रातका रंगीला यस्तो पो : उपत्यकामा मात्रै तीन सय तेस्रो लिंगी, यौनकर्मी


साउने संक्रान्तिको दिन। राती करबि साढे १० बजे। काठमाडौँको ठमेलस्थित कर्मचारी सञ्चयकोष भवनअगाडिको सडकमा युवतीको भेषमा पुतलीजस्तै सिँगारिएको समूह बटुवाहरूसँग उत्तेजक हाउभाउ देखाइरहेको थियो। कुनै पुरुष नजिक देख्नासाथ कहिले आँखा झिम्क्याइदिन्थ्यो त कहिले मुसुक्क हाँसेर हातले इसारा गर्न भ्याउँथ्यो।

सुलुत्त परेको अग्लो ज्यानकी एक युवती कोही पुरुष आफ्नो छेउमा आउनासाथै कम्मर मर्काएर नाच्दै नजिकिन खोज्थिन्। घरीघरी प्रहरीको गस्ती भ्यान हुइँकिँदा यो समूह त्यहीँ कतै बिलाउँथ्यो र छिनमै उस्तै दृश्य दोहोरिन्थ्यो। प्रहरी र त्यो समूहको लुकामारी चल्थ्यो। ग्राहक पट्याउन सफल हुनेहरू यस्तो तामझाममा नभुली ट्याक्सीमा बसेर कतै बतासिन्थे। गार्डेन अफ डि्रम -स्वप्न बगैँचा)नजिकैको सडक क्षेत्र हरेक रात यसै गरी रंगीला बन्छ। राती १० बजेपछि ग्राहक खोज्दै सडकमा तेस्रो लिंगी यौनकर्मीहरू छपक्कै हुन्छन् यहाँ। केशरमहलस्थित शिक्षा मन्त्रालयको पुरानो भवनदेखि कर्मचारी सञ्चयकोष भवनसम्मको सडक किनारामा उनीहरू खुलमखुला मोलमोलाइ गररिहेका भेटिन्छन्। २ साउनको सवा १० बजेतिर चितवनकी किरण विक, २२, स्वप्न बगैँचाअगाडि रेलिङ्मा अडेस लागेर आवतजावत गर्नेहरूप्रति चनाखो आँखा लगाएर उभिरहेकी थिइन्। छिनमै एक जना टिनेजरले किरणसँग साउती मारे। सम्भवतः कुरा मिलेन र उनी फनक्क अर्कोतिर फर्किन्। भन्छिन्, “यस्ता केटाहरू धेरैजसो जिस्क्याउन मात्रै आउँछन्, नजिक परेर कस्ता होलान् भनेर छुन खोज्छन्। अनि, जान्छन्।” शारीरकि बनावट पुरुषको भए पनि हाउभाउ, स्वभाव र भावना महिलाको हुने यी तेस्रो लिंगीहरू गुजाराका लागि मध्यरातमा सडकमा ओर्लिएको दाबी गर्छन्। राती सडकमा जति भड्किलो हाउभाउका साथ देखिन्छन्, वास्तविक जीवनमा उनीहरूको पीडा उत्तिकै सघन हुन्छ। घरपरविार, समाजले हेयको भावले हेर्ने हुँदा अधिकांश तेस्रो लिंगीहरू कसैले नचिन्ने सहरतिर पाइला चाल्छन्। किरणकै कुरा गरौँ। बाबुआमाले आफ्नो सन्तान नै होइन भन्न थालेपछि किरण घर छाडेर ०६१ सालमा सोझै कसैले नचिन्ने ठाउँ काठमाडौँ पसिन्। केटाकै ‘लुक्स’मा उनले थापाथलीको एउटा चिनियाँ रेस्टुराँमा काम पाइन्। तर, आनीबानीका कारण बिस्तारै सहकर्मी र साहूले तेस्रो लिंगी भएको पत्तो पाए। भन्छिन्, “हाम्रो स्वभाव मान्छेहरूले चाँडै थाहा पाइहाल्छन्। लुकाउनै सकिँदैन। म यस्तो भएको थाहा पाएपछि सबैले छक्का, हिजडा भनेर जिस्क्याउन थाले। मेरो चित्त दुख्थ्यो। त्यसपछि काम छाडेर हिँडे।” त्यसपछिका दिन किरणले यौनकर्मीकै रूपमा बिताइरहेकी छन्। नीलहीरा समाजका अनुसार नेपालमा समलिंगीको संख्या करबि चार लाख छ। जसमध्ये दुई प्रतिशत तेस्रो लिंगी छन्। यस हिसाबमा तेस्रो लिंगीको संख्या आठ हजार हुन्छ। जसमध्ये अधिकांश ‘मेल टु फिमेल’ (शारीरकि रूपमा पुरुष तर भावनात्मक रूपमा महिला) तेस्रो लिंगीहरू यौनकर्मी बनेका छन्। ‘फिमेल टु मेल’ (महिला पुरुष भएर हिँड्ने) तेस्रो लिंगीहरू भने यौन व्यवसायमा देखिँदैनन्। उपत्यकामा मात्रै तेस्रो लिंगी यौनकर्मीको संख्या तीन सयको हाराहारी रहेको नीलहीराकी मानव अधिकार क्षेत्र हेर्ने भूमिका श्रेष्ठको भनाइ छ। यसबाहेक उपत्यकाबाहिरका सहरहरू धरान, इटहरी, नारायणघाट र पोखरामा उनीहरू यस्तो कार्यमा लागेका छन्।




प्रतिक्रिया दिनुहोस्...