नवलपरासी, पुस ५ - पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको कावासोती जंगलमा शनिवार दिउँसो मोटरसाईलकलाई बसले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । नारायणगढबाट डण्डाका लागि छुटेको ना ३ ख ५७१ नम्बरको मिनी बसले त्यहि दिशातर्फ गुडिरहेको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा जौबारीका डमबहादुर गाहा मगर र अर्की नाम खुल्न नसकेकी महिलाको ज्यान गएको ईलाका प्रहरी कार्यालय कावासोतीका डिएसपी नवराज अधिकारीले जानकारी दिनुभयो ।
दुर्घटनाका क्रममा बसमा आफैं आगो लागेको छ । मोटरसाइकलाई बसले ठक्कर दिएपछि लतातेर अगाडि बढाउँदा घर्षण भएर आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीले बस पुर्ण रुपमा क्षति भएको छ । बसमा सवार सबै यात्रु सकुशल रहेको प्रहरीले जनाएको छ ।
मोटरसाइकलाई बसले झण्डै २० मिटर अघिसम्म लतारेको थियो । ‘बसमा कति यात्रु थिए एकिन भएको छैन तर सवार सबै सकुशल भएको खबर छ’ डिएसपी अधिकारीले भन्नुभयो । बसका चालकको लापारवाहीले आगलागी भएको र मोटरसाइकलमा सवारको दर्दनाक रुपमा ज्यान गएको यात्रुहरुले जनाएका छन् । कावासोतीमा रहेको प्रहरी र स्थानीयबासिन्दाले बसमा लागेको आगो निभाएका थिए । एउटा पनि दमकल नभएका कारण आगो नियन्त्रणमा लिन झण्डै एक घण्टा लागेको थियो ।
मोटरसाइकललाई ठक्कर दिने बसमा आगो, २ को मृत्यु
