देखाइ र भोगाइमा फरक अमेरिका


अमेरिका आएको एक महिना मात्र भएको रहेछ । कामको खोजीमा भौतारिरहेको थियो उ । भेटमा मैले सोधी हाले, 'कस्तो लाग्यो त भाई अमेरिका ?'


'नेपालबाट सोचेजस्तो रहेनछ दिदी अमेरिका,' उसले खिन्न हुँदै जवाफ दियो । 'ल्याएको पैसा सकिन लागिसक्यो काम पाएको छैन । कलेजको फी तिर्न के ले, खानु के ले उसले लामो श्वास तान्यो ।' उसको अनुहारमा देखिएको चिन्ताले मलाई पनि कस्तो कस्तो असहज बनायो । विद्यार्थी भिसामा पढ्न आएको उ ।


औलामा गन्न सकिने धनीमानीबाहेक आम नेपालीका सन्तान कनीकुथी ऋण सहयोग जुटाएर अमेरिका आउँछन् । उनीहरुले आˆनो मात्रै होइन आफ्ना परिवारका सपनाहरु पनि साथमै ल्याउछन् । त्यो सबै पूर्ति गर्ने बोझले यस्तरी थिच्छ जसबाट उम्किन मुस्किल पर्छ । हो, नेपालबाट देखेजस्तो सजिलो पक्कै छैन अमेरिका ।


बाबुआमाको लालन पालनमा सिन्को नभाचेका युवाहरुमा एक्कासी आफ्नो अभिभावकत्व आफैमा परेपछि सजिलो कसरी हुन्छ र ? फेरि भनेजस्तो काम र काम अनुसारको पारिश्रमिक पनि पाउनु पर्‍यो । सपनामा सरर हवाइजहाज चढेर मोटर गाडीमा डुलेजस्तो सजिलो छैन अमेरिका । न त डलर फल्ने त्यस्तो कुनै रुख नै छ । जसरी पाकेको आँप टप्प टप्प टिपेजस्तो टिप्न सकियोस । दिउसो कलेज, रातीको काम । रेस्टुरेन्ट र ग्यास स्टेशनमा हप्ताको सातैदिन काम । उसैमाथि टुसुक्क नि बस्न नपाई थाकी मर्दा चाहिँ बल्ल बुझिन्छ वास्तविक अमेरिका ।

विद्यार्थीहरुले काम पनि स्वतन्त्र भएर गर्न पाइने कहाँ हो र ? नियमले तोकेको हप्ताको २० घण्टाले सबै आवश्यकताको पूर्ति नभएपछि लुकी चोरी काम गर्नै पर्‍यो । काम गर्न पाउने कानुनी कागज (वर्क परमिट) नभएपछि मालिकले जति दिन्छ उती नै हात थाप्नै पर्‍यो । फेरि कामको पनि के स्थायीत्व हुनु ? हायर फायर गर्न सक्ने अधिकार पूर्ण रुपले मालिकमा हुँदा काममा ढुक्क हुन सकिन्न । अमेरिकामा स्थायी बसोवासको कानुनी प्रावधानतिर लागि पर्दा अर्को जटिल समस्या थपिन्छ । निराश हुँदै भन्छन् उनीहरु 'ब्यर्थै आइएछ अमेरिका ।'



अमेरिकी अपराध मानिने कुलत र दुब्र्यसनतर्फ पनि नेपाली युवकहरुको संख्या बढ्दै गएको पाइन्छ । यहाँको स्वतन्त्रता र मनोरञ्जनलाई स्वच्छन्द भएर अंगाल्दा भविष्य अन्धकारतर्फ उन्मुख हुने ठुलो खतरा सदैव छ । डिभी भिसामा आउनेहरुको कथा व्यथा पनि पिडादायी छ । एक्लै आउनेको तुलनामा परिवारसहित आउनेको संघर्षको कथा आफ्नै छ । कागजपत्र हुने बित्तिकै सबै समस्याको समाधान जादू गरेझैं हुने पक्कै होइन । बसेर खान पाइदैन काम गर्नैपर्छ । अफिसियल काम पाउन यहाँकै शिक्षा चाहिन्छ । नेपालको शैक्षिक योग्यताले यहाँ मान्यता पाउने होइन । अमेरिकामा आज सबैभन्दा बढी नेपालीले काम पाएको र गरेको ठाउँ भनेको ग्यास स्टेशन हो ।

