नक्कली कैदी जेलमा, सक्कली डिस्कोमा
डिस्कोबाट पक्राउ रावणजीत तामाङ र उनकै नाममा जेलमा रहेका नक्कली कैदी राजकुमार तामाङ। तस्बिर सौजन्य : नेपाल प्रहरी काठमाडौं- भूकम्पमा भत्केको सिन्धुपाल्चोक कारागारबाट भागेका एक कैदी बेबिलोन डिस्कोमा नाचिरहेको सूचना पाएलगत्तै महानगरीय प्रहरी अपराध महाशाखाको टोली हान्निँदै सुन्धारा आइपुग्यो। सादा पोसाकका प्रहरी डिस्को फ्लोरमा पुग्दा सूचना सत्य देखियो। लागुऔषध मुद्दामा १० वर्ष कैद सुनाइएका रावणजित तामाङ साथीहरूसँग मस्त नाचिरहेका थिए। उनी बाहिर निस्किएलान् र जालमा पारौँला भनेर प्रहरी डिस्कोको गेटैमा बसे। सवा २ बजे उनी केही साथीसँग डिस्कोबाट बाहिरिएलगत्तै प्रहरीले नियन्त्रणमा लिने प्रयास गर्योै तर समूहले नै प्रतिवाद गरेपछि तीन राउन्ड गोली नै चलाउनुपर्योा।तिघ्रामा गोली लागेका उनलाई उपचारका लागि वीर अस्पताल पुर्यारएर थप जाँचबुझ गर्न टेकु आएको प्रहरी टोली त्यतिबेला जिल पर्योा, जब गोली हानेर नियन्त्रणमा लिइएका व्यक्ति कारागारबाट भागेका रावणजित नरहेको खुल्यो। कारागारसँग सोधपुछक्रममा रावणजित मकवानपुरको भीमफेदी जेलमा रहेको खुल्यो।महाशाखाका अधिकारीले पाएको सूचनाअनुसार उनी वैशाख १२ को भूकम्पपछि भागेका थिए। कारागार व्यवस्था विभागको रेकर्डमा भने उनी वैशाख ३१ गतेबाट कारागारमा थिए। कारागार भत्कँदा भागेका कैदीलाई नजिकको कारागारको सम्पर्कमा आउन विभागले सूचना जारी गरेलगत्तै रावणजित भीमफेदी कारागार पुगेर आत्मसर्मपण गरेका थिए।रावणजित भनेर गोली हानिएका व्यक्ति वीरमा उपचाररत थिए। उनलाई बढी केरकार गर्न सकेन प्रहरीले। महाशाखाको आग्रहमा मकवानपुर प्रहरीले भीमफेदी पुगेर जेलमा रहेकासँग केरकार सुरु गर्यो्। 'रावणजित भनेको मै हुँ, काठमाडौंको डिस्कोमा कसलाई गोली हानियो, थाहा छैन।' उनको बयानले प्रहरीको सात्तो उडायो। निर्दोषलाई गोली हानेकोमा कारबाही हुने डरले प्रहरीलाई भित्रभित्रै गाल्दै थियो।तर तीन दिनको निरन्तर अनुसन्धानपछि निस्किएको निष्कर्षले महाशाखा प्रहरीलाई झन् बेचैन बनायो। त्यो १९ गतेको प्रारम्भिक अनुसन्धानको निष्कर्षभन्दा पनि अपत्यारिलो थियो।भीमफेदी कारागारमा रहेका र डिस्कोबाट गोली हानेर नियन्त्रणमा लिइएका दुवै व्यक्ति रावणजित नै थिए। तर, भीमफेदीमा रहेका नक्कली, गोली लागेका सक्कली।लागुऔषधको अभियोग पुष्टिसँगै काठमाडौं जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएका उनी भूकम्पपछि होइन, डेढ वर्षअगाडिबाटै स्वतन्त्र जीवन बिताइरहेका थिए। कारागार प्रशासनले रावणजित भनेर जसलाई राखेको थियो, ती नुवाकोट काउलेका राजकुमार तामाङ थिए। उनी नक्कली रावणजित भनेर कैद भुक्तान गरिरहेका थिए।'१९ गते निर्दोष व्यक्तिलाई गोली हानियो कि भनेर हामी पनि झस्कियौं,' महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले भने, 'तीन दिनको अनुसन्धानबाट पहिलो दिनको भन्दा पनि उदेकलाग्दो तथ्य आयो, सक्कली कैदी बाहिर रहेछन्, निर्दोषचाहिँ जेलमा।'कसरी सम्भव भयो यस्तो?काठमाडौंमा जबर्जस्ती रकम असुली र गुन्डागर्दीमा कहलिएका काभ्रे नारायणस्थान–९ का रावणजित लागुऔषधसहित काठमाडौंमा पक्राउ परेपछि काठमाडौं जिल्ला अदालतले उनलाई २०६९ माघ १२ मा दोषी ठहर गर्दै १० वर्ष कैद र ७५ हजार जरिवानाको फैसला सुनाएको थियो। उनी फैसलाअगाडि वैशाख २१ बाटै पुर्पक्षका लागि डिल्लीबजार कारागारमा थिए।