श्रीमानले खुट्टा भाँचिदिएपछि पार्वती १० दिन घरमै बन्धक
फोटो :श्रीमानले खुट्टा भाँचेर मरणासन्न बनाएपछि कोशी अञ्चल अस्पतालमा अप्रेसन पछि उपचार गराई रहेकी पीडित पार्वती। विराटनगर : श्रीमान तथा परिवारका सदस्यले खुट्टा भाँचेर दस दिनसम्म घरमै बन्धक बनाइएकी मोरङ गोबिन्दपुर ७ की २१ वर्षीया पार्वती सहनीलाई माइतीले उद्धार गरेको छ। माइतीले उद्धार गरेर बुधबार उनलाई कोशी अञ्चल अस्पताल भर्ना गरिएको छ। उनको दायाँ खुट्टा भाँचिएको छ। सहनीलाई श्रीमान् विजय मुखियाले गत मंसिर १७ गते दाउराको चिरपटले हिर्काएर खुट्टा भाँचिदिएका थिए। त्यसपछि परिवारको समेम मिलोमतोमा उनलाई उपचारबिना घरमै बन्धक बनाएर राखिएको थियो। भाँचिएको खुट्टाको शल्यक्रिया भएको छ। सहनीले भनिन,'सासुसुरासमेत लागेर मलाई मरणासन्न हुने गरी पिट्दै खुट्टा भाँचिदिए। घरमै थुनेर राखे। पीडाले छट्पटाउँदा पनि अस्पताल लगेनन्।' कुटपिटमा सासुससुरा पनि संलग्न रहेको उनले बताइन्। विजयलाई प्रहरीले पक्राउ गरेको छ। मंसिर १७ गते भएको घटनाको जानकारी माइती पक्षले २६ गते मात्र थाहा पाएका थिए। त्यसको दुई दिनपछि अस्पताल भर्ना गरिएको आमा लगत्तै उनलाई अस्पताल भर्ना गरिएको छिमेकीले जानकारी गराएपछि मात्र उनलाई उद्दार गरी २९ गते अस्पताल भर्ना गरेको बुबा रामप्रभू सहनीले बताए। उनले भने,'खुट्टा भाँचिदिएर घरमै उपचार नगरी थुनेर राखेछन्। पछि हामीले उद्दार गरेर ल्यायौं।' ज्वाई विजयले घरायसी विवादमा आफ्नी छोरीलाई मरणासन्न हुने गरी कुटपिट गरेको उनले बताए। श्रीमानको कुटपिटबाट खुट्टा भाँचिएपनि आफूले बिनाउपचार र दुखाई सहँदै बन्धक बन्नु परेको बताउँदै उनले भनिन,'चिकित्सकले अप्रेसन गरेर मात्र हड्डी जोडिन्छ भनेका छन्।' श्रीमान विजय लामो समयदेखि भारतको पञ्जाबमा राजमस्त्रीको काम गर्दथे। उनी केहीसमय पहिले मात्र घर आएका थिए। नेपाल आए लगत्तै उनले श्रीमतीलाई कुटपिट गर्न सुरु गरेको माइती पक्षको दाबी छ। विजयलाई दहेजस्वरुप २५ हजार नगद र अन्य दाइजोका सामान दिएर विवाह गरिदिएको बुबा रामप्रभूले जानकारी दिए। जिल्ला प्रहरी कार्यालय मोरङमा घटनाका बारे उजुरी परेकोले अनुसन्धान थालिएको जानकारी दिदैं प्रहरी नायव उपरिक्षक प्रभु ढकालले भने,'पार्वतीलाई श्रीमान नै कुटपिट गरी खुट्टा भाँचिदिएको भन्ने निवेदन परेको छ।' घटनाबारे थप अनुसन्धान भइरहेको बताए। source: annapurnapost
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला