राजा फर्काएर संविधान सभाको घाँटी निमोठ्ने प्रयास हुँदैछ : भट्टराई
जुम्ला–एमाओवादीका वरिष्ठ नेता बाबुराम भट्टराईले सत्तारुढ दलहरु राजा फर्काएर संविधान सभाको घाटी निमोठ्ने तयारीमा लागेको आरोप लगाएका छन्। उनले नयाँ संविधान दिन नसकेर पुरानै राज्यसत्ताले निर्माण गरेको संविधान जारी गरी जनतालाई धोका दिने षडयन्त्र भइरहेको बताए। कर्णाली अञ्चलको मुगु, कालिकोट र जुम्लाको सयुक्त कार्यकर्ता प्रशिक्षणलाई सम्बोधन गर्न बिहीबार जुम्ला आएका उनले जुम्ला विमान स्थलमा नेपाल पत्रकार महासंघ शाखा जुम्लाले आयोजनामा गरको पत्रकार भेटघाट कार्यक्रममा अग्रगामी र जनमुखी संविधानको लागि सहमतिको विकल्प नभएको बताए। 'सहमतिको विकल्प भनेकै द्वन्द्व हो, द्वन्द्व देशले थेग्न सक्ने अवस्था छैन,' उनले भने । चौथो पटक जुम्ला आएका भट्टराईले अग्रगामी र जनमुखी संविधान जारी गर्नको लागि जनताको रायसुझाव लिन र केन्द्रतिर भइरहेका गतिविधिका बारेमा जानकारी गराउन आफू जुम्ला आएको बताए। उनले भने भौगोलिक र ऐतिहासिक क्षेत्रको रुपमा चिनिएको कर्णालीको विकासका लागि आफु अर्थ र प्रधानमन्त्री भएको बेला केही राम्रा कदम चालेको दाबी गरे । 'अर्थमन्त्री हुँदा कर्णालीमा औधोगिक क्षेत्र स्थापनाको प्रस्ताव पेश गरेँ,' उनले भने,' स्वास्थ्य शिक्षालाई निशुल्क गराए। स्वायत्त अधिकार सहितको कर्णाली प्रदेशका निम्ति पनि सकारात्मक छु ।' \