गर्भवति महिलाको हत्यापछि जलाइएको खुलासा


(खोटाङ) ३ फागुन । जलेर मृत्यु भएको भनिएकी खोटाङकी एक युवतीको हत्यापछि जलाइएको खुलासा भएको छ । फेदी–४ की २२ वर्षीया निर्मला भन्ने सुष्मा राईको हत्यापछि जलाइएको प्रहरीले जनाएको छ । गत माघ २ गते राति २ बजे उनकै श्रीमान् २४ वर्षीय सुदीप राईले हत्या गरी त्यसलाई ढाकछोप गर्न घरमा आगो लगाएको खुलासा भएको प्रहरी नायब निरीक्षक यादव गौतमले बताए । सुष्माको मृत्युपछि माइतीपक्षको जाहेरीका आधारमा सुदीप राई र स्थानीय २७ वर्षीय दुर्गाधन राईलाई माघ १८ गते पक्राउपछि अनुसन्धानका क्रममा हत्या गरिएको खुलासा भएको गौतमको भने। सुष्माको पेटमा पाँच महिनाको गर्भ रहेको मृत्युपछि शव परीक्षणमा देखिएको अस्पताल स्रोतले जनाएको छ । घटनाको दुई साताअघिमात्र विदेशबाट घर आइपुगेका श्रीमान्सँग यही विषयमा झगडा हुँदा मृत्यु भएको अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ । दुर्गाधन भने हत्यामा संलग्न नदेखिए पनि सुष्मासँग सम्बन्ध जोडिएकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ । सुदीपविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरेर कारबाही थालिएको गौतमले जानकारी दिए । रासस





प्रतिक्रिया दिनुहोस्...