सेक्सको बारेमा मलाई धेरै कुरा थाहा छ – नायिका विनिता बराल
विनिता बराल (नायिका) चितवनमा जन्मेकी विनिता बराल एउटै चलचित्रबाट चर्चा कमाउन सफल नायिका हुन् । आफ्नो पहिले चलचित्र ‘चपली हाइट’बाट सेक्सी छवि बनाएकी नायिका बरालले खुलेरै अंग प्रदर्शन गरेकी छिन् । यौन विषयमा निर्मित चलचित्र चपली हाइटले एकताका बजार पूरै तताएको थियो । चलचित्र चपली हाइट पश्चात फुलस्टप र सुपरहिट नामक दुई चलचित्रमा अभिनय गरिसकेकी बराल हाल काठमाडौं टोखा नजिक छ रोपनी जग्गामा तरकारी व्यवसाय गर्दैछिन् । यिनै नायिका विनिता बरालसँग नेपाली चलचित्र क्षेत्र तथा अन्य समसामयिक विषयहरुमाथि गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।
० हाल के गर्दै हुनुहुन्छ ? हाल म दुईजना साथीसँग मिलेर कृषि व्यवसाय गर्दैछु । काठमाडौं टोखा नजिक ६ रोपनी जग्गा भाडामा लिएर तरकारी व्यवसाय गर्दैछु । अहिले हामी काउली, कुरिलो, काँक्रो, गोलभेडा आदि उत्पादन गर्दैछौं ।
० किन कृषि व्यवसाय नै रोज्नुभयो ? हाम्रो समाजमा एउटा मान्यता छ कि कृषि व्यवसाय भनेको नपढेको मान्छेले गर्ने हो । पढेको मान्छेले त अफिस खोल्ने, देश विदेश जाने, डाक्टर, इन्जिनियर बन्नुपर्छ भन्ने सोचाइ छ, जुन कुरा पूरै गलत छ । हाम्रो देश कृृषि प्रधान देश हो । यहाँ ९० प्रतिशत जनताहरुको मुख्य आय स्रोत भनेको कृषि हो । यदि यहाँ कृषि विकासमा व्यापक सुधार गर्ने हो भने नेपालको आर्थिक स्तर नै उच्च हुने थियो । मैले पनि यही सोचेर नै कृषि फर्म खोलेको हुँ ।
० कृषि फर्म खोल्नको लागि कति लगानी गर्नुभयो ? अहिले मैले धेरै लगानी गरेको छैन । हुनत कृषि विकास बैंकबाट पनि ऋण लिन सकिन्थ्यो तर मैले आफैले कमाएको पैसा लगानी गरेकी छु । अहिलेसम्म तरकारी व्यवसाय राम्रै फस्टाएको छ ।
० तपाईंको पहिलो फिल्म चपली हाइट व्यवसायिक रुपमा निकै सफल भयो । कस्तो अनुभवको महसुस भयो ? चलचित्र सफल भएकोमा म धेरै खुसी भएँ । नेपाली चलचित्र क्षेत्रमा चपली हाइट जस्तो चलचित्र बनेको थिएन । यौन विषयसँग सम्बन्धित यो फिल्मले नेपाली चलचित्र क्षेत्रको स्वरुप नै परिवर्तन गरिदियो । अहिलेका युवा वुस्ताको यौन विषयमा निर्मित यो फिल्मले एक प्रकारको क्रान्ति नै ल्यायो ।