एसएसपी खनालका अनुसार मोटरसाइकल चोरीको अभियोगमा पक्राउ परेका तामाङ अदालतले मागेको ७५ हजार जरिवाना तिर्न नसकेपछि २०६९ वैशाख २१ गते डिल्लीबजार कारागारमै पुगे। जेलभित्र रावणजित चल्तापुर्जा थिए। अन्य कैदीबन्दीले दुःख दिन थालेपछि संरक्षण खोज्दै राजकुमार उनको सम्पर्कमा पुगे।जेलमा यी दुवैको सम्बन्ध घनिष्ठ थियो। २०६९ फागुनमा रावणजितले कारागार स्थानान्तरणका लागि जेल प्रशासनमा निवेदन दिँदै सिन्धुपाल्चोक पठाउन माग गरे। रावणजितझैँ राजकुमारले पनि जेल सार्न निवेदन दिए। दुवैको निवेदनअनुसार कारागार प्रशासनले फागुन ११ गते दुवैलाई जेल स्थानान्तरणको पत्रसहित सुरक्षाकर्मी साथ लगाएर सिन्धुपाल्चोक कारागार पठायो। दुवैलाई जेल प्रशासनमा बुझाएर सुरक्षाकर्मी फर्किए।सिन्धुपाल्चोक कारागार पुगेको ९ दिनमै १० वर्ष कैद सजाय सुनाइएका रावणजित जेलमुक्त भए। ७५ हजार जरिवाना तोकिएका राजकुमारलाई १० वर्ष कैद सजाय सर्योब।घटनाको अनुसन्धान गरिरहेका महाशाखाका डिएसपी रमेश थापाका अनुसार ७५ हजार जरिवाना तिरेलगत्तै कारागारबाट मुक्त हुन पाउने राजकुमारलाई फेला पारेपछि रावणजितले डिल्लीबजार कारागारमै योजना बुनेका थिए। त्यही योजनाअनुसार यी दुवैजनाले कारागार प्रशासनसँगै सिन्धुपाल्चोक कारागार सरुवाका लागि निवेदन दिएका थिए।सुरक्षाकर्मीले कैदी स्थानान्तरणको पत्रसहित सिन्धुपाल्चोक कारागार प्रशासनको जिम्मा लगाउँदा रावणजित ७५ हजार जरिवाना बुझाउनुपर्ने राजकुमार बनिसकेका थिए भने राजकुमार १० वर्ष कैद काट्नुपर्ने रावणजित। कारागारमा नौ दिन बसेपछि राजकुमार बनेका रावणजितले नियमअनुसार कैद बसेबापत कट्टा भई बाँकी रहेको ६४ हजार जरिवाना तिरेर मुक्त भए। राजकुमार लागुऔषध कारोबारबापतको रावणजितको १० वर्ष सजाय कटाउन सिन्धुपाल्चोक जेलमा बसे।डिएसपी थापाका अनुसार जेल बसेबापत राजकुमारलाई रावणजितले आर्थिक सहयोग गर्ने र मुद्दा पुनरावेदनमा लगेर छुटाउने सर्त थियो। जेलमुक्त भएपछि रावणजितले पुनरावेदन अदालत पाटनमा जिल्ला अदालतको फैसलाको पुनरावेदन पनि हालेका थिए।वैशाख १२ को भूकम्पमा जेल भत्किएपछि राजकुमार पनि भागे। डिएसपी थापाका अनुसार जेलबाट भागेर रावणजितको सम्पर्कमा आएपछि पुनरावेदनबाट मुद्दा जितिन्छ, भाग्यो भने दुवै फसिन्छ भन्दै खर्च दिएर राजकुमारलाई मकवानपुरमा आत्मसर्मपण गर्न पठाएका थिए।राजकुमार रावणजित बनेर जेल बसे पनि रावणजितचाहिँ उपत्यकामा खुलमखुला थिए। १० वर्ष जेलमा बस्नुपर्ने व्यक्ति डिस्कोमा देखिन थालेपछि प्रहरीले सुइँको पायो र नक्कली–सक्कली कैदीको पोल खुल्यो।कारागार व्यवस्था ऐन र नियमावलीअनुसार एक कारागारबाट अर्को कारागारमा पठाउँदा परिचयपत्रसहित पठाउनुपर्ने प्रावधान रहे पनि यी दुवैलाई डिल्लीबजारबाट सिन्धुपाल्चोक पठाउँदा स्थानान्तरण पत्रका आधारमा मात्रै पठाएको, कारागार स्थानान्तरणका लागि अन्य कैदी–बन्दीको निवेदन भए पनि कारागार प्रशासनले रावणजित र राजकुमारको निवेदनलाई प्राथमिकता दिएर स्थानान्तरणको निर्णय गरेको प्रहरीले अनुसन्धानमा खुलाएको छ।कारागार व्यवस्था विभागका प्रमुख हिमनाथ दवाडीले अहिलेसम्म जेलका कैदीलाई परिचयपत्र दिने नगरिएको बताए। सिन्धुपाल्चोकको घटनाबारे आफूले सुने पनि औपचारिक जानकारी नआएको बताउँदै उनले भने, 'विभागमा औपचारिक जानकारी आएको छैन, जानकारी आएपछि मात्रै के भएको रहेछ भन्न सक्छु।'

