सुमन तिमल्सिना/उज्यालो । मोरङ, मंसिर १९ – बेहुलीको घरमा निक्कै भिडभाड थियो । सबै आफन्त विवाह घरमा जम्मा भएका थिए । विवाहको लागि चाहिने सबै सरसमानपनि घरभरि थिए । मोतीपुर–२ हटियाचोककी पुष्पा झा विवाहको तयारीमा थिइन् ।पुष्पालाई लिनको लागि सुनसरीको दुहवी–३ सोनापुरबाट बेहुला बासुदेव झा जन्ती लिएर आइ पुगेका थिए । बेहुला र बेहुली पक्षका परिवारबीच गएको वैशाखमा नै विवाह गर्ने कुरा टुंग्याएका हुन् । त्यही आधारमा शुक्रबार सबै विवाहमा जुटेका बेलामा बेहुलीको घरमा प्रहरी र स्थानीय बालअधिकारको क्षेत्रमा काम गर्ने संघसंस्थाले विवाह रोकेको बेहुलीका काका नबिन झाले बताउनुभयो । बेहुलीको उमेर नपुगी विवाह गर्न खोजेको भन्दै स्थानीय संघसंस्था र प्रहरीले विवाह गर्न नदिएपछि जन्ती बेहुली नलिई फर्किए ।
विवाहका लागि केटीको उमेर १८ र केटाको उमेर २० वर्ष पुग्नु पर्ने भएपनि बेहुली पुष्पाको उमेर बल्ल १६ वर्ष मात्र पुगेकाले प्रहरी र स्थानीय संघ संस्थाले विवाह रोक्नेसम्मको आँट गरेका हुन । संघ संस्था गाउँमा पुगेपछि बेहुला पक्ष फर्किएका थिए । आर्थिक अबस्था कमजोर रहेको झा परिवारमा पुष्पाको विवाह गाउँका सबै मिलेर सहयोगको भरमा हुन लागेको थियो । ल्याइएका समान बिग्रिएपछि पुष्पाकी आमा रितादेवी झाले आँखाभरी आँसुपार्दै सानै उमेरमा छोरीको विवाह गर्नु हुँदैन भन्ने थाहा नभएको बताउनुभयो । ‘विहेका लागि ल्याएको सबै समान बर्बाद हुने भयो ।’ उहाँले भन्नुभयो ‘अब पछि कसरी विवाह गर्ने ?’ केटा र केटीको गएको ७ महिनादेखि नै माया प्रेम रहेको गाउँका धेरैलाई थाहा छ । केटाको करमा केटीले विवाह गर्न मञ्जुरी गरेपछि उनीहरुको विवाह हुन लागेको थियो । तर बेहुली भने पछ उमेर पुगेपछि उही केटासँग विवाह गर्ने सुरमा छिन् ।
पुष्पाकी जेठी दिदी आरतीको विवाह पनि १४ वर्षकै उमेरमा भयो । माहिली दिदी आशाको १३ र साईंली दिदी रोशनको १६ वर्षमा नै भएको थियो । त्यही भएर पनि परिवारले पुष्पाको विवाह सानै उमेरमा नै गर्ने मनस्थिती बनाएको पुष्पाकी दिदी आरतीको भनाई छ । विवाहको कुरा एककान दुईकान हुँदै संस्थामा आइ पुग्यो र स्थानीय नारी विकास संस्था र फरेन सहितको टोलीले विवाह घरमा पुगेर प्रहरीको सहयोगमा विवाह रोकेको हो । प्रहरी चौकी हटिया चोकका प्रहरी सहायक निरीक्षक देवकृष्ण यादवसहितको टोली बेहुलीको घरमा आएपछि सबै आफन्तले विवाह नगर्ने मनस्थिती बनाएका थिए । केहीबेर विवाहका लागि भएको खर्चको विषयमा विवाद भयो । तर बेहुला पक्ष र बेहुली पक्षबीच सहमति भएपछि विवाह रोक्न सफल भएको फरेनका कार्यक्रम संयोजक प्रमिल अधिकारीले बताउनुभयो ।
यसरी बाल विवाह रोकेर राम्रो गरेको महसुस संघ संस्था र प्रहरीले गरेपनि विवाह हुने दिन नै यसरी विवाह रोक्नु राम्रो काम नभएको धेरैको तर्क छ । पुरुष कोही पनि नभएको बेलुकीको घरमा एउटा महिलाले पाँचवटी छोरीको विवाह गराउनु चानचुने कुरा होइन । पुष्पाकी आमा र दिदीहरुले आफ्नो परिवारको समस्यालाई बिबाह रोक्नेले नबुझेको बताए ।
बेहुली नलिई फर्किए जन्ती