० पहिलो चलचित्र नै यौनसँग सम्बन्धित भएकोले तपाईंलाई कुनै समस्या त परेन ? फिल्मको कथा यौनसँग सम्बन्धित छ या छैन भन्दा पनि मैले फिल्मको पात्र विनीको रोल महत्वपूर्ण देखेँ । आज समाजमा प्रेमको नाममा फैलिएको यौन विकृतिलाई फिल्ममा देखाइएको छ । कुनै पनि केटाले केटीलाई यौन सम्पर्क राख्ने साथीको रुपमा प्रेम गरेको पाइन्छ । आजकालका युवायुवती सेक्सलाई नै प्रेम भन्छन् । आफ्नो भविष्य भन्दा ठूलो ब्वाई फ्रेण्ड र गर्ल फ्रेण्डलाई ठान्दछन् । जसले गर्दा उनीहरुको जीवन र भविष्य तहसनहस भएको पाइन्छ । मैले यस्ता धेरै उदाहरणहरु समाजमा देखेको छु । चपली हाइट चलचित्र अहिले समाजमा प्रेमको नाममा फैलिएको विकृतिको ऐना हो र यो एउटा सत्य घटना पनि हो ।
० के चपली हाइट चलचित्रले युवा समाजको लागि केही सन्देश दिएको छ त ? चपली हाइट दर्शकहरुको चाहनालाई मध्यनजर राखेर निर्माण गरिएको चलचित्र हो । यो फिल्मले पक्कै पनि समाजमा सकारात्मक परिवर्तन ल्याउँछ भन्ने सोचेर नै मैले यसमा अभिनय गरेको हुँ । फिल्ममा सत्य घटनालाई चित्रण गरिएको छ । पक्कै पनि यसले समाजमा प्रेमको नाममा फैलिएको विकृतिलाई हटाउन महत्वपूर्ण भूमिका खेल्दछ ।
० तपाईंलाई दर्शकहरु एउटी सेक्सी नायिकाको रुपमा चिन्छन् । कस्तो लाग्छ तपाईंलाई दर्शकहरुले सेक्सी नायिका भनेर सम्बोधन गर्दा ? सेक्सी शब्द नराम्रो होइन । त्यसको सही अर्थ नबुझ्नु चाहिँ नराम्रो हो । मलाई सेक्सी नायिका भनेर बोलाउँदा खुसी लाग्छ ।
० तपाईंको नजरमा सेक्स भनेको के हो ? सेक्स प्रकृतिले दिएको वरदान हो, उपहार हो । यसलाई सही अर्थमा लिएमा यसबाट कुनै हानी नोक्सानी हुँदैन । जसरी हाम्रो जीवनमा खानाको महत्वपूर्ण भूमिका हुन्छ, सेक्सको पनि उत्ति नै माग र आवश्यकता हुन्छ । मैले पनि धेरै पुस्तकहरु पढेको छु, सेक्सको बारेमा मलाई पनि धेरै कुरा थाहा छ । ठूला ठूला लेखक, साहित्यकार तथा विद्वान्हरुले पनि सेक्सको बारेमा पुस्तक लेखेका छन् । दुई आत्माको मिलन नै सेक्स हो । उमेर बढ्दै गएपछि हर कोहीलाई सेक्सको चाहना हुन्छ । यो प्रकृतिको नियम नै हो । सेक्सलाई बुझ्न नसक्दा ठूला ठूला घटना तथा दुर्घटनाहरु घटेका छन् । सेक्सको बारेमा पढाई हुनु जरुरी छ ।
० अहिले महिला हत्या हिंसा बढ्नुको कारण के हो ? महिला हत्या हिंसा बढ्नुको प्रमुख कारण सेक्स हो । सेक्सकै कारण ठूला ठूला राजा, महाराजाहरुले आफ्नो राजगद्दी त्यागेका छन् । आफूलाई समाजको प्रतिष्ठित भनाउँदाहरुले सेक्सकै लागि आफ्नै श्रीमतीको घाँटी थिचेर हत्या गरेका छन् । अरुको श्रीमती राम्रो देखेर आफ्नो घरबार बिगार्ने थुप्रै छन् ।
