राजविराज : आमा नै छोरा–छोरीको हत्यारा बनेपछि अब कसको विश्वास बाँकी रह्यो र ? कसले सोच्या होला, १० महिनासम्म गर्भमा राखेर जन्माएका छोराछोरीको आमाले नै ढुङ्गामा राखी घाँटी बटारी पानीमा फ्याक्लिन् भन्ने ?
सप्तरीमा एक निर्दयी आमाले तीनजना छोरा–छोरीको हत्या गरेको स्वीकार्दै जेल पुगेकी छन् । तेरहौता–३ की २६ वर्षीया कुडी भनिने सजनदेवी सदाले आफ्नै कोखबाट जन्मेका छ वर्षीय सन्तोष सदा, तीन वर्षीया नन्दनी र छ महिनाकी अञ्जलीलाई हत्या गरेको स्वीकार्दै अदालतमा बयान दिएपछि जेल पुगेकी हुन् ।
सप्तरीको बैरबा–३ स्थित कोसी नदीको पश्चिम तटबन्धको पूर्वतर्फ जमेको पानीमा तीन बालबालिकाको शव गत पुस १९ गते भेटिएका थिए । पानीमा तीनजना छोराछोरीको लाश तैरिएको भेटिएपछि उनीहरुकी आमालाई सुनसरीको हरिपुर–१ बाट माघ २ गते प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको थियो ।
विक्षिप्त अवस्थामा पक्राउ परेकी सजनदेवीलाई ठेलियास्थित धर्मेश्वर अस्पतालमा उपचार गराएपछि इलाका प्रहरी कार्यालय कञ्चनरुपले माघ ४ गते कर्तव्य ज्यान मुद्दा दर्ता गरेको थियो ।
आरोपितले आफू विरामी भएपछि छोराछोरीले पाल्न नसकेका बेला ससुराले कुटपिट गर्नुका साथै बलात्कार गर्ने गरेको विलौना सुनाइन् । उनले ससुराको अत्याचारबारे पतिलाई सुनाउँदा विश्वास नगरेकाले छोराछोरीलाई मारी आफू पनि मर्ने सोंचले पालैपालो तीन छोराछोरीको हत्या गरेको
बताइन् ।
अदालतसमक्ष उनले आफू मर्न खोज्दा साडीको पासो चुँडिएपछि विष खाँदा पनि नमरेको बताइन् । अनुसन्धानमा खटिएका प्रहरी नायव निरीक्षक हरी खड्काका अनुसार घटनास्थलबाट नुवान विषादीको दुई डब्बा, एकजोडीे चप्पल र दुई ठाउँमा पासो बनाइएको साडी र गाँठो बाँधिएको सारीको टुक्रा फेला परेकोले आत्महत्याको प्रयास गरेको देखिन्छ ।
सजनादेवीले हत्या गरेका उनका तीन छोराछोरी
रोजगारीका लागि श्रीमान अशोक सदा ललितपुर इमाडोल गएपछि सजनदेवी तीन छोराछोरीसहित बुढी सासु र विदुर ससुरासँग बस्दै आएकी थिइन् । छोराछोरीको शव भेटिएपछि प्रहरीले आमाको खोजी गर्ने क्रममा बाटोमा माघ ४ गते अस्वस्थ र विक्षिप्त अवस्थामा सजनदेवीलाई पक्राउ गरेको थियो ।
आमा सजनदेवीले पटक–पटक आफूले नै छोरछोरीमा मारेको बयान दिएपछि जिल्ला न्यायाधीश रामप्रसाद अधिकारीको बिहीबार बसेको इजलाशले उनलाई पुर्पक्षका लागि कारागारमा थुनामा पठाएको छ ।
पीडितले प्रहरी, सरकारी वकिल र अदालतको इजलाशसमक्ष गरिबी र ससुराको यौन शोषणबाट आजित भई छोराछोरीको हत्या गरी आत्महत्या गर्न खोजेको वयान दिएपछि निजका ससुरालाई समेत अदालत झिकाइएको थियो । ससुरालाई भने अदालतले पछि बुझ्दा ठहरेबमोजिम हुने गरी हाललाई साधारण तारखेमा रिहा गरेको छ ।
तीन छोराछोरीको हत्या स्विकार्दै आमा जेल पुगिन्