पूर्वमन्त्रीपत्नी भन्छिन्- बुढेसकालमा केको भ्यालेन्टाइन ?
फागुन, काठमाडौंं । भ्यालेन्टाइन डेका अवसरमा आफ्नो पुरानो प्रेम कहानी सम्झँदै पूर्वमन्त्री एवं साहित्यकार शंकर कोइरालाकी पत्नी गुणा कोइरालाले भनिन्- ‘पशुपतिको दर्शन गर्न गएकी थिएँ, प्रेममा परेर फर्किएँ ।’
गुणालाई पशुपतिको मन्दिरमा शंकरसँग भेट गराइदिने व्यक्ति हुन्, हाल अत्यियार दुरुपयोग अनुसन्धान आयोगका सचिव प्रेम राई । ०५० सालमा उनीहरुको विवाह भएको हो ।
‘म दाजु/भाउजूसँग पशुपति दर्शन गर्न गएकी थिएँ । तर, उहाँहरु मलाई हेर्ने योजना बनाएर आउनुभएको रहेछ’ उनले भनिन्- भेटघाट भो, मान्छे हेर्दा राम्रै लाग्यो । केहीदिनपछि बिबाहको कुरा आयो, मैले ओके भन्दिएँ ।’
गुणा सम्झन्छिन्- धेरै केटाहरुले पछ्याए । प्रस्ताव गरे । सँधै म भाग्थेँ । तर, जब उहाँ (शंकर) लाई भेटेँ, भाग्न सकिँन ।’
त्यसो त शंकरले पनि जब गुणालाई देखे, बिवाह गर्ने निर्णयमा पुगिहाले । ‘यत्तिकी केटी भए घरबार हुन्छ भनेर उनीसँग बिबाह गर्ने निर्णय गरेँ ।’ पूर्वमन्त्री कोइराला भन्छन्- केटी देखाउन पनि प्रेमजीले लानुभो र बिबाहको कुराकानी पनि उहाँले नै अघि बढाउनुभयो ।’
कोइराला त्यसबेला निजामती कर्मचारीका शाखा अधिकृत थिए ।
बिहेपछिको प्रेम
विवाहपछि आफूहरुको प्रेम झाँगिएको कोइराला दम्पत्ती बताउँछन् । त्यसअघि आफूहरु प्रेममा नरहेको उनीहरु दुबैको दाबी छ ।
‘मलाई विवाहका प्रस्ताव धेरै आए, तर मैले बिहे गर्ने उद्देश्यले पहिलोपटक जसलाई हेरेँ, उसैलाई बिहे गरेँ’ शंकरले भने ।
बिहेअघि कसैलाई मन पराउनुभएको थियो ? भन्ने प्रश्नमा गुणाले भनिन्- ‘त्यसबेलाको समाज अहिलेको जस्तो थिएन, त्यो पनि छोरीका लागि । मन पराउने त के, कसैसँग बोले पनि ठूलो इस्यू बन्थ्यो ।’
शंकरले पनि श्रीमतीको कुरामा सही थपे । तर, कलेज लाइफमा -कीर्तिपुरमा स्नात्तकोत्तर पढ्दा आफूले भने केहीलाई एकोहोरो प्रेम गरेको उनले स्वीकारे ।
‘हो, म स्नात्तकोत्तर पढ्दा केहीलाई एकतर्फी माया गर्थें । तर, भन्न सकिँन ।’ उनले भने- बाटोमा सुन्दर फूल फुलेको छ भने कसलाई पो टप्प टिपूँ नलाग्ला र ?
कोइराला जोडीले अहिलेसम्म भ्यालेन्टाइन डे मनाएको छैन । ‘त्यसबेला भ्यालेन्टाइन डे के हो भन्ने थाहै थिएन । अब, बुढेसकालमा केको भ्यालेन्टाइन ?’ गुणाले भनिन् ।
कोइरालाबाट पदमा रहँदाभन्दा रिटायर्ड भएपछि बढी माया र साथ पाएको गुणाको अनुभव छ ।
शंकरले भने भ्यालेन्टाइन डे आफूहरुभन्दा कान्छो भएको टिप्पणी गरे । ‘दुर्भाग्यबस हामी छिटो जन्मियौं’ उनले भने । यद्यपि आफूहरुले प्रेम दिवसका दिन एकअर्कालाई ‘हृयापी भ्यालेन्टाइन डे’ भनेको उनीहरुले सुनाए ।
शंकरले भने भ्यालेन्टाइन डे आफूहरुभन्दा कान्छो भएको टिप्पणी गरे । ‘दुर्भाग्यबस हामी छिटो जन्मियौं’ उनले भने । यद्यपि आफूहरुले प्रेम दिवसका दिन एकअर्कालाई ‘हृयापी भ्यालेन्टाइन डे’ भनेको उनीहरुले सुनाए ।
भ्यालेन्टाइन हिन्दु संस्कृतिको अंग नभई आयातीत संस्कृति भएको शंकर बताउँछन् । यद्यपि हाम्रो समाजले यसलाई स्वीकार गरिसकेको उनको बुझाइ छ ।
कोइरालाले स्कूल पढ्दाको घटना सुनाए । एकजना युवकले स्कूलकी शिक्षिकालाई लभ लेटर बोकाएर पठाए रे उनलाई । ‘मैले मिसलाई चिठ्ठी दिएँ, मिस रिसाउनुभयो, कोइराला भन्छन्- ‘पछि मात्रै थाहा पाएँ कि त्यो त लभलेटर रहेछ ।’
कोइराला २२ वर्षको हुँदासम्म भोजपुरमै थिए । गृहजिल्ला भोजपुरबाटै उनले स्नातकसम्मको अध्ययन पूरा गरेका हुन् ।