जनयुद्ध दिवसमा प्रचण्ड–बाबुरामलाई सहिद पुत्रीको खुला पत्र
आदरणीय प्रचण्ड–बाबुराम अंकल, आज फागुन १ अर्थात् तपाईंहरुकै नेतृत्वमा जनयुद्ध सुरु भएको पवित्र दिन हो ।
जनयुद्ध गरिब नेपाली जनताले आफ्नो मुक्तिका लागि गरेको महान् पहल थियो । आजको दिनलाई हामी माओवादीहरुले आफ्नो इतिहासको गौरवशाली दिनका रुपमा लिँदै आएका छौं । जनयुद्धका क्रममा करिब दस हजार जनताका महान् छोराछोरीले बलिदानी गरे । सहिदहरुकै बलिदानको प्रतिफल आज नेपाल राजतन्त्रबाट गणतन्त्र भएको छ । यसो भन्न हामी बिल्कुल हिच्किउनु पर्दैन कि जनयुद्धले विकास गरेको चेतनाकै कारण आज नेपाली समाजको चेतनास्तर यो ठाउँमा पुगेको हो । भलै गणतन्त्रको फल जनताले चाख्न नपाएको किन नहोस् । तर दरबारको अँध्यारो कोठामा आमाको गर्भबाटै शासकको उदय हुने दिनको त अन्त्य भएको छ । माओवादी आन्दोलन साम्यवादी आन्दोलन हो । यसका धेरै पक्ष राम्रा र अनुकरणीय छन् । समाजमा दबिएका दलितले आफूलाई मानिस भएको ठान्न थालेका थिए । महिलाहरु बराबरीको अधिकार माग्ने हैसियतमा पुगेका थिए । मधेसी, जनजाति र सबै पिछडिएको वर्गले आफ्नो मुक्ति हुने सपना देखेको थियो । गरिबले चुल्हो बल्ने आशा पालेको थियो । तर विस्तारै महिलाहरु फेरि चुलोचौकामै सीमित हुन थालेका छन् । दलितहरुमाथिको अमानवीय व्यवहार फेरि बल्झिन थालेको छ । गाउँका मैला मानिसहरुलाई काठमाण्डुको सरकारले चिन्दैन । समग्रमा मानिसहरुको आशा कमजोर भएको छ । नेपाली समाजको अग्रगतिको यात्रा उल्टो दिशामा हिँड्न थालेको छ । जनयुद्धको २० वर्ष पुगेको अवसरमा म केही कुरा भन्न चाहन्छु । जुन मेरो अधिकार, कर्तव्य र जिम्मेवारी पनि हो । मैले अधिकार किन भनिरहेको छु भने मेरो प्रिय अभिभावक जनयुद्धकै क्रममा गुमाएको छु । जनयुद्धमा प्रियजन गुमाउने अरु धेरै छन् । सायद सबैको दिमागमा मेरैजस्ता कुराले घर गरिरहेका छन् । तपाईंहरुलाई पनि थाहा छ भरत ढुंगाना मेरो पिता हुनुहुन्थ्यो । तपाईंहरुले नेतृत्व गरेको जनयुद्धमा उहाँ सहिद हुनुभयो । बुबा नुवाकोटको जिविस सभापति हुनुहुन्थ्यो । व्यक्तिगत रुपमा नपुग्दो केही थिएन । सामाजिक मान, प्रतिष्ठा र हाइहाइ सबै थियो । एउटै थिएन, पैसा । जुन उहाँको प्राथमिकतामा कहिल्यै परेन । जिल्लाकै लोकप्रिय नेता हुनुहुन्थ्यो । हामी सानै थियौं तर सबैतिर उहाँकै चर्चा भएको थाहा पाउथ्यौं । जिविस सभापतिको कार्यकाल बाँकी छँदै उहाँ राजीनामा गरेर जनयुद्धमा लाग्नुभयो । बुबा जनयुद्धमा लागेपछि र अझ सहिद भएपछि हामीले भोगेका पीडा, दुःख र अपमानको कुरा छाडिदिनुस् । यसो भनेर मैले बुबाको जीवनको बदलामा अरु कुनै चिजको अपेक्षा गरेको भन्ने अर्थ नलगाइयोस् । हामी हाम्रो परिवार चलाउन आफैं सक्षम छौं, दुई छाक खान र एकसरो लगाउन कसैबाट आशा गर्नुपर्दैन । त्यसका लागि हामी सक्षम नै छौं । मैले यो पृष्ठभूमि किन तयार गर्दैछु भने मेरो बुबासहित आफन्त गुमाएका परिवारले के पाए ? त्यसको एकमुष्ठ जवाफ हामीलाई चाहिन्छ । हिजो परिवारको मूल मान्छेको बलिदान हुँदा गर्व गर्ने हामीहरु आज किन बुबा भएको भए… भन्ने अवस्थामा पुग्न बाध्य भएका छौं । यसो हुनुमा हामी सहिद परिवारको दोष हो ? तपाईं नेताजीहरुले आफ्नो जिम्मेवारी इमान्दारिपूर्वक पूरा नगर्दा उत्पन्न भएको अवस्था हो यो । तपाईंहरुलाई हिजो युद्धका बेला प्रियजन गुमाएका सहिद परिवार घाँडो हुन थालेको छ । युद्धमा लडेर अंगभंग भएका, घरबारविहीन भएका कार्यकर्ता बोझ भएको छ । म काठमाण्डु बसेको १० वर्ष बित्यो । यो अवधिमा मैले तपाईंहरुको व्यवहार र आनीबानीलाई नजिकैबाट हेरिरहेकी छु । तपाईंहरुलाई सामान्य मानिसबाट राष्ट्रिय राजनीतिको हिरो बनाउन भूमिका खेल्नेहरुको केही मतलब छैन । किन भने तपाईंहरुको सामीप्यता सहरका नवधनाढ्यहरुसँग छ । बारम्बार उनीहरुका हवेलीमा आराम गर्न जाने तपाईंहरुलाई गरिब वा सहिद परिवारका घरमा गएर एक रात बिताउन र उनीहरुका कुरा सुन्न केले रोकेको छ ? तपाईंहरुको आफ्नो शक्ति कमजोर भएकामा चिन्तित हुनुहुन्छ । त्यो स्वभाविकै पनि होला । तर किन आफ्नो शक्ति कमजोर भयो भन्ने विषयमा एक मिटेन घोत्लिएर कहिल्यै सोच्नु भएको छ ? तपाईंहरुका शक्तिका श्रोत जनयुद्धमा साथ दिएका कार्यकर्ता, जनता र शुभेच्छुकहरु थिए । शान्ति प्रक्रियामा आएपछि उनीहरुबाट टाढिनुभयो । जनता रिसाएको मौकाको फाइदा तपाईंका विरोधीले उठाइरहेका छन् । यदि फेरि जनतामा फर्कनु भएन, उनीहरुको पिर मर्काको साथी हुनुभएन भने तपाईंहरु अझै एक्लिँदै जानुहुनेछ । समय छँदै गम्भीर भएर सोच्नु देश, जनता र सबैको हितमा हुन्छ । समय घर्किएपछि घैंटामा घाम लाग्नु बेकार हुनेछ । तपाईंहरुलाई थाहा छ जनयुद्ध लडेका मानिसहरु समाजमा सबैभन्दा धेरै अपमानित छन् । हिजो उनीहरु समाजका लागि उदाहरणीय थिए । तर आज समाजमा सकैले पत्याउँदैन । उसको बोली बिक्दैन । माओवादीले विगतमा सामाजिक विकृतिमाथि प्रहार गरेको थियो । त्यसले मानिसहरुको मन जितेको थियो । जुवातास खेल्नेहरु माओवादीसँग थर्थरी काँप्थे । जाँड रक्सी खाएर श्रीमती कुट्नेहरुको माओवादीको नाम सुन्नेबित्तिकै सातो जान्थ्यो । चर्को ब्याज असुल्नेहरुको गाउँबाट भागाभाग मच्चिएको थियो । समग्रमा समाजमा शान्ति थियो, न्याय स्थापित भएको थियो । तर, दुःखका साथ भन्नुपर्छ जनयुद्धका बेला जुवाडेको मुख्यमा तास कोच्याउनेहरु आज उनीहरुसँगै खालमा भेटिन थालेका छन् । साइँलीको भट्टीमा घ्याम्पो फोर्नेहरु अहिले आफैं घ्याम्पोमा मुख डुबाएर घरमा श्रीमती कुटिरहेका छन् । जनयुद्धका बेला बाजा बजाएर विवाह गर्न बर्जित थियो । जनतालाई कम खर्चमा विवाह गर्न दबाब दिने नीति पार्टीको थियो । तर, आज तपाईंकै पार्टीका शीर्षस्थ नेताका छोराछोरीको करोड खर्च लगाएर विवाह हुन थालेको छ । राष्ट्रियताका लागि भारतसँग सुरुङ युद्ध गर्ने तपाईंको पार्टीका नेताका छोरा दुलाहा हुँदा भारतीय रुपैयाँको माला लगाएको कुराको सहरमा अझै चर्चा छ । हेलिकोप्टरमा जन्ती ओसार्नेदेखि एकैदिन तीनओटासम्म विवाह गर्ने कीर्तिमानी काम तापईंकै पार्टीका कार्यकर्ताबाट भएको छ । र, पार्टी प्यालेसमा तपाईंहरु आफैं जन्त जानुभएको छ । हिजो तपाईंहरुले जनवादी विवाहका नाममा दुई रुपैयाँको सिन्दुरमा कतिको विवाह गराइदिनुभएको थियो के त्यसको हेक्का गर्नुभएको छ ? बहुविवाह गर्नेमाथि असहिष्णु हुने तपाईंकै पार्टीका कतिले जनयुद्धमा सँगै मर्ने सँगै बाँच्ने कसम खाएर विवाह गरेकी श्रीमती छाडेर कान्छी भित्र्याएका छन् । पोलटिब्युरो सदस्यसम्मले छोरी उमेरकी युवतीलाई कान्छी दुलही बनाउँदा तपाईंहरुको के हेरेर बसिरहनु भएको छ ? के यसरी जनताको नेतृत्व गर्न सकिन्छ भन्ने लागेको छ ? मेरो निष्कर्ष के छ भने यसो हुनुमा मुख्य दोषी तापईंहरु नै हुनुहुन्छ । मूल शुद्ध भए पो धाराबाट शुद्ध पानी आउने हो । जब मूल नै धमिलो छ भने कसरी सङ्लो पानीको आशा गर्ने । अझै पनि सच्चिने समय छ । समयमै नसच्चिने हो भने ‘भीरबाट लड्न लागेको गाईलाई रामराम भन्न सकिन्छ, काँध थाम्न सकिँदैन’ भनेजस्तै अवस्था आउने छ । चेतना भया