राजधानी छाड्नेको लर्को उस्तै


रोकिएन चर्को भाडा असुल्ने क्रम 
काठमाडौं: राजधानीको जनजीवन सामान्य बन्दै गए पनि उपत्यका छाड्नेको लर्को घटेको छैन। महाभूकम्पले गाउँमा क्षति पु¥याएकाहरू एवं राजधानी असुरक्षित ठानेर उपत्यका बसोबास गर्नेहरू गाउँ फर्किने हतारोमा छन् । राजधानी बाहिरिने मुख्य नाका कलंकीमा यात्रुको भीड दिनहुँ बढ्दो छ। 
 
'राजधानीबाट बाहिरिनेको संख्या दिनहुँ बढ्दो छ' यातायात व्यवस्था विभागका महानिर्देशक मधुसूदन बुर्लाकोटीले अन्नपूर्णसँग भने, ‘केही सञ्चारमाध्यमले भूकम्पका बारेमा फैलाएको गलत हल्ला र भूकम्पले गाउँमा क्षति पुर्‍याएपछि यहाँबाट बाहिरिनेको संख्या बढेको हो।' मंगलबारमात्र करिब डेढ लाख यात्रु बाहिरिएको उनले बताए।
 
ठूलो संख्यामा एकैचोटी यात्रु बाहिरिन खोज्दा यातायात व्यवस्थापन गर्न कठिन भएको उनले स्वीकारे। ‘यात्रुको चाप बढेकाले बसको संख्या पनि दिनहुँ बढाउँदै लगेका छौं' उनले भने, ‘दसैंमा २५ लाख यात्रुलाई सहजै सेवा दिएका थियौं तर यो पटक एकैपटक धेरै बाहिरिन खोज्दा समस्या देखिएको हो।'
 
विभागले यातायात व्यवसायीसँग समन्वय गरेर आठ सयवटा सवारीसाधन सञ्चालनमा ल्याएको छ।बुधबार बससंख्या दोब्बर पार्ने तयारी गरेको छ। 

यात्रुको चाप बढेसँगै सार्वजनिक सवारीसाधनले यात्रु भाडामा ब्रम्हलुट मच्चाएपछि विभागले अनुगमनलाई तीव्र पारेको छ। ‘सवारीसाधनले यात्रुसँग राज्यले तोकेभन्दा चर्को भाडा असुलेको गुनासो मेरोमा पनि आइरहेका छन्’ उनले भने, ‘त्यसलाई नियन्त्रण गर्न अनुगमन टोली परिचालन गरेका छौं।'
 
विभागसँग  कर्मचारी  कम भएकाले अनुगमनलाई व्यवस्थित गर्न गाह्रो भइरहेको उनले गुनासो गरे।' चर्को भाडा असुल्नेलाई कारबाही गर्छौ। सवारीको रुट परमिट र चालकको लाइसेन्स खारेज गर्छौं' उनले भने, 'अनुगमन र कारबाही प्रक्रियालाई प्रभावकारी बनाउन ट्राफिक प्रहरीको परिचालन बढाएका छौं।'
 
चर्को भाडा असुल्ने गाडी नम्बर र जाने रुटसहित विभाग वा ट्राफिक प्रहरीमा एसएमएस वा फोन गरिदिन उनले आग्रह गरे।  यात्रुको चापलाई मध्यनजर गर्दै देशभरबाट सवारीसाधन राजधानी ल्याउन ह्विप जारी गरिएको नेपाल यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले बताए। 
 
'यात्रुलाई सहज यातायात सेवा दिन देशभरबाट राजधानीमा गाडी ल्याउने प्रयास गरेका छौं उनले भने, ‘यातायात मजदुरका परिवार पनि भूकम्पबाट प्रभाबित भएकाले ठूलो संख्या यातायातका साधन राजधानी भित्र्याउन हामीलाई अप्ठ्यारो परेको हो।'
 
यातायातलाई सहज बनाउन महासंघको अगुवाइमा यातायात व्यवस्था विभागले सात दिनका लागि सबै गाडीलाई रुट परमिट खुल्ला गरेको उनले बताए। 
 
विभिन्न यातायात व्यवसायी संघले बुधबारबाट निःशुल्क यातायातका साधन सञ्चालन गर्ने उनले जनाए।बाहिरिने भीडलाई व्यवस्थित गर्न र चर्को भाडा असुल्ने सवारीसाधनमाथि कारबाही गर्न राजधानीबाट बाहिरिने पाँच नाकामा प्रहरी नायब उपरीक्षकको नेतृत्वमा टोली परिचालन गरेको ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी नायब महानिरीक्षक जयबहादुर चन्दले बताए। 
 
'प्रत्येक नाकामा डीएसपीको नेतृत्वमा टोली परिचालन गरेका छौं’ उनले भने, ‘अनुगमन गरी चर्को भाडा असुल्नेमाथि कारबाही गरेका छौं।' उनका अनुसार अनुगमनमा खटिएको ट्राफिक प्रहरीले यात्रुसँग चर्को भाडा असुल्ने २१ सवारीसाधनलाई कारबाही गरेको छ। 
 
कोटेश्वर, कलंकी, गौशाला, नयाँबसपार्कलगायतका क्षेत्रबाट  ट्राफिक महाशाखाले अनुगमन गरिरहेको छ। विभाग र ट्राफिक प्रहरी महाशाखाले चर्को भाडा असुल्नेमाथि कारबाही गर्न अनुगमन टोली खटाए पनि चर्को भाडा असुल्ने क्रम रोकिएको छैन। 
 
'पीडाको बेलामा चर्को भाडा असुलेर गाडीले ब्रम्हलुट गरे' विराटनगरका विकास अधिकारीले भने, ‘यातायात व्यवसायीले खुलेआम चर्को भाडा असुलेका छन् । छिमेकी मुलुक भारतले आफ्ना नागरिकलाई निःशुल्क हवाईजहाजबाट उद्धार गरेको छ।
 
तर यहाँ खुलेआम ब्रम्हलुट गर्दासमेत राज्यले कुनै चासो देखाएको छैन।' उनका अनुसार विराटनगर जाने गाडीले प्रतिव्यक्ति पाँच हजार रुपैयाँ भाडा असुलेका छन्। 






प्रतिक्रिया दिनुहोस्...