० हरेक पत्रकारहरुले तपाईंलाई सेक्सकै बारेमा बढी प्रश्न गर्छन्, किन होला ? यो चाहिँ मलाई पनि सोध्न मन लागेको प्रश्न हो । किन पत्रकारहरुले मलाई सेक्सकै बारेमा बढी प्रशन गर्छन् ? मेरो पहिलो फिल्म चपली हाइट यौनसँग सम्बन्धित फिल्म हो र त्यसमा मैले एउटा बिनीको चरित्रमा अभिनय गरेको हुँ । तर त्यसो भन्दैमा म चपली हाइटको विनीजस्तो होइन । मेरो पनि मन, इच्छा, चाहना तथा सपनाहरु छन् । आगामी दिनमा म पनि भिन्नै चरित्रमा पर्दामा देखिनेछु ।
० हालसम्म कतिवटा फिल्ममा अभिनय गर्नुभयो । चपली हाइट, फुलस्टप, सुपरहिट तथा म्युजिक भिडियोहरु खेलेकी छु ।
० अभिनयको सुरुवात कसरी गर्नुभयो ? म सानैदेखि स्कुलमा नाच्ने गर्दथेँ । नृत्य मेरो सानैदेखिको सोख हो । कलाकारितातर्फ झुकाव भए पनि कुनै अवसर पाइएन । कलेज पढ्न काठमाडौं आएँ । एउटा फिल्ममा अवसर पाएको थिएँ तर मलाई त्यो फिल्म खेल्न दिइएन । मनमा केही गरेर देखाउँछु भन्ने सोच थियो । यसै क्रममा चपली हाइट फिल्मबाट अफर आयो र मैले यो अवसर गुमाउन चाहिनँ । अन्त्यमा मेरो मिहेनत सफल भयो र फिल्म हिट भयो ।
० चपली हाइट फिल्मको सफलतापछि तपाईंलाई कस्ता कस्ता फिल्मबाट अफर आयो त ? चपली हाइट फिल्ममा मैले जुन रोल गरेँ, त्यसपछि मलाई त्यस्तै फिल्महरुबाट अफर आयो, जुन मैले स्वीकार गरिनँ । चपली हाइट जस्तो फिल्म बन्नुपर्छ तर सबै फिल्म त्यस्तै बन्नुहुँदैन । दालभात सधैं खाइन्छ । तर कहिलेकाहीँ मुख फेर्नको लागि पिजा पनि खानुपर्छ । चपली हाइट फिल्म दालभात खाइरहेको बेलामा पिज्जा खाएको जस्तो हो ।
० महिलाहरुको महान् चाड तीज कसरी मनाउनुभयो ? म पनि हिन्दू नारी हुँ । मलाई पनि तीज मनपर्छ । तिजको धेरै कार्यक्रमहरुमा सहभागी पनि भएँ । तिजमा व्रत बसेँ, मन्दिरमा गएर पूजा गरेँ र नाचगान गरेर रमाइलो गरेँ ।
० कसको लागि व्रत बस्नुभयो ? भन्नलाई त विवाह गरेको महिलाले श्रीमान्को सुस्वास्थ्य र दीर्घायुको लागि व्रत बस्छन् र विवाह नगरेका महिलाले चाहिँ राम्रो श्रीमान् पाउँ भनेर व्रत बस्छन् भन्छन । तर मलाई चाहिँ यो कुरामा विश्वास लाग्दैन । म आफ्नै लागि व्रत बस्छु ।
० तिजको नाममा महिना डेढ महिना अगाडिदेखि दर खाने कार्यक्रमको आयोजना गरिनु, शरीरभरि गहना लगाएर भीडभाडमा हिँड्नु के राम्रो हो त ? अवश्य पनि होइन । एकदिनको चाडलाई महिना दिन मान्नु राम्रो होइन । यसले तिजको महत्व घटाएको छ । यदि दशैंलाई महिना दिनभरि मनाउने हो भने के दशैंको महत्व रहन्छ ? हाम्रो समाजमा महिलाहरु गहना लगाएर हिँड्ने र गहनाले नै आफ्नो इज्जत राख्छ भन्ने सोचाइ राख्छन् । जुन गलत छ । गहनाले गर्दा लुटपाट, हत्या हिंसाका घटनाहरु बढेका छन् ।
