख पात्र भीमसेनले आजसम्म पनि पूजा र सम्मान पाइरहनु सनातन धर्म र हाम्रो समाजको विशिष्टता नै हो। पाटनमा आयोजना गरिने भीमसेनको रथयात्राबाट भीमसेन सम्प्रदायको प्रभाव ललितपुरमा बढी भएको प्रष्ट छ। 
 
लिच्छविकालमा भीमसेनको पूजा गर्ने चलन थिएन। देवमाला वंशावलीमा वर्णन भएअनुसार कान्तिपुर र ललितपुरको भीमसेन मन्दिरको निर्माण बाह्रौं शताब्दीमा भइसकेको थियो। मल्लकालमा भने भीमसेनको पूजा निकै प्रचलित भएको देखिन्छ।
नेपालमा घट्ने शुभ अशुभ घटना, राष्ट्र प्रमुखलाई आईपर्ने संकट सबैको संकेत दोलखा भीमेश्वरको शीला स्वरूपमा प्रकट हुने विश्वास नेपाली जनमानसमा छ।  भीमेश्वरको शिलामा पसिना आउँदा के के घटना घटे भनेर तयार पारिएको सूचीपुस्तक, पत्रपत्रिकामा प्रकाशित भइरहेका छन। 
व्यापार व्यवसायमा लागेका समुदायले आफ्नो व्यवसाय गर्ने थलोमा भीमसेनको मूर्ति र चित्रमा पूजा गर्ने परम्परा उपत्यकामा छ। वलिष्ट शरीर भएका भीमसेनले दुवै हातका काखीमुनि र दुवै तिघ्राले विभिन्न वलिष्ठ जनावरहरू (बाघ, हात्ती, सिंह, घोडा र सर्पहरू) च्यापेको दृश्य अंकित चित्रलाई पसलपसलमा स्थापना गरेर पूजा गरिन्छ। 
 
नेपालका नेवार समुदायमा भीमसेन पूजा बढी लोकप्रिय हुनुको प्रमुख कारण त्यस समुदायमा प्रचलित व्यापार पेसा नै हो। व्यापारीहरूको संरक्षक देवताको रूपमा भीमसेन प्रसिद्ध छन्। 
 
यसरी कृष्ण सम्प्रदायले गहिरो जरो गाडेर मौलाएको बेलामा उनका परिवारका सदस्यहरू र संगी साथीहरूले समेत पूजा र सम्मान पाए। भीमसेन पूजाको प्रारम्भ महाभारतकालपछि नै भएको हो। 
 
नेपालमा भीमसेनलाई भैरव रूपमा पनि आह्वान र पूजन गर्ने चलन छ। भैरु पूजा भनेर भीमसेनका मूर्तिमा पनि पूजा गरिन्छ। बौद्ध धर्मावलम्बीहरूले विहारको प्रवेशद्वारमा शक्तिशाली भएकाले रक्षक देवताको रूपमा गणेश, महांकाल र भीमसेनको मूर्ति स्थापना गर्ने गर्छन्।
 
नेपालमा प्राचीनकालदेखि नै विद्यमान धार्मिक सहिष्णुताको यो ज्वलन्त उदाहरण हो। भीमसेन पूजा पनि नेपालमा मौलाएको धर्म र संस्कृतिको एउटा सुन्दर सम्मिश्रण हो। 






प्रतिक्रिया दिनुहोस्...