फेसबुकमा अब ‘डिसलाइक बटन’ पनि ?
विश्वको सबैभन्दा चर्चित सोसल नेटवर्किङ साइट फेसबुकका संस्थापक मार्क जुकरवर्गले यसमा ‘डिसलाइक’ बटन राख्ने सोच बनाएका छन् ।
क्यालिफोर्नियामा आयोजित प्रश्नोत्तर कार्यक्रममा जुकरवर्गले आफ्नो सोसल नेटवर्कमा यसका लागि सबैभन्दा बढि आग्रह गरिएको बताएका छन् । फेसबुकमा डिसलाइक बटन राखिसकेपछि मानिसहरुबाट हुनसक्ने दुरुपयोगलाई रोक्ने उपायमा जुकरवर्गले सोचिरहेकोसमेत उनले बताए । फेसबुकको आफ्नो आँकडा अनुसार, यसमा दैनिक करिब ४.५ अर्ब लाइक उत्पन्न हुने गर्दछ । फेसबुकको हेडक्वार्टरमा आयोजित उक्त कार्यक्रममा उनले आफ्ना प्रयोगकर्ताको गुनासोसमेत सार्वजनिक गरेका छन् । उनले भने, ‘ फेसबुकमा मानिसहरुले आफ्नो जीवनमा आइपरेका कयौँ घटनाहरु पोष्ट गर्ने गरेका छन् । धेरैपटक हाम्रा प्रयोगकर्ताले के भन्ने गरेका छन् भने मानिसहरुले पोष्ट गरेका दुःख लाग्दा घटनाहरुमा लाइक बटन थिच्नु अलि असान्दर्भिक हुने गर्दछ ।’ ‘धेरै मानिसहरुले ‘डिसलाइक’ बटनको माग गरिररहेका छन् किनभने उनीहरुले जे भयो त्यो सहि नभएको बताउन चाहन्छन्, ’ उनी भन्छन् । ‘मेरो लागि मेरा प्रयोगकर्ताहरुको भावना नै ठूलो हो, ’ उनले थपे । (एजेन्सी)