विदेश पलायन नहुन ‘भद्रगोल’ टोलीको सन्देश
मुलुकमा रोजगारीको अवसर सिर्जना नहुँदा बहुसंख्यक युवाको चाहना विदेश जाने भए पनि स्वदेशमै उपलब्ध स्रोत र साधनको उपयोग गरी स्वरोजगार सिर्जना गराउनेतर्फ न सरकारले उचित प्रबन्ध गर्न स्केको छ न त समाजका जान्ने बुझ्नेहरुले नै । वैदेशिक रोजगारीलाई बाध्यताको उपज बनाएर विदेश होमिनेहरुले पाएको दुःख र हण्डरका कथाहरु हाल्दै सकेसम्म आफ्नै गाउँघरमा श्रम गर्न सन्देश दिने अनेक आयामहरुमध्येमा रेडियो तथा टेलिभिजन पनि एक हो । आजभोलि यस विषयमा थुप्रै टेलिचलत्रिहरु बनिरहेका छन् । यस्तै सन्देशका साथ हाँस्य प्रदान गर्दैआएको एउटा टेलिशृङ्खला हो ‘भद्रगोल’ । यसै टेलिशृङ्खलाका कलाकारहरुले खोटाङका युवालाई विदेश पलायन नहुन सङ्केत गर्दै जिल्लाकै विकासमा लाग्न सन्देश दिएका छन् । कुमार कट्टेल (जिग्री), अर्जुन घिमिरे (पाँडे) तथा सुवास कार्की (बेलासे) ले संयुक्त हास्य प्रस्तुतिमार्फत जिल्लाको पर्यटन प्रवद्र्धन, संस्कृति संरक्षण तथा समग्र विकासको लागि युवाको खाँचो रहेको सङ्केत गर्दै यस्तो सन्देश दिएका हुन् । खोटाङको विकास र पर्यटन प्रवद्र्धनका लागि आयोजित ६ दिने महोत्सव ‘नमस्ते खोटाङ’ को समापनमा पहिलो पटक जिल्ला ल्याइएका टेलिशृङ्खलाका कलाकारको प्रस्तुतिमा हजाराँैं जिल्लावासी झुम्मिएका थिए । हास्य प्रस्तुितमा देशलाई भ्रष्टाचारले विगारेकोप्रति कडा ब्यङ्ग्य गर्दै त्यस्ता भ्रष्टलाई गलहत्याउँदै समाज निर्माणमा लाग्नुपर्ने सन्देश थियो । जिल्लामा जन्मी देश विदेशमा ख्याति कमाउन सफल कलाकारलाई उल्लेख्यरूपमा उपस्थित गराउन सफल कार्यक्रमको समापनको केन्द्रविन्दु भने महानायक राजेश हमाल थिए । देशका चर्चित कलाकारलाई हेर्न अर्खौलेको साल्पाचौर पुगेका खोटाङ र छिमेकी जिल्लाका दर्शकबीच प्रमुख अतिथि हमालले खोटाङ कला, संस्कृति तथा पर्यटनको खानी रहेको उल्लेख गर्नुभयो । दर्शकदीर्घामा रहेका वृद्धाहरू भन्दै थिए– “छोरो हुनु त यस्तो पो हुनु, उसैलाई हेर्न यत्रो हजाराँैंको भीड ।” कसैले थप्दै थिए–“कसैले त जन्माउँदो रै’छ !” सय रुपैँयाँको टिकट किनेर लामाचौर पसेका कलाप्रेमी हेलिकोप्टरबाट हमाल झर्नासाथ त्यतै झुम्मिँदा स्टेजसम्म पु¥याउन कठिन परेको थियो । लुकेर रहेका प्रतिभाको खोज, लोपोन्मुख कला संस्कृतिको जगेर्ना तथा हलेसी, तुवाचुङ, रुपाकोट, टेम्के, बराहपोखरीलगायतका स्थलको पर्यटन प्रवद्र्धनका लागि सगरमाथा जनसेवा समाज नेपाल अर्खौलेले आयोजना गरेको हालै समापन भएको कार्यक्रममा चर्चित गायक धिरज राई अर्को आकर्षण बनेका थिए । राईले बाल्यकालको सम्झना तथा आफ्नो जन्मभूमी खोटाङको विजयखर्क तथा बाक्लिमवासीलाई सम्बोधन गर्दै गीत प्रस्तुत गरे । गायिकाहरू पार्वती राई, सरला राई, आशा लामा, गायक रेवत राई, सचिन राईलगायत स्थानीय कलाकारको प्रस्तुतीले ६ दिने वृहत कार्यक्रमभर रौनक दिएको थियो । नेकपा एमालेका उपाध्यक्ष विद्या भण्डारी तथा ऊर्जा मन्त्री राधा ज्ञवालीद्वारा माघ २० गते उद्घाटित कार्यक्रमको समापनमा गीतकार राजन राई, गैरसरकारी संस्था महासङ्घ खोटाङका अध्यक्ष दीपनारायण रिजालसहित सुरक्षा अधिकारीलगायतको उपस्थिति थियो । राईका साकेला, नेवारका लाखेलगायतका सांस्कृतिक झाँकी तथा जिल्लाका पर्यटन तथा संस्कृति झल्कने गीतमा नृत्य समेत प्रस्तुत भएको कार्यक्रममा जिल्लाका पर्यटन तथा संस्कृति झल्कने फोटो प्रदर्शनी पनि भएको थियो । ओझेलमा परिरहेका खोटाङका पर्यटकीय क्षेत्र र सुन्दरताको प्रचारप्रसार गर्दै खोटाङलाई गन्तव्यकारूपमा विकास गर्नका लागि ‘नमस्ते खोटाङ–२०७१’ आयोजना गरिएको आयोजक संस्थाका प्रमोद श्रेष्ठले जानकारी दिनुभयो । कराँते काता, जिम्नास्टिक प्रदर्शनी जस्ता खेल प्रदर्शनी गरिएको महोत्सवको प्रतियोगिता तर्फको भलिबलमा खोटाङ स्र्पोटस् क्लब विजयी बनेको छ । जिल्लाको हालसम्मकै ठूलो राशीको पुरस्कार रहेको प्रतियोगिताको दोस्रो तथा तेस्रो क्रमशः दोर्पा चिउरीडाँडा गाविस र सल्ले गाविस बनेका आयोजकले जनाएका छन् ।