ब्यवसायीद्वारा नेपाली कामदार विदेश पठाउन रोक
वैदेशीक रोजगार व्यवसायीहरुले आजदेखि नेपाली कामदार विदेश पठाउन रोक लगाएका छन् । श्रम तथा रोगजार मन्त्रालयले विभिन्न ७ वटा मुलुकमा जाने कामदारलाई फ्रि—टिकेट फ्रि भिसा लागु गरेपछि व्यवसायीहरु आन्दोलित बनेका छन् । वैदेशीक रोजगार व्यवसायी संघका अध्यक्ष विमल ढकालले सरकारले व्यवसायीको कुरा सुन्दै नसुनी एकपक्षिय निर्णय लागु गराएको भन्दै श्रम स्विकृती लिईसकेकालाई पठाउने तर नयाँ श्रमस्विकृति बन्द गराउने बताए ।
आफूहरु पनी शून्य लागतको पक्षमा रहेको भन्दै दावी गर्दै ढकालले सरकारले हतारमा फ्रि भिसा—फ्रि टिकेट लागु गर्दा विदेशीहरुसँग सम्बन्ध बिग्रिने, नेपाली कामदारको अवसर खोसीएकाले विरोध गरीएको उनको भनाई थियो ।
उच्चस्तरीय आयोग बनाएर कति समयभित्र कसरी कामदार पठाउने भन्ने विषयमा अनुसन्धान गरेर तयार गरीएको रिपोर्टका आधारमा मात्र काम अगाडी बढाउनुपर्ने व्यवसायीले बताएका छन् । व्यवसायीहरुले वैदेशिक रोजगार विभागको कार्यालयमा घेराउ गरेका छन् । सांकेतिक रुपमा विरोध जनाउँदै विभागमा घेराउ गरीएको अध्यक्ष ढकालले बताए ।
तर श्रम राज्यमन्त्री टेक बहादुर गुरुङले भने व्यवसायीहरु अनावश्यक रुपमा आत्तिएको टिप्पणी गरेका छन् । राज्यमन्त्री गुरुङले आवश्यक गृहकार्यपछि सरकारले नेपाली कामदारको हीतमा यो निर्णय लागु गरेको भन्दै यस विषयमा व्यवसायीहरुसँगको सहकार्यका लागी छलफलको ढोका खुल्ला रहेको बताए ।
व्यवसायी र सरकारवीचको दोहोरीले रोजगारीका लागी विदेश जान विभिन्न जिल्लाबाट काठमाण्डौँ आएका नेपालीहरु भने अन्यौलमा परेका छन् । म्यानपावर कम्पनीहरुले जसरी पनि विदेश पठाउने भन्दै बोलाएका कामदारहरु सरकारले श्रमस्विकृत नदिँदा काठमाण्डौँका होटेलहरुमा महँगो पैसा तिरेर बस्न बाध्य भएका छन् ।
वैदेशीक रोजगार व्यवसायी सँघका अध्यक्ष ढकालले कामदारहरु अलपत्र पर्नुमा राज्यमन्त्री नै दोषि रहेको बताए । राज्यमन्त्री गुरुङले भने विदेशी दलालहरुको दबाबमा व्यवसायीहरु परेको भन्दै एकदुई दिनमै समस्या समाधान हुने दाबी गरेका छन् ।

