भारत भएर तेस्रो मुलुक जानेले 'नो अब्जेक्सन' पत्र लिनुपर्ने
काठमाडौ, माघ २८ - भारत भएर तेस्रो मुलुक जाने नेपालीले अब दिल्लीस्थित नेपाली दूतावासबाट 'नो अब्जेक्सन' पत्र लिनुपर्नेछ । विश्वको विभिन्न मुलुकहरुमा नेपालीहरु (विशेष महिलाहरु) भारतीय बाटो हुदै अवैध रुपमा जान थालेपछि त्यसलाई निरुत्साहीत गर्न दुवै मुलुकका गृहप्रशासनले यस्तो सहमति गरेको हो ।
बुधबार पोखरामा सम्पन्न नेपाल भारत सीमा ब्यवस्थापन सम्वन्धी संयुक्त कार्यदलको ११ औं बैठकमा त्यस्तो निर्णय भएको हो । नेपाली टोलीको नेतृत्व गृह प्रवक्ता ढकाल र भारतीय टोलीको नेतृत्व भारतीय गृह मन्त्रालयका सहसचिव हितेशकुमार एस मकवानाले गरेका थिए । मानव बेचविखनमा सक्रिय गिरोहले भारतबाट विभिन्न रुट बनाउदै नेपालीहरुलाई अमेरिका, अफि्रका र अरब मुलुकसम्म पुर्याउने र विचल्ली बनाउने गरेपछि त्यसको निराकरण गर्न खोजिएको ढकालले बताए । 'नेपालीलाई मानव तस्करीबाट रोक्न एउटा संयन्त्र आवश्यक पर्ने भएपछि यो उपाए अवलम्बन गरिएको हो,' उनले भने । भारतलाई ट्रान्जीट बनाएर जानेहरुको हकमा यो लागू हुनेछैन । उक्त बैठकमा नेपालमा नक्कली भारतीय मुद्राको अवैध कारोबार र भारतमा नेपाली मुद्राको छपाई लगायतको विषयका साथै सीमावर्ती क्षेत्रमा हु्ने अपराध नियन्त्रण, अवैध लागू औषधको कारोबार लगायतका सम्बन्धमा छलफल भएको थियो । सीमा क्षेत्रको अपराध नियन्त्रणका लागि नेपाल टेलिकम र एनसेलले दिदै आएको सीमकार्डमा कडाई गर्ने र त्यसको अभिलेखीकरणलाई चुस्त बनाउने विषयमा समेतमा सहमति भएको छ । भारतमा सीम लिन सहज भए पनि त्यसको संचालन २४ घण्टा अगाडी सम्भव छैन ।