घनिष्ठ साथीको अपहरण गरेर हत्या
फोटो :ललितबहादुर बुढा ( पतिको हत्यापछि बेहोस तिर्थकी पत्नी हरिमाया र उनका आफन्तहरु)
सुर्खेत : सुर्खेतको वीरेन्द्रनगरमा एक युवाको साथीले नै अपहरण गरेर हत्या गरेका छन् । वीरेन्द्रनगर–३ हिलेखाली निवासी २६ वर्षीय तिर्थ सुनारको आफ्नै साथीहरुले अपहरण गरेर बिहीवार राती हत्या गरेका हुन् । स्थानीय सोमजाज गिरीले बिहीवार साँझ ५ बजे तिर्थको घरमै गएर काम छ भन्दै स्कुटरमा चढाएर लगेपछि राति कुटपिट गरी हत्या गरेको तिर्थका आफन्तले बताएका छन् । वीरेन्द्रनगरकै कालिङ्चौकमा रहेको एक होटलमा लगेर सोमराज र उनका भाइ युवराज गिरीले तिर्थको हत्या गरेको आफन्तको भनाइ छ । कुटपिटबाट टाउको र शरिरका अन्य भागमा गम्भीर चोट लागेको अवस्थामा तिर्थलाई एम्बुलेन्समा राखेर गिरी दाजुभाइले क्षेत्रीय अस्पतालमा लगेपछि आफन्तलाई खबर गरेर फरार भएका थिए । अस्पतालले तिर्थको उपचार सम्भव नभएको भन्दै राति नै शिक्षण अस्पताल कोहलपुर रिफर गरेको थियो । गम्भीर अवस्थामा कोहलपुर पु¥याइएका तिर्थको राती १ बजे उपचारका क्रममा मृत्यु भएको हो । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । होटलका सञ्चालक जनक राना र सोमराज गिरीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सुर्खेतका प्रहरी प्रमुख एसपी राजेशकुमार लाल कर्णले घटनामा संलग्न गिरी दाजुभाइको खोजी भइरहेको बताए । उनका अनुसार रानालाई उनकै होटलबाट र सोमराजलाई बर्दियाको भुरीगाउँबाट पक्राउ गरिएको हो । प्रहरीले हत्याको कारण खुल्न नसेकाले अनुसन्धान तीव्र पारिएको जनाएको छ । मृतकका आफन्तहरुले तिर्थको हत्या गरिएको भन्दै शुक्रबार जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका छन् । मृतकका आफन्त बालाराम सुनारले आफ्नै साथीहरुले अपहरण गरेर हत्या गरेको बताए । उनका अनुसार तिर्थ र युवराज मिल्ने साथी हुन् । उनीहरु दुवैजना मिलेर विगत दुई वर्षदेखि संयुक्त रुपमा बंगुरपालन व्यवसाय गर्दै आएका थिए । यही विषयमा कुरा नमिलेपछि गिरी दाजुभाइले साथीको हत्या गरेको आरोप आफन्तले लगाएका छन् । दोषीलाई कडा कारबाहीको माग गर्दै मृतकका आफन्तहरु जिल्ला प्रहरी कार्यालयमा भेला भएका छन् ।