दुई महिनाभित्र टेण्डर आहृवानः अर्थमन्त्री
चितवन, मंसिर २९ - सरकारले काठमाडौंबाहिर जाने सवारीको मूख्य चाप रहेको मुग्लिङ-नारायणगढ सडक फराकिलो बनाउने तयारी गरेको छ ।
अर्थमन्त्री रामशरण महतले आगामी २ महिनाभित्र मुग्लिङ-नारायणगढ सडकखण्डको टेन्डर आहृवान गरेर फराकिलो पार्ने काम सुरु गरिने जानकारी दिए । सोमबार उद्योग वाणिज्य संघ चितवनको ४८ औं वार्षिक साधारणसभा उदघाटन गर्दै उनले मुलुकमा लगानीको वातावरण बनेको जानकारी दिए । लगानीको वातावरण बनेकाले विदेशी सहयोग बढ्दै गएको उनको भनाइ थियो ।
मुलुकले जलश्रोत र प्राकृतिक सम्पदाबाट सक्दो फाइदा लिन ढिला गर्न नहुनेमा महतले जोड दिए । 'यसतर्फ लगानी बृद्धि गर्दै जानुपर्छ,' उनले भने । आर्थिक विकासमा अवरोध गर्नेलाई प्रतिगामीको संज्ञा दिंदै उनले बन्द, हड्ताल गरेर उद्योग, व्यवसाय तथा विकास अबरुद्ध पार्नेलाई आर्थिक अपराधी भएको टिप्पणी गरे ।
चितवनमा कृषि, स्वास्थ्य, शिक्षा र पर्यटनको प्रचुर सम्भावना रहेकाले यसको थप विकासमा सरकारले सहयोग गर्ने बताए । यसका लागि स्थानीय नागरिक बढि जिम्मेवार बन्नुपर्ने उनको भनाई थियो ।
मुलुकले धेरै प्रदेशको संघीयता धान्न नसक्ने भएकाले थोरै प्रदेशमा सहमति गर्नु आवश्यक रहेको अर्थमन्त्रीको भनाइ थियो । धेरै प्रदेश निर्माण गर्दा भविष्यमा पछुताउनुपर्ने भन्दै उनले आाफू थोरै प्रदेश बनाउने र स्थानीय निकायलाई अधिकार सम्पन्न बनाउने पक्षमा रहेको उल्लेख गरे ।
मुग्लिङ-नारायणगढ सडक फराकिलो बनाइने