आठवटीका पति भन्छन्–बिहेचाँहि एउटै गर्नू


फोटो :प्रेमनारायण आचार्य (पत्नीहरुका साथ टानबहादुर पुलामी)
अर्घाखाँची : एकजना पुरुषका कतिवटी पत्नी होलान् ? सबैले सजिलै भन्छौ, एउटी । एकभन्दा बढी पत्नी ल्याए हाम्रो कानुनले अपराध मान्छ । तर, अर्घाखाँचीमा एकैजना पुरुषका आठवटी पत्नी छन् भन्ने सुन्दा जो कोहीलाई पत्यार नलाग्ला । आठवटी पत्नी भित्र्याएका उनका अहिले पनि ६ वटी पत्नी एकै घरमा बसिरहेका छन् ।

‘दुईवटी पत्नीको पोई कुनामा बसेर रोई’ यो नेपाली उखान हामीबीच प्रख्यात छ । तर अर्घाखाँचीको जलुके गाविस–२ दमारबेंसीका ७१ वर्षीय टानबहादुर पुलामीले अहिले पनि ६ वटी पत्नीलाई एउटै घरमा सँगै राखेका छन् । दुईवटी भन्दा बढी पत्नी भएको घरमा कलह झगडा हुन्छ भन्ने उखानलाई गलत सावित गरेका उनी भने अपवाद बनेका छन् ।

७१ वर्षीय पुलामीका आठओटी  पत्नीमध्ये दुईजनाको निधन भइसकेको छ । अहिले उनीसँग छ ओटी पत्नी छन् । छ ओटी पत्नीहरु सबै मिलेरै एकै घरमा बसेको उनी बताउँछन् ।

‘हामीकहाँ कहिल्यै झगडा हुँदैन’ पुलामी भन्छन्, ‘सबै पत्नी मिलेर बसेका छन्, मलाई पनि समस्या छैन ।’ उनले सबैलाई समान ब्यवहार गरेको  बताए ।  ‘सबैलाई समानरुपमा हेर्छु, माया पनि उत्तिकै गर्छु’ उनले भने, ‘मेरा लागि सबै एकै हुन ।’
उनले जेठी पत्नी विहे २१ वर्षमा र कान्छी पत्नी ५४ वर्षको उमेरमा भित्र्याएका थिए । धेरै पत्नी भएपनि कहिल्यै बोझ नभएको बताउँदै उनले प्रशस्त सम्पत्ति भएकाले खाना लगाउन गाह्रो नभएको बताए ।

आाफूले धेरै विहे गरेपनि उनले अहिलेका युवालाई धेरै विहे नगर्न सुझाव दिन्छन् । ‘हाम्रो पालमा धेरै विहे गर्ने ठूलो मान्छे हुन्थ्यो’ पुलामीले भने, ‘अहिले कानुनले बन्देज गरेकाले धेरै बिहे गर्नु राम्रो होइन ।’

खेतबारी खर्यान गरेर उनको डेढ सय रोपनी जग्गा छ । सबै पत्नी काममा व्यस्त छन् । उनका पत्नी विहानदेखि बेलुकासम्म आफ्नो काममा हुन्छन्  । कोही मेलापात, कोही कुटानीपिसानीमा त कोहि भन्साको काममा रहन्छन्  । ‘हामी सबै मिलेर बसेका छौं’ जेठी पत्नी खुमीसरा भन्छिन्, ‘मायामा कुनै कमी छैन ।’

माहिली तिला, साहिँली विना, माहिली मनिकला, काहिँली बालिसरा र कान्छी सुशीला सबैले मिलेर बसेको सुनाए  । मनमुटाव र तितोपिरो यिनीहरुमा छैन । ‘एउटैआमाका सन्तान जस्तै छौं’ कान्छी पत्नीसुसीलाले भनिन्, ‘मरीलानु के छ र झगडा गर्नु ?’

पुलामीका ९ भाइ छोरा र १२ बहिनी छोरी छन् । तीन भाइ छोरा र दुईओटी छोरीको बिहे भएका छैन । उनी छोराछोरीबाट राम्रो सेवा मिलेको बताउँछन् । उनका छोरा, छोरी नाति, पनाति सबै गरी  ५६ जना छन् । पुलामी गाउँका जमीनदार हुन ।

उनको खेतबाट एक सय मुरी धान फल्छ । उनको गोठमा छ ओटा भैंसी, पाँच हल गोरु र ६० ओटा बाख्रा छन् । प्रयाप्त सम्पत्ति भएकाले अन्न किन्न नपर्ने उनी बताउँछन् । उनका चार भाइ छोरा मलेसियामा छन् । एक जना काठमाडौंमा पसल गर्छन भने चार भाइ घरमै छन् । पाँच भाइ छोरा छुट्टिएर अलग्गै बसको छन् ।

उनका बुबाले तीनओटी विहे गरेका थिए । पुलामी छोराहरुलाई एउटै विहे गर्न सुझाव दिन्छन । ‘अब आधुनिक तरिकाले चल्न सिक्नुपर्छ, पुरानो जमानाअनुसार चल्न सक्ने स्थिति छैन’ उनले भने ।





प्रतिक्रिया दिनुहोस्...