रिपोटर्स क्लबमा पुगेर प्रचण्डले भने,‘धमला महाबैगुनी, नभै नहुनी’
काठमाडौं,मंसिर २० –नेपालका राजनीतिक दलका नेताहरुले बोल्न पाइने भएकाले जानका लागि मरिहत्ते गर्ने ऋषी धमलाको रिपोटर्स क्लबमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शनिबार पुगेका छन् । शान्ति प्रक्रियामा आएको ८ वर्षमा एक पटक पनि रिपोटर्स क्लब नपुगेका प्रचण्ड पहिलो पटक रिपोटर्स क्लब नेपालको कार्यालय,पुतलीसडक पुगेका हुन् । क्लबमा पछिल्लो राजनीतक घटनाक्रमका बारे पार्टीको धारणा राख्न पुगेका प्रचण्डले पत्रकार ऋषी धमला बैगुनी स्वभावका व्यक्ति भए पनि काम लाग्ने मान्छे भएको बताए । धमला महाबैगुनी भएको तर्क गर्दै प्रचण्डले ठट्यौंली पारामा भने,‘‘धमला महाबैगुनी,तर नभै नहुनी ।’ प्रचण्डले धमला मान्छे पट्याउन सिपालु रहेको र उनले अनेक गरेर जो सुकैलाई पनि आफ्नो प्रभावमा पार्ने बताउन समेत भ्याए । संविधान निर्माणलगायत राजनीतिक विषयमा बोल्न निम्त्याइएका प्रचण्डले धमलाको विषयमा कुरा गर्दै क्लबको भवन निर्माणका लागि सहयोग गर्ने प्रतिवद्दता व्यक्त गर्न पनि भ्याए ।‘रिपोटर्स क्लबको भवन निर्माणका लागि म मेरोतर्फबाट सक्ने सहयोग गर्छु’, प्रचण्डले भने । सहमति उल्टाएर कांग्रेस–एमालेले खोचे थापे दाहाल प्रचण्डले नयाँ संविधानका बारेमा पहिले भइसकेका सहमतिहरुलाई पनि कांग्रेस र एमालेले उल्टाएर खोंचे थापेको आरोप लगाएका छन् । रिपोटर्स क्लब नेपालले शनिबार गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले अघिल्लो संविधानसभाले १० प्रदेशमा दलहरुबीचमा सहमती जुटाएको भए पनि अहिले आएर कांग्रेस र एमालेले उल्टाएको आरोप लगाए । ‘संविधानका सहमति भइसकेका विषयहरुलाई उल्टाएर कांग्रेस र एमालेले संविधान निर्माणलाई असहज बनाउने खोजेका छन्,’ प्रचण्डले भने,‘१० प्रदेश बनाउनेमा अघिल्लो संविधानसभाले दलहरुबीचमा सहमती निर्माण गरेको थियो,तर अहिले सहमती भएका यिनै विषयलाई उल्टाएर संविधान निर्माणलाई पेचिलो बनाउन खोजिदैछ ।’ विगतमा सहमति भइसकेका विषयलाई गणितको दम्भमा कांग्रेस एमालेले उल्टाउन खोजेको तर्क प्रचण्डको थियो । दलहरुबीचमा पहिल्यै १० प्रदेशमा सहमती भएका कुरा मिडियाहरुले थाहा पाएर पनि थाहा नपाएजस्तो गरेको गुनासो प्रचण्डले अवसरमा गरे । ‘दलहरुबीचमा पहिल्यै प्रदेशमा सहमति भइसकेको छ,तर यो विषयमा किन पत्रकारहरु बोल्दैनन ?’ प्रचण्डले पत्रकारहरुलाई प्रश्न गर्दै भने । प्रचण्डले कांग्रेस र एमालेले नपत्याउने भएकाले पत्रकारहरुले यस्तो महत्वपूर्ण विषयमा नउठाएको आरोप समेत प्रचण्डले लगाए । ‘कांग्रेस–एमालेको डरले तपाईंहरु संविधानमा सहमति भइसकेका विषयहरुका बारेमा लेख्न सकिरहनुभएको छैन’ प्रचण्डले भने । प्रचण्डले शासकीय स्वरुपमा पनि उतिबेलै सहमति भइसकेको बताए । मिश्रित शासन प्रणालीमा पहिलो संविधानसभामा नै दलहरुबीचमा सहमति भएको प्रचण्डको दाबी थियो । प्रचण्डले कांग्रेस एमालेले संविधानसभालाई संविधान निर्माण गर्ने थलो भन्दा पनि नियमितसभाको रुपमा उपयोग गर्न चाहेको दाबी गर्न समेत भ्याए । उनले कांग्रेस एमालेले यसलाई नियमित सभाको रुपमा मात्र उपयोग गर्न चाहे त्यो एमाओवादीका लागि स्वीकार्य नहुने समेत प्रष्ट पारे । उनले सहमतीको पहल नगरी ओली र प्रधानमन्त्री सुशील कोइराला गणितको प्रयोग गर्न लागिपरेको आरोप समेत लगाए । प्रचण्डले कांग्रेस एमालेले मधेसी मोर्चा फुटाएर एमाओवादीलाई एक्ल्याउने दाउ रचिरहे पनि त्यो कहिल्यै पूरा हुन नसक्ने बताए ।‘कांग्रेस एमाले मधेसी मोर्चालाई फुटाएर एमाओवादीलाई कमजोर बनाउने खोजिरहेका छन्,’ उनले भने,‘कांग्रेस एमालेले यदि त्यस्तो दिवास्वप्न देखेका छन् भने त्यो त्यागे हुन्छ,किनकी माओवादी एउटा पार्टी मात्रै नभएर आन्दोलन हो ।’ संविधान छाडेर वैद्यसँग एकता गर्न जान्न यसैबीच,प्रचण्डले संविधानसभा छाडेर वैद्य माओवादीसँग एकता गर्न नजाने स्पष्ट पारेका छन् । नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्य किरणले एमाओवादीले संविधानसभा त्यागेर आएमा एकता हुने बताएको केही दिनपछि त्यसको जवाफ दिँदै उनले एकता हुन नसक्ने बताएका हुन् । ‘संविधान निर्माण अहिलेको आवश्यकता हो । संविधान निर्माणलाई अलपत्र छाडेर कसैसँग एकता हुन सक्दैन,’ प्रचण्डले भने ।


