पूर्वयुवराज्ञी हिमानी बिहानै अर्यालटार बस्तीमा हिलाम्यै पुगिन् (भिडियो सहित)



काठमाडौं, २४ असार । केही दिन यता जारी वर्षाले मुलुकका अन्य भागमा जस्तै काठमाडौंको तार्केश्वर नगरपालिका–१० गोलढुङ्गाको अर्यालटार पनि हिलाम्मे छ । उक्त हिलाम्मे बस्तीमा भूकम्पका कारण घर भत्किँदा अझै पनि केही परिवारको अवस्था नाजुक नै छ । तर, सोही बस्तीमा बिहीबार भने अलि फरक अवस्था देखियो । खेतीको समय भएपनि बिहानैबाट मानिसहरु जम्मा भएर कसैको व्यग्र प्रतिक्षा गरिरहेका थिए । उनीहरुको प्रतिक्षा थियो–हिमानी ट्रष्टका पदाधिकारीको आगमनको । अझ भनौं पूर्व युवराज्ञी हिमानी शाहको प्रतिक्षामा थिए अर्यालटारबासीहरु ।
मुलुकका विभिन्न भागमा जस्तै बिहीबार ट्रष्टकी अध्यक्ष हिमानी शाहसहित पदाधिकारीहरु अर्यालटारमा राहत सामाग्री वितरण गर्न आउने भएपछि स्थानीयबासीहरु विहानै देखि जम्मा भएर बाटो पर्खिरहेका थिए । राहत सामाग्री सहित ट्रष्टको टोली अर्यालटार पुग्दा स्थानीबासीको आर्कषणको केन्द्र बनेकी थिइन हिमानी । अझ उक्त बस्तीको हिँडेरै अवलोकन गर्न थालेपछि स्थानीयबासी झनै आकर्षित भएका थिए हिमानी प्रति ।
हिलो बाटो, सारी तथा स्याण्डल लगाएकी हिमानी आफ्नो कपडा स्याहार्दै भूकम्प प्रभावित अर्यालटार बस्तीको अवलोकन गरिन् । उनी गाउँ घुमिरहँदा स्थानीयबासी पूर्वयुवराज्ञीको हिँडाई, बोलाइप्रति आफ्नो ध्यान फ्याँकिरहेका थिए । उनले सो बस्तीको अवस्थाका बारेमा जानकारी लिइन्। उनी हिँडिरहँदा स्थानीबासी पनि अघिपछि लागेका थिए । पूर्वयुवराज्ञी हिमानी सहितको टोलीले अर्यालटार बस्तीको अवलोकन गर्नुअघि ५१ परिवारलाई राहत सामाग्री वितरण गरेको थियो । बिहीबार ट्रष्टले ५१ परिवारलाई प्रतिपरिवार एक बण्डल जस्तापाता, २ थान ब्ल्याङकेट र एक थान सौर्य बत्ति वितरण गरेको हो । पूर्व राजा ज्ञानेन्द्र शाहको ६९ औं जन्मोत्सवको अवसर पारेर बिहीबार सो बस्तीको भूकम्प पीडितलाई राहत सामाग्री वितरण गरेको हो । पूर्वराजा ज्ञानेन्द्रको जन्म वि.सं. २००४ साल असार २३ गते भएको थियो ।






प्रतिक्रिया दिनुहोस्...