तर, ग्यास स्टेशनको काम ज्यान जोखिममा राखेर गर्नुपर्ने बाध्यता छ । पैसाको लागि लुटेराहरुले हत्या गरि मारेका छन्, यहाँ काम गर्नेहरुलाई । त्यसमा कतिपय नेपाली पनि परेका छन् । अमेरिकाको विभिन्न राज्यहरुको ग्यास स्टेशनमा नेपालीहरुको हत्या भएको समाचारमा पढ्नु भएकै होला । व्यवसायिक स्टोरहरुमा १०/१२ घण्टा उभिएर काम गर्नुपर्ने बाध्यता एक ठाउँमा छ भने नियम कानुन नबुझ्दा अन्योलका अवस्था हुने अर्को कुरा छ । आफ्नो देशभन्दा कहाँ हो कँहा टाढा सात समुन्द्रपारी फरक भुगोलमा शुन्यबाट नयाँ संसारको सिर्जना गर्न सजिलो हुँदैन । फरक रितिथिति, परम्परा र संस्कृतिसँग घुलमिल हुन समय लाग्छ । त्यसैले सोचेजस्तो सजिलो छैन अमेरिका ।

यसलाई बुझ्न र नौलो परिपाटीसँग भिज्न निकै ठूलो संयम र धैर्य चाहिन्छ । यी यावत समस्याहरुसँग जुध्न सक्दा ठीक छ नसक्नेले निराश भई आत्महत्यालाई अंगालिरहेको तितो यथार्थ हामीसँग छ । वास्तविकताभन्दा पर टिभी र सिनेमामा देखेजस्तो, केही नेपालीले नेपालीलाई देखाउने खोक्रो शान शौकतमा फुल बुट्टा भरेजस्तो होइन अमेरिका । २०/२५ लाख खर्च गरेर दलाल मार्फत लुकीछिपी आउने, बीचबाटोमै समातिने वा अलपत्र पर्ने नेपालीहरुको अमेरिकाप्रतिको क्रेज देख्दा चाहिँ दुःखका साथ भन्न मन लाग्छ- किन आउछौं अमेरिका ?

ए बाबा Û कसले बुझाउने उनीहरुलाई ? अमेरिकाको नकरात्मक पक्षको मात्र चित्रण गरेर पाठकलाई दिग्भ्रमित पार्न निश्चय नै मेरो उद्देश्य होइन । यहाँको वास्तविकतालाई उजागर गरेकी हुँ । तितो यथार्थलाई स्पष्ट पार्न खोजेकी हुँ । किनकी अमेरिकी कठिनाइहरु सँगको भुक्तभोगी म स्वयम हुँ । अमेरिका मेरो सपनाको देश न हिजो थियो न आज छ । समयको परिबन्दले अमेरिका बगाएको एघार वर्ष भएको छ । सुरुका दिनमा मास्टर्सको डिग्रीलाई एउटा कुनामा थन्क्याएर भारतीयको पर्स स्टोरमा घण्टाको ५ डलरमा सेल्स पर्सको रुपमा काम गर्दा प्रत्येक रात आँशुले सिरानी भिजेको पीडा कि त मलाई कि त त्यो सिरानीलाई नै थाहा छ । उत्तिनै खेरी देश फर्किहालु हुन्थ्यो । हुन त समय सधैं एकनासको हँुदैन । अमेरिकामा आज सामान्य सन्तोषको जीवन यापन गरिरहे पनि नेपाल र्फकने लालसा भने यथावत छ । उसो त यहाँ सम्पन्न जीवन बिताउने नेपालीहरु पनि रिटायर्ड लाइफ उतै बिताउने इच्छा व्यक्त गर्छन् ।

