अमेरिकी राष्ट्रपति बाराक ओवामा अर्को महिना छिमेकी मुलुक भारतको भ्रमणमा आउँदा नेपाल उनको दृष्टिमा परेन् । त्यतीमात्र होइन सन् २०१५ को भ्रमण सूचीमा पनि नेपाल नपरेको जानकारी परराष्ट्र अधिकारीले पाएका छन् ।
नेपालमा अहिलेसम्म अमेरिकी राष्ट्रपतिको स्तरबाट भ्रमण नभएकोले यसको पहल सबैजसो सरकारले गर्दै आएको अवस्थामा प्रधानमन्त्री सुशील कोइरालाले पनि त्यसलाई निरन्तरता दिएका थिए । अहिलेको अवस्थामा उनको भ्रमण हुन सक्ने विश्लेशण भइरहेकाले उनले निमन्त्रणा दिएका हुन् । राजदूत पिटर डब्लु बोडीलाई निवासमै बोलाएर अमेरिकी राष्ट्रपतिलाई निम्तो पत्र दिएका थिए । तर अमेरिकी पक्षले अहिले नेपाल भ्रमण गर्न कठिन हुने भन्दै कुनैबेला मिलाएर भ्रमण हुनसक्ने जानकारी अनौपचारिक रुपमा मन्त्रालयलाई दिइसकेको छ । अमेरिकाको प्राथमिकतामा नेपाल परेको, यहाँको प्रजातन्त्र, दिगो शान्ति र विकासमा अमेरिका साथमा नै रहेका समेत स्पष्ट पारेको छ ।
भारतको राष्ट्रिय दिवस (संविधान जारी भएको गणतन्त्र दिवस) मा प्रमुख अतिथीको रुपमा निम्त्याइएका राष्ट्रपति ओबामाले छोटो समयको लागि भए पनि नेपाल भ्रमणका लागि समय मिलाउन आग्रह गर्दै प्रधानमन्त्री कोइरालाले वासिंटन डिसीस्थित नेपाली दूताबास र बालुवाटार दुवै स्थानबाट पत्राचार गरेका थिए । ‘नेपालमा छोटो सयममा विभिन्न परिवर्तन हुदै अहिले प्रजातन्त्रको संस्थागत विकास प्रक्रियामा अघि बढ्न लागेको छ । यस्तो समयमा प्रजातान्त्रिक मुलुकका राष्ट्रपतिले सानो स्टपको रुपमा भए पनि नेपाल भ्रंमण गरिदिदा प्रजातन्त्रमा आस्था राख्नेलाई ठूलो मद्दत र हौसला मिल्ने थियो,’ प्रधानमन्त्रीले राजदूतलाई मात्र भनेनन् पत्रमै लेखेर पठाए ।
यसरी संसारभर प्रजातन्त्रको वकालत गर्ने मुलुकका राष्ट्रपति छिमेकमा आएको अवस्थामा नेपाल प्रवेश गरेर गइदिए दिगो शान्ति र प्रजातन्त्रको विकासको लागि प्रेरणा मिल्ने पत्रमा उल्लेख छ । ‘तर अहिले नेपालमा राष्ट्रपति नै आएर गर्न पर्ने काम नदेखेर नै उनी नआउने भएका हुन,’ परराष्ट्र मन्त्रालयका उच्चअधिकारीले बताए । प्रधानमन्त्रीको निमन्त्रणापछि लगातार कूटनीतिक लबिङ भइरहेको छ । बासिंटनस्थित नेपाली दूतावाससको साथै न्यूयोर्कस्थित नियोगले समेत पहल गरिरहेको परराष्ट्रका एक अधिकारीले बताए ।ती अधिकारी भन्छन्, ‘२०५६ सालमा क्लिनटनलाई नेपाल भ्रमण गराउन यस्तै प्रयास भएको थियो । सफल हुन सकेन । अहिले राजनीतिक तवरबाट थप पहल भए सम्भावना छ भनेर नै प्रधानमन्त्रीले पहल गर्नुभएको थियो तर अहिले पनि सम्भव भएन । तत्काल जवाफ नआउनु भनेको कूटनीतिमा ‘नो’ भन्ने नै हो ।’ भारत भ्रमणको एक महिना बाँकि हुँदासमेत जवाफ नआएपछि र उनका कूटनीतिज्ञहरुले पनि सम्भावना नभएको बताएपछि यो टरेको ती अधिकारीले स्पष्ट पारे ।
नेपालमा पूर्व राष्ट्रपतिकौ हैसियतमा सन २००८ पछि जिम्मी कार्टरले पटकपटक भ्रमण गरे । क्लिनटनको समयमा प्रथम महिलाको रुपमा हिलारी क्लिनटनले नेपालको औपचारिक भ्रमण गरेकी थिइन । त्यसअघि १२ वर्षअघि अमेरिकी विदेशमन्त्री कोलेन पावेलले नेपालको भ्रमण गरेका थिए । हिलारीको भ्रमणपछि नेपालमा सहायकमन्त्रीस्तरका अमेरिकी अधिकारीले मात्र भ्रमण गरेका छन् । दुई ठूला उदीयमान मुलुकको बीचमा रहेको नेपालमा अमेरिकी चासो छ । तर यहाको चासोलाई तल्लो स्तरबाट नै सम्बोधन गर्न सकिएको छ भने माथिल्लो स्तरबाट किन भ्रमण गर्ने भन्ने पनि अधिकारीहरुको धारणा छ । नेपालले अमेरिका र भारतजस्तो मुलुकमा राजदूत समेत नियुक्त गर्न नसकेर कूटनीतिक असफलता देखाईसकेको अवस्थामा कसरी आफ्नो पहलमा भ्रमण गराउन सक्छ भन्ने पनि प्रश्न उब्जेको छ ।
चीनका राष्ट्रपति सि जिनपिङले भने सन २०१५ को सुरुवाती महिनामै नेपाल भ्रमण गर्ने निश्चित प्रायः रहेको छ । कुनै ठूलो संकट नआएको खण्डमा उनको भ्रमण हुनेछ । उनको भ्रमणको तयारीस्वरुप धेरै भ्रमणहरु भइरहेका छन् । आगामी बिहीबार चिनियाँ विदेशमन्त्री बाङ यी तीन दिने औपचारिक भ्रमणमा नेपाल आउनेछन । उनी चीन फर्केको केही समयपछि नेपाल चीन विदेश सचिव स्तरीय बैठक बस्नेछ । त्यो बैठकमा नै चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण र अन्य दुईपक्षीय सहयोगको एजेण्डाहरु तय हने अधिकारीहरुले बताए । जसरी ओबामालाई निमन्त्रणा गरिएको छ त्यही तवरको निमन्त्रणा भने चिनिया पक्षलाई नगरिएको परराष्ट्र अधिकारीले बताए ।
-कान्तिपुर
-कान्तिपुर
