निर्दयी आमा, जसले चार दिनको छोरालाई बाग्मती नदीमा फलिन्
२४ असार, काठमाडौं । बिहीबार विहान करिव ८ बजेतिर एक महिलाले पशुपति आर्यघाट क्षेत्रको बागमती नदीमा हडबडाउँदै जिपर ब्याग हुत्याइन् ।
महानगरीय प्रहरी बृत्त गौशलाबाट प्रहरी फोहोर फल्न नदिन गस्तीमा थियो । महिला ठूलो पोको नै नदीमा फारेपछि प्रहरी दौडिएर गयो । पोकोसँगै महिलालाई समात्यो ।
प्रहरीले फोहोर फालेको भन्दै महिलालाई पक्राउ गरेको थियो । तर, जब प्रहरीले ब्याग खोलेर हेरे, उनीहरु समेत आश्चर्यमा परे । ब्यागमा जिवित शिशु भेटियो । ‘हामीले फोहोर भनेर समातेका हौं’ वृत्तका इन्स्पेक्टर नारायण डाँगीले अनलाइनखबरसँग भने-‘खोलेर हेर्दा शिशु भेटियो ।’
प्रहरीले सोधपुछ गर्दा बाग्मतीमा चार दिनको छोरा फाल्ने महिला काभे्र गोकुले-५ घर भएकी २२ बर्षीया कन्छीमाया तामाङ भएको खुलेको छ ।
उनका श्रीमान विदेशमा छन् । उनले अवैध सम्वन्धबाट जन्मिएकाले बच्चालाई नदीमा फालेको बयान दिएकी छन् । उनले प्रहरीलाई बताए अनुसार नवजात शिशुको बाबु को हुन् भन्ने समेत थाहा छैन ।
गत मंसिरमा काठमाडौं आउने क्रममा बस चालकसँगको सम्वन्धबाट गर्भ रहेको तर, आफूले चालकलाई अहिले नचिन्ने उनले बताएकी छन् ।
उनी पाँच दिन अघि मात्र काठमाडौं आएकी थिइन् । गाउँमा बच्चा जन्मिँदा अरुले थाहा पाउने भएपछि काठमाडौं आएको हुनसक्ने प्रहरीको अनुमान छ । उनले आफूले जंगलमा नै बच्चालाई जन्म दिएको बयान दिएकी छन् ।
प्रहरीले शिशु र आमालाई प्रशुति गृह थापाथलीमा लगेर उपचार गराइरहेको छ । मुलुकी ऐन अनुसार शिशु फाल्नेलाई बढीमा चार वर्षसम्म जेल सजाय हुनेछ ।
