सशस्त्र प्रहरी भर्ना प्रक्रियामा व्यापक सुधार ठूलाबडाको सिफारिस पनि चलेन
राजनीतिक नेता, बरिष्ठ प्रहरी अधिकारीको सिफारिस पनि यसपालि चलेन । सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तले भर्ना छनोट कार्यमा कुनै सिफारिस नगर्न तथा कसैको पनि कुनै सिफारिस नसुन्नका लागि मातहत सशस्त्र प्रहरी कर्मचारीलाई निर्देशन दिएका थिए । उनले नयाँ भर्नाको लागि आवेदन फारम मागेसँगै यस्तो निर्देशन दिएकोले सिफारिस गर्नेको संख्या शून्य भएको सशस्त्र प्रहरी नायव उपरीक्षक अजय छतकुलीले जानकारी दिए ।
बलमा हाल विभिन्न दर्जाको भर्ना छनोट कार्य भइरहेको छ ।
भर्ना प्रकृयालाई निष्पक्ष तुल्याउन कसैको सिफारिस नसुन्ने, सवै परीक्षामा उत्तीर्ण हुनुपर्ने, सवै परीक्षाहरु सेवा आयोगका प्रतिनिधिहरुको उपस्थितिमा सञ्चालन गरिने तथा लिखित परिक्षा लोक सेवा आयोगले लिने व्यवस्था मिलाइएको छ ।
भर्ना प्रकृयामा खटिने सशस्त्र प्रहरी कर्मचारीलाई अनुशिक्षण तालिम, प्ररिक्षार्थीहरुलाई सहयोग पुर्याउन सहायता कक्षको व्यवस्था, परिक्षार्थीलाई आˆनो नतिजाप्रति चित्त नबुझेमा परिक्षास्थलमै गुनासो सुन्ने व्यवस्था, परिक्षार्थीलाई आवेदन फारमसँगै परीक्षा प्रणालीबारे आधारभूत जानकारी दिने व्यवस्था गरिएको थियो ।
कुनै पनि सशस्त्र प्रहरी कर्मचारीले परीक्षामा अनियमितता गर्न खोजेमा तत्काल भर्ना प्रकृयाबाट अलग गरी आवश्यक कडा कारवाही गर्ने व्यवस्था मिलाइएको थियो ।
सुधारिएको परीक्षा प्रकृया अनुसार भर्ना छनोट कार्यमा खटिने सशस्त्र प्रहरी अधिकृत तथा जवानहरुका लागि एउटा फारम दिइएको थियो । उक्त फारममा भर्ना छनोटको क्रममा लिइने सीट अप, पुस अप, चिन अप, विभिन्न दौड लगाएतका विभिन्न परिक्षाहरुमा उत्तिर्ण वा अनुत्तिर्ण के भएको हो भन्ने कुरा खुलाई परिक्षास्थलमै परिक्षार्थीको प्रवेशपत्रमै उल्लेख गरि परिक्षार्थीलाई नै फिर्ता दिने व्यवस्था गरिएको छ ।
परिक्षामा खटिएका सशस्त्र प्रहरी कर्मचारीले उक्त फारममा दस्तखत गर्नुको साथै परिक्षाको जिम्मेवारी लिनु पर्नेछ । अनुत्तिर्ण परिक्षार्थी उत्तीर्ण हुन पुगेमा परिक्षा लिने कर्मचारी स्वयं जिम्मेवार हुने र ऊ कारवाहीको भागिदार हुनेछ ।
सशस्त्र प्रहरीले कसैले उत्तीर्ण गराई दिने भन्दै ठगि गर्न खोजेमा बलको शुल्क नलाग्ने हटलाइन १११४ नम्बरमा जानकारी गराउनसमेत आग्रह गरेको छ ।
सशस्त्र प्रहरी बलमा हाल प्रशासनतर्फ सशस्त्र प्रहरी निरीक्षक र सशस्त्र प्रहरी सहायक निरीक्षक तथा प्राविधिकतर्फ सशस्त्र प्रहरी निरीक्षक, सशस्त्र प्रहरी नायव निरीक्षक र सशस्त्र प्रहरी सहायक निरीक्षक पदमा दरखास्त आहृवान भएको थियो । १२३ पदका लागि ३५०३ जनाको दरखास्त परेको छ । बलको भर्ना छनोट कार्य सशस्त्र प्रहरी सेवा आयोग मार्फत हुने गर्दछ ।