विमला तामाङले दिलाइन् नेपाललाई पहिलो पदक
इन्चनएशियाडको अन्त्यतिर आइपुग्दा नेपालले करातेमा पहिलो पदक जितेको छ। करातेको महिला एकल कातामा विमला तामाङले मुलुकलाई सत्रौं एशियाडमा पदक दिलाएपछि नेपाली टोलीले १३ दिनपछि सुखद नतिजा आत्मसात गरेको हो।
एशियाडमा सहभगितालाई लिएर कराते लामो समय विवादमा रुमल्लिए पनि अन्ततः नतिजा करातेकै पोल्टोमा परेको छ । गेयाङ जिम्नेजियममा भएको स्पर्धामा विमलाले क्वाटरफाइनलमा पाकिस्तानी प्रतिद्वन्द्वी कुलसुमलाई ४-१ ले हराईन्। सेमिफाइनलमा भने उनी भिएतनामकी खेलाडी नान गुएन ह्वाङसँग ५–० ले पराजित भएपछि नेपाल रजतपदकबाट बिमुख भएको थियो । काश्य पदकका लागि भएको स्पर्धामा भने विमलाले उत्तर कोरियाली जुई काङलाई ५–० ले हराएर १६ वर्षपछि करातेलाई एशियाली खेलकुदमा पदक दिलाइन् ।
१९९८ को बैंकक एशियाडमा सम्मरबहादुर गोलेले कुमितेमा काश्य पदक दिलाएका थिए। त्यसअघि सन् १९८६ को सोल एशियाडमा सिता राईले पनि कुमितेबाटै नेपाललाई पहिलो पदक जिताएका थिए । तर, काताबाट नेपालले पदक जितेको भने यो पहिलो हो। कातामा पहिलो सहभागितामै पदक जितेपछि विमलाले मुलुकलाई पदक दिलाउन सकेकोमा खुशी व्यक्त गरिन्। उनले भनिन् ‘मुलुक लागि खेल्न आएको थिएँ। जित्छु भन्ने आशा थियो। सपना साकार भएकोमा खुशी लागेको छ। म मेरो सफलता गुरुहरुसँग बाँढ्न चाहन्छु।'
तर करातेको विवादका कारण अन्य खेलाडीले खेल्न नपाएकोमा भने उनले सहानुभूति प्रकट गरिन्। उनले भनिन् ‘मैले पनि राष्ट्रकै प्रतिनिधित्व गरेको हूँ । तर मेरो सहभागिताले अरुको नाम काटिन पुग्यो । यसमा दुख लागेको छ । मैले के नै गर्न सक्छु र ? दुख मनाउनुबाहेक।
पुरुष कातामा परशुराम बास्तोला काश्यपदक भिडन्तमा जापानका इस्सेइ सिम्बाबासँग पराजित भए। त्यसअघि उनले क्वाटरफाइनलमा मलेसियाका चीइ लिमलाई हराएका थिए। ६७ केजीमुनिको तौल समूहमा कुमितेतर्फ मुकुन्द्र महर्जनले पहिलो चरणमा तुर्कमेनिस्तानका सापाडुर्डी सेत्दारोभलाई ४-१ ले हराए। तर काजकस्तानका रिजनात सगान्दिकोभसँग ६-० ले पराजित भएपछि उनले रिपिचेज खेल्नु परेको थियो। जसमा उनी जोर्डनका खेलाडीसँग प्रतिस्पर्धात्मक खेलमा १ -२ ले पराजित भए। करातेको पुरुष ७५ केजीमुनिको स्पर्धामा दिवस श्रेष्ठले पहिलो चरणमा कुवेतका अलोतैबी अब्दुल्लाहलाई ५-३ ले पराजित गरे। तर क्वाटरफाइनलमा भने उनी जोर्डनका महम्मद नेमर अल्रिफीसँग ८-० ले पराजित भए।
महिला म्यारथनमा स्वरुपा खड्का १६ औं भइन्। उनले ४२ दशमलव १९५ किलोमिटरको दुरी ३ घण्टा शुन्य दशमलव ४१ सकेकेण्डमा पूरा गरिन्। तेक्वान्दोमा बिहीबार भएको स्पर्धामा ६२ केजीमुनिको तौल समूहमा मनिता शाही र ६७ केजी मुनिमा आयशा शाक्य प्रिक्वाटरफाइनलबाटै बाहिरिए। ग्यागंह्वा डोलमेन्स जिम्नेजियममा भएको खेलमा मनिता चाइनिज ताइपेइकी चिया चिया चुवागंसँग १ का बिरुद्ध १३ को स्कोरमा सजिलै पराजित भइन्। मनिताले प्राप्त गरेको १ अंक पनि पेनाल्टीम आएको थियो। उनले एउटै आक्रमण गर्न सकिनन्।
६७ केजी मुनिको तौल समूहमा आयशा मकाउकी चिगं लिउसँग २ का बिरुद्ध ९ ले पराजित भइन्। आयशाले पहिलो राउण्डमा किक हानेर अंक बटुले पनि त्यसपछि पेनाल्टीमा २ अंक स्कोर गरिन्। पुरुषतर्फ ६३ केजीमुनिको तौल समूहमा सुजन जोशी भारतका सौरभसँग ५ का बिरुछ ८ ले पराजित भए। पहिलो राउण्डमा १-२ ले पछि परेका उनी दोस्रोमा पनि समान अन्तरले र तेस्रोमा १-३ ले पछि परे चौथो राउण्डमा भने सुजन ०-३ले पछि परे।