अमेरिका मात्र होइन विश्वको अरु देशबाट पनि नेपाल र्फकने इच्छा म जस्तै धेरै नेपालीको हुन सक्छ । तर देशमा आउन नसकेको संविधानले कतै आउलाउ यहाँ Û भनि औंला ठड्याए झै पो लाग्न थालेको छ अहिले त । सबल पक्षको कुरा गर्ने हो भने सशक्त नियम र कानुनको देश हो अमेरिका । प्रजातान्त्रिक पद्धतिमा कानुन भन्दामाथि कोहि छैन यहाँ । नागरिक हक अधिकार जसरी सुनिश्चित छ, उसैगरी समान रुपमा लागु पनि हुन्छ । विविध जाति, धर्म र संस्कृतिको समान रुपमा संगमस्थल हो अमेरिका । शान्ति छ ,सुव्यवस्था छ यहाँ । चर्काे जाम र हड्ताल छैन ।


हो मलाई पनि विश्वकै सवल राष्ट्र अमेरिकाको बासिन्दा हुँ भन्न पाउदा गर्वलेे छाती ढक्क फुल्छ । भौतिक सुख सुविधा र अवसर छ यहाँ । यहाँ आर्जेको शिक्षा, सीपको र अनुभवको संसारमै मान्यता छ । त्यसैले नेपाली मात्र होइन संसारका सबैजसो देशका मानिसहरुको सपनामा अमेरिका छ । उच्च शिक्षा अनुसारको काम, पेसागत दक्षता , ब्यवसायिक सफलता हुनेहरुको जीवनस्तर लोभ लाग्दो छ ।

खुशी लाग्छ-यस्तो लोभलाग्दो जीवन यापन गर्ने नेपालीको संख्या बढ्दै गइरहेको छ अमेरिकामा । तर यी सबल पक्षमा धेरै नेपालीको पहुँच पुग्न समय लाग्छ । अमेरिका संघर्षका केहि दशक बिताएका नेपालीहरुको अवस्था अलिक सन्तोषजनक पाइए पनि सुरुका दिनमा संघर्ष गर्नहरुको अवस्था टिठलाग्दो छ । मानिस स्वभावैले सुखी भई बाँच्न चाहन्छ । आखिर वास्तविक सुख भनेको के हो त्यसलाई राम्ररी चिन्नु पर्ने रै'छ । महत्वाकांक्षा राख्नु राम्रो हो तर आवश्यकताभन्दा बढी महत्वाकांक्षामा भौतारिनु ठीक होइन । अमेरिकालाई स्वप्न नगरी ठान्दै कल्पनाको दुनियाँमा मग्न भएर वास्तविक रुपमा बुझ्दै नबुझी फाल हाल्नु गलत सावित भएका धेरै उदारणहरु हामी माझ छ ।

दुई महिनाको फरकमा अमेरिकामा मोहन ओली र विष्णुहरि भण्डारीले आत्महत्या गरे । अमेरिका आएर आत्महत्या गर्नेहरुूको समाचार झन बढिरहेको छ । हुन त अमेरिका आउनुपर्ने आ-आˆनै रहर र बाध्यता होला । आफ्नै देशको आर्थिक, सामाजिक र राजनीतिक पक्षले पनि धेरै हदसम्म नागरिकलाई अमेरिकातर्फ घचेट्न भूमिका खेलेको होला । जे भएपनि अनेकौ थेग्न नसक्ने गहुग्राा बोझहरुले पिल्सेर डिप्रेसनको शिकार बन्नुभन्दा नेपालमै गुन्द्रुक र भात खाएर बस्नु ठीक होइन र ? अमेरिका आएर आफ्नो ज्यानलाई आत्महत्यामा फाल्नुभन्दा बरु अभाव, बेरोजगारी र समस्याका बीच आफ्नै देशमा संघर्ष गर्न राम्रो हैन र !
टेक्सास , अमेरिका ।
bitubaral@yahoo.com




प्रतिक्रिया दिनुहोस्...