मृत्युको मुखबाट बचेका अनिस खालिङ भन्छन्- पाकिस्तानी मर्छजस्तो लागेको थिएन



Anish-kahling-rai
२४ असार, काठमाडौं । यूएईमा मृत्युदण्डको सजायँ सुनाइएका अनिस खालिङ मृत्युलाई जितेर नेपाल आइपुगेका छन् । उनले अब बाँकी जीवन नेपालमै बसेर केही गर्ने र आफूजस्तै विदेशी जेलमा दुःख पाइरहेका नेपालीलाई सहयोग गर्ने योजना बनाएका छन् ।
वैदेशिक रोजगारीका सिलसिलामा दुबई पुगेका संखुवासभा मत्स्यपोखरीका अनिसलाई पाकिस्तानी नागरिकको हत्या आरोपमा अवुधावी अदालतले ०६८ सालमा मृत्युदण्डको सजायँ सुनाएको थियो ।
तर, जीवन रक्षाको अपील स्वीकार गर्दै ३ लाख ५ हजार दिनार ब्लड मनी तिरी कानूनी प्रक्रिया पूरा गरेर छुट्न सक्ने अदालतले बताएको थियो ।
त्यसपछि नेपालमा अनिष खालिङ बचाऊ अभियान नै चलाएर उनलाई छुटाउन देश विदेशबाट रकम संकलन भयो । तर, त्यहाँको सरकारले नै ब्लड मनी ३ लाख ५ हजार तिरिदिएपछि खालिङ जेलमुक्त भएर बुधबार राति साढे ११ बजेतिर काठमाडौं आइपुगेका हुन् ।
‘छोरीलाई फोटोमा मात्रै देखेको थिएँ’
अनिषलाई लिन पत्नी रमिला राईसहितका आफन्त त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका थिए । अनिसले भने- नेपाल र्फकन पाएकोमा म धेरै खुसी छु, नेपालीहरुले धेरै सहयोग गर्नुभयो । सबैलाई धन्यवाद दिन चाहन्छु ।’
काठमाडौं आएपछि अनिसले पत्नी र छोरीसँग भेट गरेका छन् । उनले अनलाइनखबरसँग भने- ‘छोरीको फोटो मात्रै देखेको थिएँ, यहाँ आएर भेट्न पाएँ, अन्त्यन्त खुसी लागेको छ ।’
पाकिस्तानी मर्छ जस्तो लागेको थिएन
कुराकानीका क्रममा अनिसले पाकिस्तानी नागरिकसँग भएको घटना सम्झिए । उनका अनुसार सुरुमा दुईपटक उनीहरु दुबै मिलेर रासन पानी ल्याए । तर, भाषाको समस्या भएपछि अनिस गएनन् । उनले भने-‘रासन लिएर कोठामा आएपछि गाडीभित्र समान निकाल्दा उसले लक गरेर लग्यो ।’
अनिसका अनुसार पाकिस्तानी नागरिकले उनलाई पहाडजस्तो ठाउँमा लगे, जहाँ उनका साथीहरुसमेत थिए । ‘मैले किन यस्तो गरेको भन्दा मलाई दुव्र्यवहार गर्‍यो’ उनले सुनाए- ‘विवादमा भएको झगडामा पाकिस्तानी नागरिक मर्छ भन्ने लागेको थिएन तर, अस्पतालले मर्‍यो भनेर रिपोर्ट दिएपछि २४ घन्टापछि प्रहरीले पक्राउ गरेको हो ।’
जेलभित्रको कथा
खालिङ २ वर्ष ९ महिना १८ दिन दुबईको जेल बसे । जेलमा झण्डै एक वर्ष बसेपछि उनले कारागारमा कार्यरत नेपाली सुरक्षा गार्डहरुमार्फत खबर गरेपछि नेपाली दूताबासका उमेश राई र कृष्ण भुसाल उनलाई भेट्न पुगेका थिए ।
जेलमा बस्दा यातना नदिए पनि परिवार तथा आफन्तसँग सम्पर्क गर्न नपाएको खालिङले सुनाए । ‘फोन सम्पर्क हुन सकेन । साथीहरुसँग भेट भएन’ उनले भने ।
खालिङले अब नेपालमा बसेर केही गर्ने योजनाका साथ आफू नेपाल आएको बताए । अनलाइनखबरसँग कुरा गर्दै भने-अब नेपालमा केही गर्छु भनेर आएको छु । मजस्तै विदेशी जेलमा परेका अरु नेपालीहरुलाई सहयोग गर्न पाऊँ ।’






प्रतिक्रिया दिनुहोस्...