हजुरबुबालाई भेट्न दौडिदै बाटो काटेका बालकलाई ट्रकले किच्यो


फोटो :फाइल तस्‍बिर
राजविराजः हजुरबुवालाई देख्नासाथ बाटो काटेर गएका एक बालकको ट्रकले कुल्चिएर घटनास्थलमै मृत्यु भएको छ।
 
पूर्व–पश्चिम लोकमार्गमा ना.५ख ३७१ नंम्बरको ट्रकले कुल्चिएर शम्भुनाथ २ कनकपट्टीका दिपेन्द्र चौधरीका सात बर्षीय छोरा नमन चौधरीको घटनास्थलमै मृत्यु भएको हो।
घरबाट आमा प्रतिमा चौधरीसँग म्याजिक गाडीमा मामाघर गएका बालक सडकमा ओर्लिनासाथ बाटो काटेर मावली हजुरबुवा भेटन दौडिएका थिए। भंगहामा नयाँ बन्दै गरेको मामाघर अगाडि हजुरवुवालाई देखेपछि बीच सडकमै ओर्लिएका बालक आमाबाट छुट्टिएर बाटो काटेका थिए।
 
एक मात्र छोराको आँखा अगाडि नै मृत्यु भएको घटनाले आमा मुर्छित अवस्थामा उपचारार्थ अस्पताल भर्ना भएकी छन् । ट्रक र चालकलाई कल्याणपुर प्रहरीले नियन्त्रणमा लिएको छ। 
 
यसैगरी एक महिनाअघि आगोले सल्किएर घाइते भएका एक बृद्धाको शनिबार मृत्यु भएको छ । सप्तरीको मलेठ १ की ६० वर्षीया सियावतीदेवी खंगको उपचारका क्रममा शनिबार राजविराजस्थित अञ्चल अस्पतालमा मृत्यु भएको हो ।
 
जाडोमा आगो ताप्ने क्रममा गत फागुन २७ गते उनी जलेर घाइते भएकी थिइन् । उपचारपछि घर फर्किएकी उनी शुक्रबार पुनः अस्पताल भर्ना भएकी थिइन् ।  दुबै लाशको राजविराजस्थित अञ्चल अस्पतालमा शनिबार पोष्टमार्टम भएको छ ।





प्रतिक्रिया दिनुहोस्...