क्यानडामा ३ बर्षीय नेपाली बालकले पाए नयाँ जीवन


केशव सिग्देल/टोरन्टो-

नेपालका चिकित्सकले निदान गर्न नसकेको एउटा जटिल प्रकृतिको स्वास्थ्य समस्याबाट पिडित एउटा नेपाली बालकले क्यानडामा उपचार पछि नयाँ जीवन पाएका छन्। जन्मदै पिसाब थैली बाहिर भएका ३ बर्षिय एक बालक पवन यादवको टोरन्टोस्थित ‘सिक किड्स’ अस्पतालमा सफल शल्यक्रिया भएपछि उनले नयाँ जीवन पाएका हुन्। उनको लिंगको नमुना मात्र रहेको र दिशा पिसाब एकै द्वारबाट मात्र हुने गरेको उनका पिता सन्तोषले नेपाली भिजनलाई बताए। ‘कान्तिमा २ पटक सम्म गरिएको शल्यक्रियाले पूर्णता नपाएपछि ऋण गरेको लाखौं त सकियो नै, आश मारेर घर फर्कन लाग्दा सम्म हातमा ४ रुपैया मात्र थियो त्यो पनि बाटो भाडा।’, छोराको सफल उपचार भएकोमा हर्षले रसिएका आँखा जुधाउदै उनले बिगत सम्झिए-’छोरालाई प्रायोगशाला बनाउन नपाएकोमा त्यहाँकी शल्य चिकित्सक निकै क्रुद्ध भएकी थिईन्।’ दुइ साता अघि देखि टोरन्टोस्थित सिक किड्स अस्पतालमा रहेका यादवका बाबु छोरा अझै एक महिना अस्पतालमा रहने सो अस्पतालले जनाएको छ। उपचाररत बालकको स्वास्थ्य स्थितिको अन्तिम निर्क्यौल पछि मात्र डिस्चार्ज गरिने बताइएको छ। शल्यक्रिया पछि को उनको स्वास्थ्य स्थिति अहिले सामान्य रहेको छ। मेडिकल मर्सी क्यानडा र सिक किड्स अस्पतालले बालकको सम्पूर्ण उपचार खर्च व्यहोरेपछि उनको उपचार सम्भव भएको हो। ३ बर्षिय बालकको स्वास्थ्य समस्या र आर्थिक स्थिति पूर्ण रुपमा अवगत भएपछि यी दुइ संस्थाले बालक पवनको नि:शुल्क उपचार गरेका हुन्। यी बालकको उपचारमा सेतुको काम गरेको छ काठमाडौँ स्थित ‘सेभ कान्ति’ले। नेपालमा गरिएको उपचार सफल नभएपछि उनका पिता ठिराम यादव (सन्तोष)ले आशै मारेर कपिलबस्तुमा ज्याला मजदुरी गरी दैनिकी गुजारा चलाउदै आएका थिए। तीन बर्षीय पवनको स्वास्थ्य समस्या र सन्तोष यादवको आर्थिक स्थिति राम्ररी बुझेको ‘सेभ कान्ति’ले बैदेशिक उपचारका लागि लामो खोजीनिती र पत्राचार गरेपछि निजको नि:शुल्क उपचारको सम्भव भएको हो। पिडित बालकको उपचार सौजन्य भएपनि सन्तोष यादवको खर्च र आवश्यक प्रक्रियामा भने यहाँ स्थित गैर आवासीय नेपाली संघ र अवैतनिक बाणिज्य दुतावासले सहायोग पुर्याउदै आएका छन्। ‘बिरामी बालक र उनका पिता सन्तोष लाई ढाडस दिन हरेक दिन स्वयंसेवक व्यवस्था गरिएको छ।’, बाणिज्य दुतावसका प्रतिनिधि अमित उपाध्यायले भने- ‘डिस्चार्ज पछिको ‘रिकभरि’का लागि बासस्थानको समेत व्यवस्था गरिएको छ।’ नेपालको कपिलबस्तु जिल्ला धनकौली गाउँ विकास समिति वडा नम्बर ९ निवासी ठिराम यादव (सन्तोष)का ३ बर्षीय छोरा पवन यादवको जन्मदै पिसाब थैली शरीर बाहिर रहेको थियो। जन्मेको ७ दिनमै काठमाडौँ स्थित कान्ति बाल अस्पतालमा पहिलो पटक र एक बर्षको उमेरमा दोस्रो शल्यक्रिया गरिएको भएपनि पूर्ण रुपमा निदान गर्न त्यहाँका चिकित्सकले सकेका थिएनन्। त्यतिखेर यादवको उपचारमा बाल शल्य चिकित्सक डा.अनुपमा बस्नेत संलग्न थिईन्।




प्रतिक्रिया दिनुहोस्...