० तपाईंले तिजको व्रतमा केही खानु भयो कि भएन ? म पानी पनि खानु हुँदैन भन्ने सोचाइको मान्छे होइन । आत्मा मारेर धर्म हुँदैन । मैले व्रतको दिन दूध दही फलफूलहरु खाएँ ।
० तपाईंका फोटोहरु निकै उत्तेजक छन् ? किन खिचाउनुभयो त्यस्तो फोटोहरु ? मलाई त मैले कुनै उत्तेजक फोटो खिचाएँ जस्तो लाग्दैन । बलिउड, हलिउडका नायिकाहरुको नाङ्गो फोटो हेर्न रुचाउने दर्शकहरुले मेरो फोटोहरु उत्तेजक छन् भन्नुभएन ।
० तपाईंको विशेषता के हो ? म चञ्चले तथा प्रष्ट बोल्ने युवती हुँ । खासै मलाई मेरो शरीर आकर्षक छ जस्तो लाग्दैन । कुनै पनि काम गर्नु भन्दा अगाडि १० पटक सोचेर मात्र गर्छु र आफूले गरेको काममा म पूर्ण सन्तुष्ट छु ।
० तपाईंको भविष्यको योजना के छ ? अभिनय मेरो पेसा हो र म यसलाई निरन्तरता दिनेछु । साथै नयाँ तथा फरक भूमिका भएको चलचित्रहरुमा अभिनय गर्न चाहन्छु । आफूले खोलेको कृषि फर्मलाई विस्तार गर्न चाहन्छु ।
० तपाईं अविवाहित हुनुहुन्छ ? विवाह कहिले गर्नुहुन्छ ? म पहिला आफ्नो खुट्टामा आफै उभिन चाहन्छु । अनि मात्र विवाहको बारेमा सोचौंला ।
० अहिलेसम्म कसैसँग प्रेम परेको छ कि छैन ? मन पराउनेहरु त धेरै थिए । तर त्यो क्षणिक आकर्षण मात्र थियो ।
० तपाईं कुन कलाकारबाट प्रभावित हुनुहुन्छ ? म नायक राजेश हमालको व्यक्तित्वदेखि प्रभावित छु ।
० तपाईंलाई मनपर्ने नेपाली फिल्म कुन हो ? तुलसी घिमिरेको दर्पणछायाँ फिल्म मलाई सबैभन्दा बढी मन परेको फिल्म हो ।
० तपाईंलाई कस्ता गीत मनपर्छन् ? मलाई अधिकांश स्वर सम्राट नारायण गोपालका गीतहरु मन पर्छन् ।
० नेपाली फिल्मले व्यवसायिक सफलता नपाउनुको कारण के हो ? नेपाली फिल्मको प्रस्तुतिकरण राम्रो छैन । फिल्मले कस्तो खालको सन्देश खोजेको हो त्यो प्रष्ट हँुँदैन । प्राय एउटै कथावस्तुमा आधारित फिल्मले कुनै नयाँ छाप छोड्न सक्दैन ।
० अन्त्यमा काभ्रे टाइम्स पत्रिकामार्फत् केही भन्न चाहनुहुन्छ ? काभ्रे टाइम्स पत्रिकालाई धन्यवाद । सबैजना मिलेर नेपाली कला र संस्कृतिलाई जगेर्ना गरौं । नेपाली चलचित्रलाई माया गर्नुहोला । फिल्म नै नहेरी नराम्रो छ भन्नुभन्दा फिल्म हेरेर मूल्यांकन गर्नुहोला र राम्रो फिल्म निर्माणको लागि निर्माता तथा निर्देशकहरुलाई प्रोत्साहन गर्नुहोला ।