काठमाडौं, फाल्गुन १ । एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले विगतका गल्तीबाट निराश नभइ शिक्षा लिनुपर्ने बताएका छन् ।
२०औं जनयु्द्ध दिवसका अवसरमा शुक्रबार पार्टी कार्यालय कोटेश्वरमा गरिएको कार्यक्रममा अध्यक्ष दाहालले कसैले रोक्न खोज्दैमा माओवादी आन्दोलन नरोकिने बताए । उनले ‘प्रचण्ड–बाबुराम सकिएपनि चिहानबाट आन्दोलन उठ्ने’चेतावनी दिए ।
‘आफूहरुलाई जेल हाल्छौं, भ्रष्टाचारको मुद्दा लगाउँछौ भन्दैमा नडराउने’ भन्दै दाहालले हत्केलामा ज्यानको बाजी राखेर हिँडेकालाई यस्ता धम्की सामान्य लाग्ने बताए ।
परिवर्तनको मुद्दा संस्थागत गर्नु सबैभन्दा चुनौतीपूर्ण रहेको भन्दै दाहालले संघीयता, गणतन्त्र, समावेशीता र धर्मनिपेक्षताको विरुद्धमा लाग्ने कोही पनि बाँकी नरहने चेतावनी दिए ।
माओवादी जनयुद्ध सुरु भएको दुई दशक पुग्दा माओवादी कमजोर बनेकोमा नेता–कार्यक्रर्ताले असन्तुष्टि पोखेपछि दाहाल निक्कै आक्रोशित बनेका हुन् । आन्दोलनका क्रममा गरिएका गल्तीहरु सच्याउँदै अगाडि बढ्नुपर्ने उनको भनाइ छ ।
‘अहिले रुने बेला नभएको’ भन्दै दाहालले संघर्षमा जुट्न सबैलाई आह्वान गरे । माओवादी कमजोर भएको बेला माओवादीका मुद्दाहरु समाप्त पार्ने षड्यन्त्र भइरहेको भन्दै उनले अब नयाँ संघर्षमा जुट्नुको विकल्प नरहेको बताए । यसका लागि एक हुन सबै माओवादीलाई उनको आह्वान थियो ।
फाल्गुनमा हुने तेस्रो चरणको आन्दोलनले नेपाली राजनीतिलाई नयाँ दिशानिर्देश गर्ने दाबी पनि दाहालले गरे
ज्यानको बाजी राखेर हिँडेका छौं, जेल हाल्ने धम्कीले छुँदैन : दाहाल (भिडियोसहित)